Comments Add Comment

आजबाट सवारीमा इम्बोस्ड प्लेटः सरकारीमा अनिवार्य, निजीलाई स्वेच्छिक


५ भदौ, काठमाडौं । सरकारले आजबाट इम्बोस्ड नम्बर प्लेट जडान कार्य सुरु गरेको छ । पहिलो चरणमा सरकारी र कूटनीतिक सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट जडान सुरु गरिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले इम्बोस्ड प्लेटको औपचारिक सुरुवात गरे । बाग्मती अञ्चलमा दर्ता भएका निजी सवारीधनीले पनि आफ्नो सवारीमा स्वेच्छिक रुपमा इम्बोस्ड जोड्न पाउनेछन् ।

विभागले तत्काल सरकारी सवारीलाई अनिवार्य गरेपनि निजी सवारीलाई अनिवार्य गरिसकेको छैन । तर, केही समयभित्रै क्यालेण्डर बनाएर इम्बोस्ड प्लेटलाई सबै सवारीमा अनिवार्य रुपमा लागू गर्दै लैजाने तयारी भइरहेको विभागका प्रवक्ता डा. टोकराज पाण्डले अनलाइनखबरलाई बताए ।

सुरुवातमा काठमाडौंका निजीसहित सरकारी–संस्थान र कूटनीतिक नियोगका सवारीका नम्बर प्लेटहरुलाई इम्बोस्ड प्रविधिमा रुपान्तरण गर्ने तयारी छ ।

‘हामी क्यालेण्डर बनाएर यसलाई क्रमशः अनिवार्य गर्दै लैजान्छौं’ प्रवक्ता पाण्डेले भनेबाग्मती अञ्चलमा दर्ता भएका निजी सवारीले पनि अहिले स्वेच्छिक रुपमा यसलाई जोड्न सक्छन् । हामी बाग्मती बाहिर पनि जति सक्दो छिटो यसको वितरण थाल्छौं ।’

इम्बोस्ड नम्बर प्लेट लागू गर्ने जिम्मा पाएको बंगलादेशी र अमेरिकी संयूक्त कम्पनी डेकाटुर टाइगर आइटीले इम्बोस्ड नम्बर प्लेट छाप्न सुरू गरेको छ । विभागको मिनभवनस्थित भवनमा मेसिन र उपकरण जोडेर छाप्ने कामको सबै तयारी गरिएको छ ।

यसअघि गत असोजबाटै इम्बोस्ड लागू गर्ने भनिएको थियो । यो प्लेट लागू गर्न टाइगर डेकाटुरले भ्याटबाहेक ३८.७५० मिलियन अमेरिकन डलर अर्थात ४ अर्ब ५ करोड रूपैयाँमा ठेक्का पाएको हो । अब यसअनुसार ५ वर्षभित्र २५ लाख सवारीको इम्बोस्ड प्लेट यो कम्पनीले छापेर सरकारलाई दिनेछ ।

५ वर्षभित्र देशभरका सबै सवारीमा इम्बोस्ड प्लेट जोडिसक्ने लक्ष्य छ । आफ्नो सवारीमा इम्बोस्ड प्लेट जोड्न चाहनेले यातायात कार्यालयमा गएर आफ्नो सवारीको विवरण भर्नुपर्नेछ ।

३ हजार ६ सयसम्म शुल्क

अहिलेको नम्बर प्लेट बदलेर इम्बोस्ड प्लेट राख्न छुट्टै दस्तुर तिर्नुपर्ने छ । मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार दुईपांग्रे मोटरसाइकल तथा स्कुटर धनीले इम्बोस्ड जडान गर्दा २ हजार ५ सय रुपैयाँ खर्च गर्नु पर्नेछ ।

टेम्पो लगायतका तीन पांग्रे साना सवारीमा यो प्लेट जोड्न २ हजार ९ रुपैयाँ राजस्व लाग्छ ।

यसैगरी कार, जीप,भ्यान तथा ट्र्याक्टरले ३ हजार २ सय र यसबाहेकका सबै प्रकारका ट्रक, बस लगायत ठूला सवारी साधनले इम्बोस्ड नम्बर जडान गर्दा ३ हजार ६ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

यसरी जोडिने इम्बोस्ड नम्बरको आयु १० वर्षको हुनेछ ।

५ प्रकारका प्लेट

इम्बोस्ड नम्बरप्लेट लागु भएसँगै नेपालमा हाल प्रयोग भइरहेका विभिन्न २३ प्रकारका नम्बरप्लेट ५ प्रकारमा सीमित हुनेछन् । जसअनुसार राष्ट्रपतिको सवारीसाधनको नम्बरप्लेटमा नीलो पृष्ठभूमिमा राष्ट्रिय झण्डासहित निशान चिह्न हुनेछ  ।

त्यसैगरी सार्वजनिक सवारीसाधनमा पहेंलो प्लेटमा कालो, निजी सवारीसाधनमा सेतो प्लेटमा कालो, सरकारी सवारीमा सेतोप्लेटमा रातो र कुटनीतिक नियोगका सवारीहरुमा सेतोप्लेटमा निलो अंक र अक्षर रहनुपर्ने कानुनी व्यवस्था रहेको छ । सबै प्रकारका सवारीहरुको नम्बर प्लेट अगाडि लामो र पछाडि चतुर्भुज आकारको हुनेछ ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment