Comments Add Comment

रुपन्देही र कपिलवस्तुमा चुल्ठो काटिने रहस्यमय घटना

पीडितलाई नै थाहा छैन, कसले काटिदियो कपाल

४ भदौ, भैरहवा । रुपन्देही र कपिलवस्तुमा पनि युवतीहरुको चुल्ठो काटिएका घटना सार्वजनिक भएका छन् । भारतमा यस्ता घटनाका कारण युवती आतंकित छन् ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाकी १५ वर्षीया सबाना (परिवर्तित नाम) को चुल्ठो आइतबार बिहान काटिएको छ । सोही नगरपालिकाकी अर्की २७ वर्षीया युवतीको पनि चुल्ठो काटिएको छ । यस्तै, कपिलवस्तुको मायादेवी गाउँपालिकाकी १८ वर्षीया युवती पनि पीडित बनेकी छन् ।

उनीहरुको कपाल कैंचीले काटिएको जस्तो देखिन्छ । तर कसरी र कसले काटिदियो भन्ने खुलेको छैन ।

कपाल काटिएको देखेपछि बेहोस भएकी सबानाले भैरहवाको भीम अस्पतालमा भनिन्, ‘बिहान ५ बजेतिर आमाले उठाउनु भयो । म उठेर आमासँग गएँ । आमाले काम गर्नुपर्यो भन्नुभयो । तर, म फेरि सुत्न कोठामा पुग्दा चक्कर लागेजस्तो भयो र म ओछ्यानमा पल्टिएँ ।’

उनका अनुसार बेहोस हुनु अघिसम्म चुल्ठो काटिएको थिएन । त्यसपछि कसले काटिदियो उनले थाहा पाइनन् ।

उनकी आमा हलिमुननिशाले (परिवर्तित नाम) ले छोरी सुतेपछि फेरि उठाउन जाँदा चुल्ठो काटिएको थियो, उनी बेहोस थिइन् । उनलाई हतारमा अस्पताल पुर्‍याइयो ।

सोही अस्पतालमा उपचार गराइरहेकी कपिलवस्तु मायादेवी नगरपालिकाकी १८ वर्षीयाको कपाल राति साढे १० बजेतिर काटिएको हो । ‘एक्कासी कसैले चुल्ठो समातेजस्तो लाग्यो, म चिच्याएँ,’ उनले भनिन्, ‘आमा दौडिँदै आउनु भयो र म बेहोस भएँ । त्यसपछि के भयो थाहा पाइनँ ।’

उनकी आमाका अनुसार बेहोस भएर ढलेकी उनी बारम्बार होसमा आउँदै, बेहोस हुँदै गरिन् । टाउको, पेट, खुट्टा दुख्यो भनेपछि तत्काल अस्पताल ल्याइएको हो । संवाददाताले उनलाई भेट्दा टाउको दुखेको बताइरहेकी थिइन् । आँखा खोल्नै मन नभएको बताइन् ।

अस्पतालका डा. गोपाल उपाध्यायका अनुसार उनीहरुलाई मानसिक उपचार र औषधि दिइएपछि स्वास्थ्य सामान्य हुँदै गएको छ । चुल्ठो काट्ने व्यक्ति/समुहबारे केही खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment