Comments Add Comment

सिद्धार्थनगर नगरपालिकाको बजेट १ अर्ब ३८ करोड

४ भदौ,भैरहवा । चालु आर्थिक वर्षको ०७४/०७५ लागि रुपन्देहीको सिद्धार्थनगर नगरपालिका -भैरहवा)ले प्रथम नगरसभाबाट १ अर्ब ३८ करोड १५ लाख १९ हजार बराबरको बजेट पारित गरेको छ ।

जसमध्ये चालु खर्च तर्फ २८ करोड २४ लाख ९० हजार र पुजिगत तर्फ १ अर्ब ९ करोड ९० लाख २९ हजार बराबरको रकम नगरका मेयर हरिप्रसाद अधिकारीले प्रस्तुत गरेका छन् ।

चालु आर्थिक वर्ष २०७४/०७५ को लागि बजेटको स्रोत व्यवस्थापन तथा आम्दानीको बारेमा पनि चर्चा गरिएको छ ।

जसमध्ये कुल आय मध्ये आन्तरिक आय तर्फ कर दस्तुर, शुल्क समेतबाट गरी ८ करोड ५२ लाख २० हजार, नेपाल सरकारको अनुदान तर्फ २२ करोड ९४ लाख ३४ हजार, राजश्व बाडफाड तर्फ १ करोड ५० लाख, सडक बोर्ड तर्फ १ करोड, एडिबी परियोजना सहयोग तर्फ ८० करोड २३ लाख, नगर विकास कोषको क्रण २ करोड २१ लाख, नगर विकास कोषको सहयोगमा संचालित योजनामा अनुदान २५ लाख, सामाजिक सुरक्षा भत्तामा ५ करोड ३५ लाख ५० हजार रहेका छन् ।

यसैगरी अन्य आम्दानीको स्रोतमा सामाजिक परिचालन कार्यक्रमका लागि ६५ लाख, जिल्ला समन्वय समितिबाट ३० लाख, लागत सहभागिताका लागि स्थानीय समुदायबाट १२ लाख आय प्राप्त हुने अनुमान मेयर अधिकारीले गरेका छन् ।

बजेट प्रस्तुत गर्दै उनले भौतिक पूर्वाधारमा १ अर्ब ९ करोड ९० लाख २९ हजार खर्च हुने लक्ष्य राखिएको बताए । जसमध्ये सडक सतह ढल र फोहोरमैला प्रशोधनमा ८६ करोड १६ लाख २५ हजार, नगर सरसफाइमा १ करोड ८० लाख सामाजिक विकासमा ५५ लाख ५० हजार खर्च गर्ने लक्ष्य रहेको छ ।

बजेटमा दुई वर्षभित्र ३७ किलोमिटर लम्बाईको फुटपाथ सहितको सडक पिच तथा नाला निर्माण गर्ने, नयाँ बसपार्कको विस्तार तथा पार्क व्यवस्थापन समेत गर्ने उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७४/०७५ को लागि सिनपाको बजेटमा ८५ वर्ष उमेर पूरा भएका जेष्ठ नागरिकहरुको सम्मानको लागि सरकारले दिदै आएको सामाजिक सुरक्षा भत्ताको अतिरिक्त थप वाषिर्क ५ हजार दिने र सो रकम बर्षेनी बढाउँदै लैजाने उल्लेख गरिएको छ ।

यसैगरी नगरलाई बालमैत्री नगर बनाउने, हरियाली नगर बनाउन वृक्षारोपण गर्ने, महिला सशक्तीकरणको लागि विभिन्न कार्यक्रम गर्ने, समानिकरण विकास अनुरुप अगाडि बढ्ने राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment