Comments Add Comment

देशका २० स्थानमा कलात्मक ‘सिग्नेचर’ पुल बन्ने

५ भदौ, काठमाडौं । संसारमा त्यस्ता धेरै पुलहरु छन्, जुन पर्यटकीय हिसावले पनि महत्वपूर्ण मानिन्छिन् । युरोपेली मुलुकहरुमा आकर्षक तरिकाले बनाइएका पुल पर्यटकका लागि आकर्षणको केन्द्रमा पर्छन् ।

अब नेपालमा पनि राजमार्ग र राजमार्ग आसपासका शहरी क्षेत्र नजिकका खोलामा सरकारले आकर्षक २० वटा पुलहरु बनाउने भएको छ ।

सरकारले नयाँ किसिमका कलात्मक डिजाइनमा मनमोहक देखिने गरी पुल बनाउन गृहकार्य गरिरहेको छ । नेपालमा बनेका केही नयाँ किसिमका पुलहरुको लोकपि्रयता र चर्चालाई ध्यानमा राखेर सरकारले यस्तो योजना थालेको हो ।

अहिले पश्चिम नेपालको भ्रमणमा निस्किने अधिकांश पर्यटकहरु केही समय निकालेर भएपनि कर्णाली र महाकालीमा नौलो प्रविधिमा बनाइएको पुल हेर्न पुग्छन् । अब त्यो भन्दा पनि आकर्षक तरिकाले पुलहरु बन्ने भएका छन्, जसलाई सडक विभागले ‘सिग्नेचर पुल’ भनेको छ ।

कस्ता हुन्छन् ?

यसरी बन्ने पुलहरु मोटरेबल नै हुनेछन् । यस्ता पुलहरुलाई सुन्दर बनाउन रातको समयमा लाइटहरु जोडिनेछ । शहर र राजमार्ग छेउँमा बन्ने भएकाले यसले शहरहरुको शोभा पनि बढाउनेछ ।

फोटोः आयरल्याण्डको डब्लिनमा रहेको सिग्नेचर सेमुअल बेकेट ब्रिज

यी पुल बनेपनि त्यहाँ पर्यटकहरु पुग्ने र त्यसले अघि बढेको नेपालको आर्थिक समृद्धिको झल्को पनि दिने सडक विभागको पुल महाशाखाका वरिष्ठ इञ्जिनियर नरेशमान शाक्यले अनलाइनखबरसँग बताए ।

सडक विभागले नयाँ प्रविधिमा आधारित भएर देशका विभिन्न स्थानमा सिग्नेचर पुल निर्माण गर्ने प्रक्रिया अघि बढाइसकेको छ ।

काठमाडौंको शंखमुल, चितवनको नारायणी, मध्य तरार्इको चाँदी र बकैया लगायतका खोला तथा नदीमा यस्ता पुल बनाउने योजना अघि सारिएको छ ।

त्यस्तै कर्णाली क्षेत्र, नेपालगञ्ज, विजयपुर लगायतका स्थानका विभिन्न नदीमा सुन्दर तथा आकर्षक तरिकाले सिग्नेचर पुल निर्माण गर्न लागिएको शाक्यले बताए । ‘यी पुलहरु नेपालको गहनाजस्तो बन्नेछन् । राजमार्ग र शहरमा बन्ने यस्ता आकर्षक पुलले हाम्रो विकासको चाहाना र गतिलाई पनि प्रतिबिम्बित गर्नेछन्,’ शाक्यले अनलाइनखबरसँग भने, ‘साथै शहरी क्षत्रेको एउटा बलियो पहिचान पनि यस्ता पुलबाटै स्थापित हुनेछन् । विश्वमा धेरै त्यस्ता शहरहरु छन्, जुन आकर्षक ब्रीजलाई नै आफ्नो पहिचान बनाएर बसेका छन् ।’

३० अर्ब लागत

यो परियोजनाका लागि सरकारले बजेटको ब्यवस्थापन गरिसकेको छ । २० वटा सिग्नेचर पुलका लागि करिब ३०० मिलियन अमेरिकी डलर अर्थात ३० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

यस्ता पुल अबको छ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । निकट भविष्यमै कार्यान्वयनमा जाने यो परियोजनाका लागि करिब १५ अर्ब रुपैयाँ विश्व बैंकले सहयोग गर्नेछ । बाँकी १५ अर्ब रुपैयाँ नेपाल सरकारले बेर्होने विभागले जनाएको छ ।

विभागले परियोजनाबाट काम थाल्न अब प्रक्रिया सुरु गर्ने अन्तिम तयारी गरिरहेको छ । ‘सिग्नेचर पुल निर्माणका लागि सबै स्थानहरु पहिचान भइसकेको छैन । हामीले प्रारम्भिक रुपमा प्रक्रिया मात्रै थालेका छौं,’ वरिष्ठ इञ्जिनियर शाक्यले भने, ‘यसलाई अगाडि बढाउन अबको डेढ महिना भित्र चीनको विज्ञलाई समेत नेपाल भिकाउँदैछौ ।’

सबै स्थान पहिचान भएपछि सम्भाब्य नदीहरुमा पुलको प्रारम्भिक डिजाइन गर्ने लगायतका काम सुरु गर्ने उनको भनाइ छ ।

यो परियोजनाका लागि सन् २०१८ को मार्चभित्र विश्व बैंकसँग सम्झौतापत्रमा हस्ताक्षर गरिने विभागले जनाएको छ । ‘अबका पुलहरु पर्यटकीय हिसावले पनि महत्व राख्ने बन्नुपर्छ । स्थानीय अर्थतन्त्रमा पनि यिनले योगदान दिन सक्छन्,’ शाक्यले भने, ‘अब यस्ता पुलले विभिन्न क्षेत्रमा पर्यटकीय गतिविधि पनि बढाउनेछन् ।’

अन्यको मर्मत र पुनर्निर्माण

विभागको पुल महाशाखाले देशभरका करिब १६० वटा पुल मर्मत तथा प्रतिस्थापन समेत गर्ने योजना बनाएको छ ।

महाशाखाले करिब-करिब १६० वटा पुल जीर्ण बनेको प्राविधिक निष्कर्ष निकालेर मर्मत गर्न लागिएको जनाएको छ । मर्मत हुन नसक्ने पुललाई हटाएर नयाँ बनाउने योजना पनि विभागको छ । यस्तो पुलको लम्बाइ समग्रमा ८ हजार मिटर बराबरको हुने शाक्यले जानकारी दिए । यस्ता पुलहरु भने पुरानै प्रविधिमा आधारित हुनेछन् ।

विभागकाअनुसार नेपालमा अहिले राजमार्ग र सहायक मार्गमा २ हजार ४ वटा ठूला पुल छन् । त्यसमध्ये करिब ६० वटा पुल ज्यादै जीर्ण भएकाले तत्काल पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छन् ।

बाराको अमलेखगञ्जस्थित ३ नम्बर पुल तथा पथलैया-ढल्केबर सडक खण्डमा रहेका पुलहरु भने बढी जोखिमयुक्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment