Comments Add Comment

गगनको चेतावनीः प्रश्न गर्ने मात्र होइन, उत्तर कसरी लिनुपर्छ भन्ने थाहा छ

गगन थापा । फाइल तस्वीर

४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले बुढानीलकण्ठ घटनाले निर्वाचनको पवित्रतामाथि प्रश्न उठाएको बताएका छन् । उनले दोषीलाई कारबाही गर्न र निर्वाचनको पवित्रतामा विश्वसनीय वातावरण बनाउन माग गरे ।

आइतबार संसदको बैठक सुरु भए लगतै विशेष समय लिएर बोल्दै काठमाडौं ४ का सांसद थापाले निर्वाचन आयोगका कर्मचारी एमाले नगर सभापतिको घरमा फोटोसहितको मतदाता नामावली संकलन गर्दै गरेको भेटिएको बताए ।

घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको भन्दै उनले भने, ‘जननिर्वाचित पदाधिकारी र जिम्मेवार दलको मात्र होइन । आयोगका कर्मचारीको समेत संलग्नता भेटिएको छ । यसले आयोग पदाधिकारीमाथि नै प्रश्न उठाएको छ ।’

तोकिएको समय सकिसकेपछि अमुख दलको नेताको घरमा गएर फोटो सहितको मतदाता नामावली संकलन गर्नु घृणित काम भएको सांसद थापाले बताए । उनले यसबारे सम्वन्धित पार्टी (एमाले)ले बोल्नु पर्दैन समेत भन्ने प्रश्न गरे ।

सरकारी सम्पत्ति निजी व्यक्तिको घरमा लैजानु चोरी भएको भन्दै सांसद थापाले दोषीलाई कारबाही गर्न माग गरे । अपराधीलाई कारबाही र निर्वाचनको पवित्रतामा विश्वासको वातावरण बनाउनु पर्ने भन्दै उनले भने, ‘यो नभएसम्म हामी मान्दैनौं । प्रश्न गर्ने मात्र होइन, उत्तर कसरी लिनुपर्छ भन्ने थाहा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment