Comments Add Comment

सिभिल बैंकको नाफा ३३ करोडमा सिमित


४ भदौं, काठमाडौं । गत आव २०७३/७४ मा सिभिल बैंकको नाफा २ प्रतिशतले बढेर ३३ करोड ८१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने बैंकको नाफा ३३ करोड १४ लाख रहेको थियो ।

यससँगै वित्तीय विवरण प्रकाशित गरेका २७ मध्ये २२ बैंकको नाफा अर्बमाथि पुगेको छ । कुल २४ बैंकको नाफामा भने करिब २६ प्रतिशतले वृद्धि भएर ४४ अर्ब ८२ करोड पुगेको छ ।

बैंकको खुद व्याज आम्दानी करिब १३ प्रतिशतले बढेर १ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । बैंकले फि कमिसनबाट ८ करोड रुपैयाँ, अन्य सञ्चालनबाट ११ करोड र बिदेशी मुद्राको कारोबारबाट बैंकले ९ करोड रुपैयाँ आम्दानी गरेको छ ।

बैंकले यसअघि नोक्सान वापत राखेको ४३ करोड फिर्ता ल्याएको छ । यसपटकसम्भावित नोक्सान व्यवस्थाको लागि बैंकले ६७ करोड रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा ४.०५ प्रतिशत रहेको छ भने प्रावधान १ सय ११ प्रतिशत गरेको छ ।

बैंकको चुक्ता पुँजी ५ अर्ब १८ करोड रहेको छ । चुक्ता पुँजी बढेपछि सेयरमा प्रतिफल घटेर यो दर ५ प्रतिशतमा सिमित भएको छ । बैंकले नाफाबाट २० प्रतिशत रकम सञ्चितीमा र १ प्रतिशत रकम सामाजिक उत्तरदायित्वको लागि छुट्याएपछि लगभग ५ प्रतिशत लाभांश दिन सक्ने देखिन्छ । सञ्चिती रकममा यसअघि बाड्न योग्य रकम रहेमा यो दर बढ्न सक्छ ।

बैंकको प्रतिसेयर आम्दानी ६.५२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३७ गुणा र प्रतिसेयर नेटवर्थ १ सय २८ रुपैयाँ रहेको छ ।
बैंकको सञ्चिती १ अर्ब ४९ करोड रहेको छ । बैंकको निक्षेप संकलन ८ प्रतिशतले बढेर ३४ अर्ब र कर्जा लगानी १४ प्रतिशतले बढेर २९ अर्ब रुपैयाँ पुगेको छ । बैंकको सीसीडी रेसीयो ७५.७३ प्रतिशत रहेको उल्लेख छ । कर्जा लगानीको लागि आधार लिइने बेस रेट ११.५९ प्रतिशत रहेको छ । बैंकमा पुँजी पर्याप्तता अनुपात १९.४५ रहेको छ ।

बैंकको कर्मचारी लागत करिब १० करोडले बढेको छ भने अन्य सञ्चालन लागत पनि ४ करोडले वृद्धि भएको छ । बैंकले ओभर ड्राफ्ट शीर्षकमा १४ अर्ब र सेयर धितोमा कर्जा १३ करोड लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment