Comments Add Comment

घोराही उपमहानगरको नीति तथा कार्यक्रमः सुकुम्बासीलाई अपार्टमेन्टदेखि अन्तराष्ट्रिय विमानस्थलसम्म

 

४ भदौ, घोराही । घोराही उपमहानगरपालिकाले अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्नेदेखि घरबार विहीनलाई अपार्टमेन्टको व्यवस्था गर्ने योजना बनाएको छ ।

नगरसभाबाट उपमहानगरले सार्बजनिक गरेको नीति तथा कार्यक्रममा सुहाउँदा सडक सञ्जालसँगै अन्तराष्ट्रिय विमानस्थल र अपार्टमेन्ट निर्माण लगायतका विषय उल्लेख छन् ।

नगर प्रमुख नरुलाल चौधरीले स्तरीय सडक, भवन, आवास क्षेत्र, औद्योगिक क्षेत्र, खेलकुद मैदान, सभागृह, पार्क, चिडियाखाना, अन्तराष्ट्रिय विमानस्थलको अध्ययन गरी पूर्वाधार निर्माणका लागि गुरुयोजना तयार पारेर काम गर्ने उल्लेख गरे ।

नगर प्रमुख चौधरीले सडक निर्माण गर्दा नगर केन्द्रदेखि वडा केन्द्र जोड्ने र वडा केन्द्रदेखि बस्ती जोड्ने गरी सडक सञ्जाललाई विस्तार गर्ने कार्यक्रम सार्वजनिक गरे । बढ्दो शहरीकरणलाई मध्यनजर गरी शहरी चक्रपथ र सबै वडालाई छुने गरी बृहत चक्रपथको योजना बनाएर कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।

साथै भूउपयोग नीति बनाई आवास, बजार, कृषि उत्पादन, हरियाली, मनोरन्जन, खेलकुदसँगै सेवा क्षेत्रको किटान गर्ने पनि उपमहानगरले योजना सार्वजनिक गरेको छ । त्यसैगरी, घोराहीलाई आधुनिक पूर्वाधार सहितको सुबिधायुक्त समृद्ध नगरको रुपमा बिकास गर्ने योजना तय गरेको छ ।

‘समृद्धिको मूल आधार बिकास मैत्री पूर्वाधार’ भन्ने नाराका साथ अबको पाँच बर्षमा घोराहीलाई आधुनिक पूर्वाधार सहितको नगर बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ । समृद्ध घोराहीको विकासका लागि सामाजिक, साँस्कृतिक, आर्थिक र भौतिक पूर्वाधारलाई समेटी सहभागिता मूलक बिधिबाट ६ महिनाभित्र गुरुयोजना बनाएर कार्यान्वयनमा ल्याइने समेत नगर प्रमुख चौधरीले उल्लेख गरे ।

उपमहानगरलाई सम्वृद्ध शहरका रुपमा बिकास गर्न अन्तराष्ट्रिय विमान स्थल निर्माण, उपमहानगरीय बाहिरी चक्रपथ निर्माण, खोलाहरुमा उच्च बाँध निर्माण, औद्योगिक क्षेत्र निर्माण, घरबारविहीन परिवारलाई अपार्टमेन्ट बनाइदिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै, बैज्ञानिक र प्राविधिक शिक्षालय, आधुनिक सुबिधायुक्त स्वास्थ्य सेवा, बैज्ञानिक भूमी व्यवस्थापन, पर्यटकीय सम्पदाको बिकास र सूचना प्रविधिको विकास एवं बिस्तारका कार्यक्रमहरु उपमहानगरले सार्वजनिक गरेको छ ।

घोराही शहरी क्षेत्र भित्रका सडकहरुलाई कालोपत्रे गर्ने, फुटपाथ पसललाई व्यवस्थित गर्ने, ढल निकास र हरियाली शहर बनाउने, घोराही उपमहानगरपालिकाको धर्नामा रहेको साढे ५ सय बिगाह क्षेत्रमा औद्योगिक क्षेत्र स्थापनाको प्रकृयालाई अघि बढाउने पनि उल्लेख छ ।

साथै घोराहीको गुलरीयामा रहेको क्रिकेट मैदानलाई प्रदेशस्तरिय खेल मैदानका रुपमा बिकास गर्ने, क्रिकेट एकेडेमी निर्माणको कार्यलाई लागत सहभागिताका आधारमा अघि बढाइने, नगरका हरेक वडामा शिशु स्याहार तथा बाल बिकास केन्द्र सञ्चालन गर्ने, प्रत्येक वडामा कम्तिमा एउटा पर्यटकीय स्थलकोरुपमा बिकास गर्ने, एक वडा एक जलाशय निर्माण र एक घर दुई बिरुवा रोपिने भएको छ ।

आम सञ्चार माध्यमलाई उद्योगकोरुपमा बिकास गर्न टेवा पुर्‍याउने, उपमहानगर र पत्रकार महासंघले संयुक्तरुपमा सञ्चालन गर्ने गरी ३ लाखको अक्षयकोष स्थापना गरी उत्कृष्ठ तीन जना पत्रकारलाई पुरस्कृत गर्ने र एफएम रेडियोहरुलाई करमा ३० प्रतिशत छुट दिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment