Comments Add Comment

मनसराको मुहारमा फर्किएको खुशी

बेड नम्बर–२२

बुवाको काखमा लुटपुटिएकी सानी फुच्चीको अनुहार उज्यालिएको छ । उनी आफ्ना खिरिला हातहरुले बुवाको नाक तान्छिन्, कहिले प्याट्ट गालामा हिर्काउँछिन् । यताउता चलमलाउँछिन्, दंग पर्दै । पीडाको भीमकाय पर्वत थपक्क बिसाएझैं हल्का भएको छ, उनको ज्यानलाई ।

चार वर्षकी मनसरा कामीसँग हिजो कहाँ यस्तो चञ्चलता थियो र !

खपिनसक्नुको दर्द थियो । दाहिने आँखाबाट कहालिलाग्दोगरी मासुको डल्लो पलाएको थियो । त्यसमा स्याउस्याउँती किरा परेको थियो । पिप बगिरहन्थ्यो । किरा सल्बलाइरहन्थ्यो । बेस्सरी पोल्ने, दुख्ने, चिलाउने घाउले उनलाई आँखा झिमिक्क गर्न दिएको थिएन । ननिदाएरै उनले दुई बर्ष गुजारिन् ।

दुःखाई खप्न नसकेर घोक्रो सुक्नेगरी रुन्थिन्, चिच्याउँथिन् । यस्तो दशाले रने कामीको परिवारलाई अशान्त र बेचैन बनाएको थियो । उपचार गरौं, पैसा छैन । बिजोग हेरौं, मन मान्दैन ।

कालिकोटको एकलासे पाखामा बनेको झुपडीभित्र बसिनसक्नु भयो । एकातिर मनसराको चिच्याहट, अर्कोतिर घाउको दुर्गन्ध । खाना खाने बेला उनलाई घर बाहिर निकाल्नुपर्ने । न सुत्न दिन्छ, न खान ।

उनले छोरीलाई पिठ्युँमा बोकाएर धामीकहाँ पुर्‍याए। झारफुक गरियो । अरु केही नभए पनि घाउको किरा मार्न पाए हुन्थ्यो भन्ने लाग्यो । जडिबुटी गर्नेकहाँ धाए । बिसेक भएन ।

भर झारफुकको

एक दिन (करिब दुई वर्षअघि) पनि उनीहरु खेतालापात गएका थिए । ६ बालबच्चा घरमै । दिउँसो कतिबेला आँगनमा खेलिरहेकी कान्छी छोरी छेवैको कुलोमा खस्न पुगिन् । धारिलो ढुंगाले आँखामा घोच्यो ।

बच्चालाई आधा घण्टा टाढाको स्वास्थ्य चौकीमा पुर्‍याइयो । स्वास्थ्यकर्मीले आँखामा लगाउने केही औषधी दिएर भने, ‘यहाँ सकिँदैन, अरुतिर लगेर उपचार गर्नु ।’

दुई छाक टार्न मुश्किल छ, कसरी अस्पताल पुर्‍याउने ?

खर्च नभएपछि बच्चालाई घरमै राखे । झारफुक गराए । तर, घाउभित्रबाट मासु पलायो । र, त्यो दिनदिनै डरलाग्दोगरी बढ्न थाल्यो । चार महिना बित्यो ।

आखिरमा २० हजार ऋण खोजेर सदामुकाम मान्म पुर्‍याए । त्यहाँको अस्पतालबाट पार लागेन । धनगढीको गेटा आँखा अस्पतालमा पुर्‍याए । अस्पतालले भन्यो, ‘शल्यक्रिया गर्नुपर्छ ।’ त्यसका लागि एक/डेढ लाख जोहो गर्नुपर्ने भयो । त्यति धेरै पैसा कहाँबाट ल्याउने ?

रने छोरी च्यापेर घर फर्किए । अब छोरीको खुसी फर्काउन सकिन्छ भन्ने रत्तिभर लागेन । तर, उनको घाउ हेर्न नसिकने भयो । स्याउस्याउँती किरा पर्न थाल्यो, कुहिएर पिप बग्न थाल्यो । रनेले छोरीलाई झारफुक गर्नेकहाँ पुर्‍यायो , किरा मारिदिन्छ भन्ने आशाले ।

सामाजिक सञ्जालले सघायो

मनसराको आँखाको घाउ कुहिन थालेपछि जडीबुटीबाट उपचार गर्ने ठाउँमा पुर्‍याइयो । यस्तैमा कालीबहादुर महतराले बच्चाको बिजोग देखे, जो कुनैबेला रने कामीकै छिमेकी थिए । उनले मोबाइलमा बच्चाको तस्बिर कैद गरे र सामाजिक सञ्जालमा राखे ।

‘मनसरा लुहार बचाउ अभियान’ थालियो । नसोचेको भइदियो । सहयोगी हातहरु एकपछि अर्को गर्दै जुट्न थाले ।

‘मनसरा लुहार’लाई बचाउन थुप्रैले फेसबुकमार्फत् अनुनय गरे । पीडित परिवारको संलग्नतामा बैंक खाता खोलियो । ‘सोचेभन्दा बढी सहयोग जुट्यो,’ कालीबहादुरले भने, ‘त्यसैले हो उपचार गरेको ।’

समाजमा सहयोगी मन भएकाहरुको संख्या प्रसस्त रहेको ठानेका छन्, कालीबहादुरले अहिले । मनसराको अवस्था देखेर धेरैले पैसा जम्मा गरिदिए । उनको नाममा सञ्चालित खातामा १० लाख रुपैयाँभन्दा बढी जम्मा भइसकेको छ । ‘यति पैसा उपचारको लागि मनग्य हुन्छ,’ उनले थपे । अहिलेसम्म पाँच लाख खर्च भइसकेको रहेछ ।

उपचारका लागि पैसा जुट्यो । अब काठमाडौं पठाउने तयारी भयो । तर, उनको छेउ पर्नै नसकिने, गन्हाएर ।

‘कोही पनि उनको छेउ पर्नै नमान्ने,’ कालीबहादुरले भने, ‘जहाँ राख्यो, त्यहाँ दुर्गन्ध फैलने ।’ तर, उनले बच्चालाई आफ्नै काखमा लिए । र, काठमाडौंसम्म ल्याए । ‘त्यसबेलाको बच्चाको हालत हेर्दा यस्तो हुन्छ भन्ने लागेकै थिएन,’ कालीबहादुरले भने ।

काठमाडौंस्थित कान्ति बाल अस्पतालमा भर्ना गरियो । डा. प्रकासनिधि तिवारीको टोलीले उनको उपचार सुरु गर्‍यो । तीन चरणको किमो दिइएपछि घाउ सुक्यो । ‘क्यान्सर भइसकेको छ,’ डा. तिवारीले भने, ‘अलि ढिलो भयो । तर, उपचार हुन्छ ।’

फर्कियो खुशी

अनलाइनखबरकर्मी अस्पताल पुग्दा, मनसरा लुहार बेडमा खेल्दै थिइन् । तस्बिरमा देखिएजस्तो डरलाग्दो मासुको डल्लोको नामोनिशान थिएन । दाहिने आँखाको भाग थोरै कालो थियो, अरु सबै सद्दे ।

सुकेर नौ किलो तौल भएकी मनसरा राम्ररी तंग्रिएकी थिइन् । उनको तौल बढेको थियो । बुवाको काखमा लुटपुटिएर नाक तान्दै खित्किने भएकी थिइन् । उनको स्वर सुन्न पाइयो, ‘अब भलो (निको) भयो ।’ अनि बुवाको कान तान्दै रमाउन थालिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment