Comments Add Comment

३६ बर्षमा रेखा थापाः ‘फिल्ममा सफल, राजनीतिमा अल्झदै’


जन्मेको दिन त आउँछ, जान्छ । तर, कुनै पनि व्यक्तिले जीवनको कालखण्डमा विताएका पलहरु कस्तो बनायो भन्ने महत्वपूर्ण हुन्छ । आफ्नो जीवन जिउँदै गर्दा कुनै पनि व्यक्तिले गरेका काम र उसको चर्चाकै आधारमा धेरैले उसलाइ आ-आफ्नो नजरबाट हेरेका हुन्छन् ।

नेपाली चलचित्र क्षेत्रकी सफल नायिका रेखा थापा पनि आज आफ्नो जन्मदिन मनाउँदैछिन् । रेखाको जन्म वि.सं २०३८ साल भदौ ५ गते मोरङमा भएको हो । बुबा प्रेमकुमार थापा र आमा सरस्वती थापाको कोखबाट जन्मिएकी रेखा आजबाट ३६ बर्षमा-नागरिकता अनुसार) प्रवेश गरेकी छिन् ।

नेपाली चलचित्र क्षेत्रमा आउनु अगाडि रेखाले पूर्वमा आयोजना भएको सौन्दर्य प्रतियोगिता ‘मिस कोसी’मा भाग लिएकी थिइन् । उनलाइ, नेपाली चलचित्र क्षेत्रमा निर्माता छविराज ओझाले ‘हिरो’मार्फत भित्राएका हुन् ।

१५ बर्ष भन्दा लामो चलचित्र यात्राको दौरानमा रेखा नायिकाको रुपमा सफल र विवादस्पद दुबै देखिइन् । रेखाको तुलना नेपाली चलचित्रमा नायिकासँग भन्दा पनि नायकसँग भयो । कारण, उनले अभिनय गरेका चलचित्रमा जतिसुकै स्टारडम बोकेका कलाकार भएपनि, उनीहरु ओझेलमा परे । ‘हिम्मत, किस्मत, हिफाजत, कसले चोर्‍यो मेरो मन, अन्दाज, मालतीको भट्टी’ लगायतका चलचित्र यसको उदाहरण हुन् ।

नायकसँग बोलचाल बन्द
नायिका रेखा थापा करिअरको उच्च विन्दुमा रहँदा उनको अधिकांश नायकसँग बोलचाल बन्द भयो । नायक राजेश हमाल र रेखाविच त अझै पनि शितयुद्ध नै छ । नायक निखिल उप्रेती, विराज भट्टदेखि आर्यन सिग्देलसँग उनको बोलचाल बन्द भयो । यसको मुख्यकारण, रेखा र उनीसँग काम गरेका नायकहरुविच स्टारडमको घमण्ड नै थियो । तर, आज रेखाले सबै नायकहरुसँग सम्बन्ध विस्तार गरिसकेकी छिन् ।

राजनीतिमा उल्झन
चलचित्र निर्माण र अभिनयमा सफल देखिएकी रेखा राजनीतिक तरंगका कारण पनि तरंगित हुने गरेकी छिन् । तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग सिंहदरबार अगाडि नृत्य गरेपछि रेखा चर्चामा रहिन् । त्यसलगतै, उनी माओवादी पार्टीमा प्रवेश गरिन् । दोश्रो संविधान सभाको निर्वाचनमा माओवादीबाट टिकट पाएपनि मतदाता सूचीमा नाम नभएपछि रेखाले चुनाव लड्न पाइनन् ।

माओवादी पार्टी दोश्रो संविधान सभाको निर्वाचनमा तेश्रो पार्टी भएपछि रेखा पनि मौन बसिन् । त्यसको केही बर्षपछि उनी राप्रपा पार्टीमा प्रवेश गरिन् । राप्रपाका अध्यक्ष कमल थापाको फ्यान भएको भन्दै उनले यो पार्टी नै आफ्नो पहिलो र अन्तिम पार्टी भएको बताइन् । तर, रेखाको बोली लामो समय टिकेन । उनी, फेरि पशुपति शमशेर राणाले नेतृत्व गरेको राप्रपा प्रजातान्त्रिक पार्टीमा लागेकी छिन् । रेखाको राजनीति करिअर अझै पनि अन्यौलग्रस्त नै देखिएको छ ।

नेपाली चलचित्रमा जस्तोसुकै परिस्थितीमा पनि एक्लै लड्न सक्ने क्षमता राख्ने रेखा पछिल्लो दिनमा पर्दामा सफल देखिएकी छैनन् । रेखालाइ अब फेरि उनी अभिनित चलचित्र चल्न आवश्यक देखिएको छ । उनी निर्मित तथा अभिनित चलचित्र ‘रुद्रप्रिया’ कात्तिक २ गतेबाट रिलिज हुँदैछ । नेपाली चलचित्र क्षेत्रकी सफल नायिका थापालाइ अनलाइनखबरको तर्फबाट जन्मदिनको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment