Comments Add Comment

नेसनलको सम्बन्धन खारेज नगरे फेरि अनसन बस्ने डा. केसीको चेतावनी

४ भदौ, काठमाडौं । डाक्टर गोविन्द केसीले काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन खारेज गर्न माग गरेका छन् । नभए फेरि आमरण अनसनसहित आन्दोलन थाल्ने उनको चेतावनी छ ।

डा. केसी ११ औं अनसन बसिरहेका बेला त्रिविले सर्वोच्चको आदेशलाई देखाएर सुटुक्क नेसनललाई सम्बन्धन दिएको हालै मात्र सार्वजनिक भएको छ ।

चिकित्सा शिक्षा ऐन जारी नहुन्जेल कुनै पनि नयाँ मेडिकल कलेज नखोल्ने सहमति विपरित सम्बन्धन दिएको खबरले आफू स्तब्ध भएको डा. केसीले बताए । उनले विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘राज्यको निकायले गर्न सक्ने योभन्दा लज्जास्पद र गैर-जिम्मेवारीपूर्ण काम अरु हुन सक्दैन ।’

चिकित्सा शिक्षा ऐन नआउन्जेल कुनै मेडिकल कलेज नखोल्ने सम्झौताविरुद्ध परेको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश नदिएकाले नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने वैध बाटो बाँकी नरहेको डा. केसीको तर्क छ ।

डा. केसीले सम्बन्धनको निर्णय खारेज गर्न माग गरेका छन् । उनले भने, ‘खारेज नगरिए सत्याग्रहसहित आन्दोलनका कडा कार्यक्रम सुरु हुनेछ ।’

साथै त्रिविले खोसेर लगेका अधिकारहरु तत्काल आईओएममा फर्काउन तथा संसदमा हाल विचाराधीन चिकित्सा शिक्षा विधेयक माथेमा प्रतिवेदन र हाम्रा मागहरुसमेत समेटेर यथाशीघ्र पारित गर्न माग गरेका छन् । तर, यथास्थितिमा विधेयक पारित गरिए मान्य नहुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment