Comments Add Comment

राजपा नेताको प्रतिक्रिया- एमाले मधेसविरोधी प्रमाणित भयो

फोरम नेता भन्छन्- तीन दलको स्वार्थ मिल्यो

५ भदौ, काठमाडौं । संविधान संशोधन विधेयकमा दुई तिहाई बहुमत नपुगेर असफल भएपछि राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरु एमालेप्रति आक्रोशित बनेका छन् । तर, खेलको नियमलाई स्वीकार गर्ने राजपा नेताको प्रारम्भिक प्रतिक्रिया छ ।

संविधान संशोधनको विपक्षमा मतदान गरेर एमालेले आफूलाई मधेस विरोधीमात्रै होइन, परिवर्तन विरोधी र राष्ट्रिय एकताकै विरोधी प्रमाणित गरेको राजपा नेताको तर्क छ ।

राजपाका अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले अनलाइनखबरसँग भने- ‘एमाले संविधान संशोधनको विपक्षमा गयो, यसले ऊ मधेस विरोधीमात्रै होइन, जनजाति, दलित लगायत सीमान्तीकृत समुदायको पक्षमा नरहेको पुष्टि भएको छ ।’

सीमान्तीकृत समुदायलाई राष्ट्रिय मूल प्रवाहमा ल्याउन कसले चाहेको छैन भन्ने कुरा प्रमाणित भएको भन्दै यादवले एमालेप्रति आक्रोश पोखे । उनले थपेे- ‘एमाले मधेसविरोधी मात्रै होइन, परिवर्तनविरोधी हो ।’

संविधान संशोधन प्रस्ताव पारित भएको भए यसले सबै जनतालाई आपसमा जोडेर एक ढिक्का बनाउने यादवले दाबी गरे । उनले भने, यसले मुलुकलाई ध्रुवीकरण गरेको छ । विधेयक असफल भएपछि राजपा अब यसबारे फेरि एकपटक सोच्न बाध्य भएको छ ।’

संविधान संशोधनसम्बन्धी भएको मतदानमा राजपाले पनि भाग लिएको हुनाले सोही अनुसार पार्टी अघि बढ्ने यादवको प्रतिक्रिया छ । अब हुने तेस्रो चरणको चुनावमा भाग लिने संकेत गर्दै यादवले भने- ‘खेलको नियममा भाग लिएपछि हामी त्यही अनुसार अगाडि बढ्छौं । हामी अब यो विषयलाई लिएर जनतामा जान्छौं ।’

संविधान संशोधन विधेयकमाथि भोटिङ हुँदा संसदमा उपस्थित भएका राजपा अध्यक्ष मण्डलका अर्का सदस्य महेन्द्र राय यादवले परिणाम स्वीकार गर्ने बताए । उनले भने- पास नै हुनुपर्ने थियो तर, हुन सकेन । प्रक्रियामा सहभागी भएपछि परिणामलाई स्वीकार गर्छौं ।’

अध्यक्ष मण्डलका अर्का सदस्य अनिल झाले भने बाढीबाट पीडित मधेसी जनतामाथि अर्को पीडा थपिएको प्रतिक्रिया दिए ।

फोरम नेता भन्छन्- ३ दलको स्वार्थ मिल्यो, अब चुनावले देखाउँछ

अर्को मधेस केन्द्रित दल संघीय समाजवादी फोरमले भने तीन दलको स्वार्थमा संशोधन निर्णयार्थ पेश भएको बताएको छ । शिवजी यादवले अनलाइनखबरसँग भने, ‘कांग्रेसलाई आफ्नो स्वार्थ सिद्ध हुन्छ भन्ने लाग्यो, अरु दलको पनि स्वास्र्थ मिल्यो ।’

हिजो संविधान संशोधन विधेयक ल्याउँदा संसद नै अवरुद्ध गर्ने प्रमुख विपक्षी एमालेले विपक्षमा मत दिएको बताउँदै उनले भने, ‘मधेसको मुद्दा कमजोर पार्न सकिन्छ भनेर यसो गरिएको हो । तर, मधेसमा यो मुद्दा अझ मुखरित भएर आउँछ । यो आगामी दिनको चुनावले देखाउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment