Comments Add Comment

बाबुरामको इतिहासः पहिले ट्रेजेडी, अहिले प्रहसन !

१५ भाइको नियति- अभागीलाई खाने बेलामा रीस उठ्छ !

नेपोलियन बोनापार्टको अठारौं ब्रुमेरमा मार्क्सले चर्चा गरेजस्तै गरी डा. भट्टराईको इतिहास दोहोरिएको छ, पहिले ट्रेजेडीका रुपमा र पछि प्रहसन अर्थात मजाकका रुपमा ।

बाबुराममाथि इतिहासले परीक्षा लिइरहेको छ या मजाक गरिरहेको छ ? यो प्रश्नको जवाफ आगतमा दिन सकिँदैन ।

विहीबार बिहानै प्रचण्ड निवास लाजिम्पाटमा एउटा तीतो अनुभव गरे, नयाँशक्तिबाट माओवादी केन्द्रमा फर्कन लागेका देवेन्द्र पौडेल र वामदेव क्षेत्रीहरुले । बाबुरामलाई एक्लै बनाएर माओवादी केन्द्रमा फर्कन लागेको सगौरब सुनाइरहेका वामदेव क्षेत्री र पासाङ शेर्पालाई प्रचण्डले भने- ‘बाबुरामजी देशका लागि चाहिने नेता हो, उहाँलाई कमजोर बनाउनुहुँदैन ।’

जतिखेर डा. बाबुराम भट्टराई माओवादी पार्टीमै थिए, त्यसबेला देवेन्द्र पौडेल, वामदेव क्षेत्री, कुमार पौडेलहरु प्रचण्डको साटो डा. भट्टराईको गुटमा थिए । उनीहरु बाबुराम प्रचण्डतिर मिल्न गएकोमा खासै रुचाउँदैनथे । हुनत टोपबहादुर रायमाझी पनि बाबुरामकै समूहमा थिए, तर उनी नयाँ शक्तिमा नगई प्रचण्डकै साथमा बसे ।

यता एक वर्षसम्म माओवादी केन्द्रका विरुद्ध वैचारिक युद्ध छेड्दै नयाँ शक्तिको वकालत गरेका पौडेल र क्षेत्रीहरु १८० डिग्रीमा परिवर्तन भएर आफैं करार गरेको ‘पुरानो शक्ति’ मा फर्कँदैछन्, जुन उनीहरुका लागि आत्मघाती कदम हुन सक्छ ।

डा. बाबुराम भट्टराईका बारेमा चर्चा गर्नुपूर्व उनको साथ छाडेर माओवादीमा फर्कन लागेका देवेन्द्र पौडेल समूहका १५ भाइका बारेमा केहीबेर ‘बुद्धिविलास’ गरौं ।

पौडेल समूहको चर्चा गर्नु ‘बुद्धिविलास’ किन हो भने माओवादी आन्दोलनमा लामो त्याग र समर्पण भए पनि उनीहरु अब्बल नेता हैनन् । उनीहरु यता वा उतातिर लाग्नुले माओवादीलाई खासै नाफा घाटा हुने देखिँदैन ।

विशेष गरी ०६२/०६३ को परिवर्तनपछि पुस्ताका यी माओवादी नेताहरु बाहिरी राजनीतिक ‘परफरमेन्स’का हिसाबले मात्र होइन, आफ्नै बुँताका हिसाबले पनि पटक-पटक असक्षम सावित भइसकेका छन् ।

जनयुद्धको राजनीतिमा आएको परिवर्तनपछि जनार्दन शर्मा, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, ओनसरी घर्ती, टोपबहादुर रायमाझी लगायतले जसरी आफ्नो पहिचान लोप हुन दिएनन्, वामदेव क्षेत्री, देवेन्द्र पौडेल र कुमार पौडेलहरुले आफूहरुलाई प्रखर रुपमा अगाडि सार्न सकेनन् । उनीहरुले न त पार्टीभित्र आफूलाई अब्बल सावित गर्न सके, न त संसदीय राजनीतिमा नै ।

माओवादी केन्द्रभित्र यस्तै हरिबिजोग वैद्य समूह छाडेर आएका नेताहरुको छ । देव गुरुङ एकताका चल्तापूर्ता नेता मानिन्थे, वैद्य समूह छाडेर माओवादी केन्द्रमा आएपछि उनको नामोनिशाना छैन । जनार्दन शर्माका सामु देव गुरुङमात्रै होइन, रामबहादुर थापा बादलसमेत विचरा देखिन्छन् । जयपुरी घर्ती, हितमान शाक्य लगायतका नेताहरुको हविगत पनि माओवादी केन्द्रभित्र टाक्सिएको स्थिति छ ।

निश्चित छ, देवेन्द्र पौडेल र वामदेव क्षेत्रीहरु माओवादी केन्द्रमा फर्किएपछि उनीहरुको हालत पनि देव गुरुङ र हितमान शाक्यको भन्दा बेहत्तर हुने देखिँदैन । र, यसको कारण प्रचण्ड समूहको कुदृटि भन्दा पनि पौडेल र क्षेत्रीहरुको आन्तरिक कार्यक्षमताकै अभावले गर्दा हुनेछ ।

किताबका ठेलीहरु लेख्ने हिसाबले हेर्ने हो भने देवेन्द्र पौडेलले माओत्सेतुङका भन्दा ठुल्ठूला भोल्युम छापेका छन् । पौडेलको तुलनामा पूर्वमाओवादी विश्लेषक मुमाराम खनाल (हाल साझा पार्टी) त भुसुना हुन् । तर, परफरमेन्सको हिसाबले देवेन्द्र मुमारामभन्दा निकै पछाडि छन् ।

भन्नका लागि र क्षेत्री र पौडेलहरुले एउटा गुनासो पोख्ने गरेको सुनिन्छ, हामीले पार्टीभित्र डा. भट्टराईलाई साथ दिएकै कारणले प्रचण्ड समूहले अवसरहरु नदिएको हो । तर, यसमा उनीहरुले आफ्नै क्षमताचाहिँ प्रदर्शन गर्न सकिएन कि भन्ने सोचेका छैनन् । आखिर अहिले आएर बाबुरामलाई काम नलाग्ने भन्दै छाड्नुपर्ने रहेछ भने विगतमा किन साथ दिएको ? विगतमा किन बुद्धि नपुर्‍याएको ? एक वर्ष अघिमात्रै टोपबहादुर रायमाझीले जति पनि सोच्न किन नसकेको ? यो प्रश्न स्वाभाविकरुपमा जन्मन्छ ।

एकपटक श्रीमानको घर छाडेर हिँडिसकेकी श्रीमतीलाई पतिले फेरि घरमा फिर्ता बोलाउन सक्छ, तर त्यसपछिको उनीहरुको सम्बन्ध प्रेमपूर्ण कम र शंकालु बढी हुन्छ ।

महिलाको हकमा मात्रै होइन, पुरुषको हकमा पनि यही कुरा सत्य हो । अर्कोसँग चर्न हिँडेको श्रीमानलाई श्रीमतीले ल भैगो, आइन्दा यस्तो काम नगर्नू भनेर एक/दुई चोटि माफी दिन सक्छिन्, तर हृदयमा पूर्णरुपमा शंकारहित ढंगले बास बसाउन कहिल्यै सक्दिनन् ।

देवेन्द्र पौडेल र बामदेव क्षेत्रीहरुले एउटै पार्टीमा हुँदा पनि जीवनभर बाबुरामको साथ छाडेनन् । अब जीवनका उर्जा सकिन लागेको बुढेसकालमा प्रचण्डका घरमा फर्केर आउँदा उनीहरु माओवादीभित्र आप्रवासीजस्तै हुने सम्भावना बढी छ ।

तर, अबको एक वर्षपछि पौडेल र क्षेत्रीहरु प्रचण्डबाट हेला भो भनेर फेरि बाबुरामतिर लाग्न खोजे भने ‘भतुवाको भर हुँदैन’ भन्ने स्थिति दुबै समूहमा आउन सक्छ । त्यस्तो बेलामा यो समूहको हालत ‘घरको न घाटको’ हुन सक्छ ।

शायद प्रचण्डले यो कुरा बुझेका छन् कि आफ्नो दलभित्रै कार्यकर्ता र नेताको व्यवस्थापन गर्न नसकिइरहेका बेला पौडेल समूहका ‘१५ भाइ’ उनका लागि घाँडो हुन् ।

सामाजिक सञ्जालमा एकजना माओवादी कार्यकर्ताले ठीकै लेखेका हुन्- हिजो पार्टी फुटाएर कमजोर बनाउनेहरु अहिले चुनावमा पार्टीले पाएको सफलता देखेर भाग खान आएका हुन्, उनीहरुलाई केन्द्रीय तहमा राख्ने होइन, साधारण सदस्य बनाएर राख्नुपर्छ ।

बाबुरामलाई कोर्ष करेक्सनको मौका ?

जतिखेर राप्रपाका पशुपतिसमशेरहरु पार्टी छाडेर बाहिरिँदै थिए, कमल थापाले अनलाइनखबरको एक अन्तरवार्तामा भगवानलाई धन्यवाद दिँदै भनेका थिए कि मैले आफूले गरेको गल्ती नियतिले सच्याइदियो ।

कमल थापाले जसरी डा. बाबुराम भट्टराई भगवान र नियतिमा विश्वास गर्दैनन् । तर, परिस्थितिले उनलाई पनि कोर्ष करेक्सन गर्ने एउटा मौकाचाहिँ पक्कै दिएको छ ।

हिजो डा. भट्टराईले नयाँशक्ति बनाउँदै गर्दा धेरै मानिसहरुले भन्ने गरेका थिए कि पूर्वमाओवादीहरु भेला पारेर नयाँशक्ति बन्दैन । समयको बहावमा असफल सावित भइसकेका जड नेताहरुको नेतृत्वमा नयाँ शक्ति बन्न सम्भव पनि छैन र हुँदैन पनि । यो स्थितिमा टोपबहादुृर पहिल्यै नआएर बाबुरामलाई हित भएको थियो, अहिले फेरि एक हुल पूर्वमाओवादीहरु निस्किएर नयाँ शक्तिका लागि मार्गप्रशस्त भएको छ ।

कतिपय विश्लेषकहरुले डा. बाबुराम भट्टराईका चार विकल्प रहेको सुझाएका छन्ः एक नयाँशक्तिको पुनर्गठन, दुई साझा विवेकशीलमा विलय, तीन माओवादीमै फर्कने र चार शोध अनुसन्धान गरेर जीवन बिताउने ।

यी विकल्पहरुमा एउटा कुरा थपौंः सबैले छाडेर बाबुराम एक्लै कोठामा खुम्चिएर बसे भने उनी केही समय प्रहसनको पात्र बन्न/बनाइन त सक्छन्, तर बाबुराम ब्राण्ड नयाँ र पुराना दुबैलाई काम लाग्न सक्छ ।

भविश्यमा एउटा त्यस्तो विन्दु आउन सक्छ, रविन्द्र मिश्र या प्रचण्ड, जसले बाबुरामको साथ लिन्छन्, उनैले कांग्रेस र एमालेको विकल्पमा तेस्रो शक्ति बनाउने सम्भावनालाई बल पुग्नेछ । बाबुराम भट्टराईलाई लोकेन्द्रबहादुर चन्द वा मरिचमानसँग तुलना गरिहाल्नु हतारो हुनेछ ।

बाबुराम नआए रविन्द्र मिश्र आउनेछन्

मानिसहरु भन्ने गर्छन् कि उनको भविश्य छैन, अब बिल्लीबाठ भयो । तर, बिल्लीबाठ त प्रचण्डको समेत हुनेवाला छ । बाबुरामको बिल्लीबाठ हुँदैमा प्रचण्डको पसल फस्टाउने अवस्था छैन । प्रदेशको चुनाव आउनै बाँकी छ । केन्द्रको पनि आउनै बाँकी छ ।

साझा विवेकशील पार्टीले कांग्रेस र एमालेलाई राजधानीबाटै धक्का दिन थालिसकेको अवस्था छ । स्थानीय चुनावलाई हेर्दाखेरि राजधानीमा माओवादी केन्द्रभन्दा साझा विवेकशील पार्टी ठूलो बनिसकेको छ । त्यसैले बाबुरामको नयाँशक्ति छताछुल्ल हुँदैमा नयाँ शक्तिको भविश्य छताछुल्ल भएको मान्न सकिने अवस्था छैन । डा. भट्टराई कमजोर भए रविन्द्र मिश्र वा अरु कोही मैदानमा आउन सक्छन् । यो राजनीतिको ‘प्राकृतिक नियम’ नै हो ।

प्रचण्डको गलगाँड !

के प्रचण्डकै नेतृत्वमा चाहिँ नयाँ वैकल्पिक शक्ति बनाउन सकिँदैन त ? सकिन्थ्यो होला, तर उनको पार्टीभित्र रहेका बुद्धि र ज्ञान दुबैथोक नभएका नेताहरुको पिण्ड नछुटाउँदासम्म प्रचण्डको पार्टीले फड्को मार्न सक्दैन । त्यस्ता नेताहरुको सूची लामै दिन सकिन्छः तर कतिपय विषयहरु मुखले भन्नु भन्दा इशाराले बोलेकै राम्रो । ती नेताहरु प्रचण्डका लागि गलगाडँ हुन् ।

तर, यतिचाहिँ भन्न सकिन्छ कि माओवादीभित्र पहिलो पुस्ताका नेताहरुमात्रै होइन, दोस्रो तहमा नेताहरु पनि असक्षम सावित भइसकेका छन् । तेस्रो पुस्ता माथि आउने सम्भावना नै छैन ।

यदि प्रचण्ड, नारायणकाजी, बाबुराम र मोहन वैद्यहरुलाई असफल मान्ने हो भने दोस्रो तहका बादल, पम्फा भुसाल, देव गुरुङ, देवेन्द्र पौडेल, वामदेव क्षेत्री, कुमार पौडेल, टोपबहादुर रायमाझी, हितमान शाक्य, लगायतका नेताहरु पनि समयभन्दा पछि परिसकेका छन् ।

केपी ओलीले भन्ने गरेका छन्ः बाख्राका घाँटीमा झुण्डेको लुर्कोको कुनै काम छैन । पार्टीभित्रका लुर्काहरु हल्लिएर जता पुगे पनि तिनले न कानको काम गर्छन्, न त पुच्छरको नै ।

अन्ततः बाबुरामको नयाँ शक्तिका केही लुर्काहरु हल्लिएर प्रचण्डको कित्तामा पुगेका छन् । अब केही थान स्थायी कमिटी सदस्यहरु थपिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अरूण बराल

अरूण बराल अनलाइनखबर डटकमका सम्पादक हुन् ।

ट्रेन्डिङ

Advertisment