Comments Add Comment

झण्डावाल गाडी नदिएको भन्दै मन्त्रीले सीडीओको उछितो काढे (भिडियोसहित)

४ भदौ, दाङ । आफूलाई झण्डावाल गाडी नपठाएको भन्दै भूमिसुधारमन्त्री गोपाल दहितले सार्वजनिक कार्यक्रममै प्रमुख जिल्ला अधिकारीको उछितो काढेका छन् ।
अधिकारीहरुका अनुसार यसअघि अरु मन्त्री दाङ जाँदा पनि यो गाडी नै प्रयोग गरेका थिए । तर, गाडीमा झण्डा नभएको भन्दै मन्त्री दहित आक्रोशित भए ।भूमिसुधार मन्त्री दहित दाङमा हुने ‘मुक्त कमलरी परिचय पत्र वितरण’ सहितका कार्यक्रममा सहभागी हुन शनिबार विमान चढेर नेपालगञ्ज पुगे । उनका लागि स्थानीय प्रशासनले कृषि कार्यालयको गाडी पठाएको थियो ।

लगतै जिल्ला विकास समितिको अर्को गाडीमा झण्डा राख्ने डण्डी बेल्डिङ गराइयो र, प्रमुख जिल्ला अधिकारीसहितको टोली मन्त्री दहितलाई रिसिभ गर्न बाँके र दाङको सीमाना अमेलियासम्म पुगेको थियो ।

तर, दहितले त्यो गाडी पनि चढ्न मानेनन् । एयरपोर्टबाटै चढेर आएको गाडीमा दाङ आए र प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठमाथि खनिए । उनले एलडीओ र प्रहरी प्रमुखकै सामुन्ने अपशब्द प्रयोग गर्दै गाली गरेका थिए ।

आइतबार सार्वजनिक कार्यक्रममै पनि भूमिसुधारमन्त्री दहितले सीडीओको उछितो काढेका छन् । ‘हाम्रो यहाँका प्रमुख जिल्ला अधिकारीले वर्तमान मन्त्रीलाई कसरी इज्जत सम्मान दिनुपर्छ भन्ने सिकेका रहेनछन्,’ उनले भने, ‘एउटा गाडी नेपालगञ्ज पठाउन सक्दैनन् ।’

मन्त्री दहित यतिमै रोकिएनन् । भने, ‘२७/२८ जना मन्त्री हुँदा ११ औं नम्बरमा पर्ने गोपाल दहित हो । तर, आज यहाँ कार्यक्रम हुँदा झण्डा भएको गाडी पठाउँदैनन् । यस्ता गैरजिम्मेवारपूर्ण प्रजिअ पाएका छौं ।’

त्यसपछि मन्त्री दहित आफ्नो ‘बहादुरी’ सुनाए । ‘मैले हिजो उहाँलाई भन्नसम्म भनिसकेँ । उहाँलाई लाज लाग्नु पर्ने हो । यति लाज लाग्नु पर्ने कि आजको कार्यक्रममा सीडीओ भएर बस्न नसक्नु पर्ने हो । किनकी मन्त्रीलाई इज्जत दिन सक्दैन भने दाङका नागरिकलाई के इज्जत दिनसक्नु ।’

पूर्व जानकारी दिएर आउँदा पनि ‘लापर्वाही’ भएको भन्दै भूमिसुधार मन्त्रीले भने, ‘सानो दल भनेर वा थारु मन्त्री भनेर हेपेको होला । यो लज्जास्पद छ ।’

उनले कार्यक्रममै आगामी दिनमा यस्तो नहोस् भनेर सीडीओलाई धम्क्याएका छन् । फोरम लोकतान्त्रिकबाट मन्त्री बनेका उनले भने, ‘यस्ता सीडीओहरुको सरकारी जागिर खाएर प्रमुख जिल्ला अधिकारी भइराख्ने अधिकार छैन ।’

यसबारे सोध्दा मन्त्री दहितले यसबारे तपाई आफैं बुझ्नुस्, मलाई नसोध्नुस् भन्ने जवाफ दिए ।

हर्नुहोस् भिडियो 

२०७४ भदौ ४ गते १८:४२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment