Comments Add Comment

रोकिएन चुरे विनास

पूर्वी तराई डुबानको खास कारण नै चुरे दोहन

फाइल तस्वीर

६ भदौ, झापा । गत २७ साउनदेखि परेको मुसलधारे वर्षापछिको बाढीका कारण पूर्वी तराईमा ९३ जनाको ज्यान गयो । तीमध्ये ३० जना झापा र मोरङका बासिन्दा थिए ।

हरेक वर्षायाममा बाढी र जनधनको क्षतिको मुल कारण चुरे क्षेत्रमा भइरहेको मानवीय अतिक्रमण रहेको वन तथा वातावरण संरक्षणको क्षेत्रमा काम गरिरहेकाहरुको भनाइ छ ।

‘पूर्वी तराईमा बाढीको खास कारण केलाउने हो भने चुरे क्षेत्रको विनास सामुन्नेमा आउँछ,’ जिल्ला वन कार्यालय मोरङका प्रमुख दिनेश देवकोटाले भने । चुरे विनासको लीलाबाट सरकारी अधिकारीहरु बेखबर नभए पनि यसको दीर्घकालीन समाधानका काम घनिभूत देखिँदैनन् । जब बाढी आउँछ, सबैको ध्यान उद्धार र राहतमा जान्छ । बाढी थामिनासाथ अर्को वर्षको सम्भावित विपत्ति रोक्ने कुनै तयारी सुरु हुँदैन ।

झापा र मोरङमा बग्ने अधिकांश खोलानालाको मुहान हो, चुरे । तीमध्येका केही ठूला नदी महाभारत शृंखलाबाट पनि बग्दै आएका छन् ।

खासगरी चुरे क्षेत्रलाई माथिल्लो भेगबाट उर्लिने बाढी नियन्त्रणको प्राकृतिक रोकावट मानिन्छ । रुख, बिरुवा मासिँदै जाँदा त्यस्तो रोकावट कमजोर बन्दै गएको छ ।

अति चरिचरनले माटो बर्सेनि खँदिलो बन्दै गएको छ, जसका कारण वर्षाको पानी सोसिन पाउँदैन । र, त्यो बाढीका रुपमा तल्लो भेगतिर बग्छ ।

बाढीसँगै बगेर आउँछन्, ढुंगा र बालुवा पनि । यत्रतत्र थुप्रिने र बाढीसँगै खेतबारी जम्ने ढुंगा र बालुवाले उत्पादकत्व घटाउँछ । पछिल्ला वर्षमा बस्ति बसेको र खेतीपाती हुने जमीनभन्दा खोलाको सतह अग्लो बन्दै गएको छ । बस्तिमा बाढीको वितण्डा हरेक वर्ष दोहोरिनुको कारण पनि त्यही हो ।

झापादेखि कञ्चनपुरसम्म पूर्व–पश्चिम फैलिएको छ, चुरे शृंखला । यसले नेपालको कुल क्षेत्रफलको १२ दशमलव आठ प्रतिशत हिस्सा ओगट्छ । झापामा चुरेको क्षेत्र ३४ दशमलव ८७ वर्गकिलोमिटरमा फैलिएको छ । मोरङमा कुल वन क्षेत्रको ३२ प्रतिशत क्षेत्र चुरेले ओगट्छ ।

यसरी हुँदैछ विनाश

चुरे विनासका केही कारण छन्, जसको समाधानमा सरकारी निकायको अग्रसरता कमजोर देखिन्छ ।

पहिलो हो, अतिक्रमण । व्यक्तिगत र संस्थागत रुपमै भइरहेको छ, चुरेमा अतिक्रमण । विद्यालय र संघसंस्थाका भवन चुरेकै क्षेत्र अतिक्रमण गरेर निर्माण गर्ने गरिएको छ ।

अर्को कारण हो, अनियन्त्रित कटान । इलामको झापासँग जोडिएको भूभागमा कुनै समय घना जंगल थियो । त्यस क्षेत्रका सालका रुख पर्यावरणीय सन्तुलनका मुख्य आधार थिए । तिनको अनियन्त्रित कटानसँगै झापा, इलाम सीमामा बाढी र भूक्षयको समस्या ह्वात्तै बढेको छ ।

तेस्रो कारण हो, अति चरिचरन । गाईवस्तुलाई जथाभावी खुला छोड्दा माटो खँदिलो बनिरहेको छ । र, पानी सोसिन छाडेको छ ।

चौथो कारण हो, डढेलो । जिल्ला वन मोरङका अनुसार जंगलमा लाग्ने आगोमध्ये ९५ प्रतिशत जानाजान सल्काइएको हुन्छ भने ५ प्रतिशत मात्र झुक्किएर लागेको हुन्छ ।

नयाँ घाँस पलाउने अन्धविश्वासका कारण जंगल आसपासका बासिन्दाले आगो झोस्छन् । वन्यजन्तुको चोरी सिकारी गर्नेले पनि आगो लगाउँछन् । डढेलो लगाउनेमध्ये केहीको स्वार्थ वन क्षेत्र अतिक्रमण गर्नु हुने गर्छ ।

पाँचौं कारण हो, बालुवा र ढुंगाको अनियन्त्रित दोहन र अवैध निकासी । सरकारले १ असारदेखि १ असोजसम्म देशभरका खोलानालाबाट नदीजन्य सामग्री उत्खननमा प्रतिबन्ध लगाएको छ । तर, उक्त अवैध धन्दा रोकिनुको साटो अझ मौलाउने क्रममा देखिन्छ ।

विज्ञहरुका अनुसार छोटो समयमा धेरै पानी पर्ने ‘ट्रेन्ड’ पछिल्ला वर्ष बढेको छ । त्यस्तो वर्षात्ले नाजुक भुगोलको चुरेमा भूक्षय निम्त्याउँछ ।

केही वर्ष अघिसम्म जताजतै जरुवाको पानी आउने गरेको सम्झना ताजै छ, झापा गाउँपालिका–६ का वडा सदस्य मोहन पोखरेलको मस्तिष्कमा । अहिले त्यस्ता मुहानको नामोनिशान छैन ।

१० वर्षअघि ट्युबवेल गाड्न खन्नु पर्ने जमिनको सतहको दोब्बरभन्दा बढी खन्दा मात्र अहिले पानी आउँछ । यसलाई चुरे क्षेत्रमा पानी सञ्चय नहुँदाको परिणाम मान्छन्, विज्ञहरु ।

झापाको जामुनखाडी सीमसार क्षेत्रमा कृत्रिम पोखरी बनाएर बाँध बाँधेर पानी सञ्चित गर्न थालिएको छ । जिल्ला वन झापाका प्रमुख बोधराज सुवेदी चुरेबाट बग्ने अन्य खोलानालामा पनि यो विधि अपनाउन सक्दा अहिलेको समस्यामाथि केही हदसम्म हल गर्न सकिने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
गौरव पोखरेल

ट्रेन्डिङ

Advertisment