Comments Add Comment

पाथीभरा मन्दिरका ४० लाख बराबरका सिक्का साटिँदै

६ भदौ, ताप्लेजुङ । प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरामा सटही हुन नसकी थुप्रिएका १६ टन सिक्का साटिने भएको छ । झापाको दमकस्थित कन्काई विकास बैंकले सिक्का साट्ने भएको हो ।

बैंकले साट्ने भएपछि सिक्का ताप्लेजुङबाट ट्रकमा राखेर पठाइएको पाथिभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्द्धन समितिले जनाएको छ ।

सिक्का पाथीभरा मन्दिरबाट भालुगौंडेसम्म बोकेर ल्याइएका सिक्का त्यहाँबाट साना सवारी साधनबाट फुङलिङको हेलिप्याडमा ल्याएर गोदाम राखिएको थियो ।

समिति र बैंकबीच छलफल भई धुने, टल्काउने र सफा सिक्का तौलको आधारमा हिसाब गर्ने सहमति भएको छ ।

एक रुपैयाँ सिक्काको तौल चार र दुई रुपैँयाको पाँच ग्राम हुन्छ । टल्कने ४ किलो सिक्काको एक हजार रुपैयाँ हुन्छ । गनिरहन झन्झट हुने भएकाले यसरी नै हिसाब निकाल्ने बैंकले जनाएको छ ।

जस अनुसार १६ टनको ४० लाख रुपैयाँ हुने समितिका कर्मचारी नविन निरौलाले बताए । पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सिक्का हालसम्म सटही भएको थिएन । केही हजार सिक्का सदरमुकामका पसलेले साटे पनि ठूलो परिमाणमा सिक्का त्यसै थन्किएको थियो ।

ताप्लेजुङमा रहेका बैकहरुमा आग्रह गर्दा समेत थन्किएको सिक्का नसाटिदा समितिलाई व्यवस्थापनमा समस्या भएको थियो ।
समितिका सहसचिव लक्ष्मी काफ्लेका अनुसार दशैं र चैते दशैंका बेलामा दैनिक १४ पाथिसम्म पाथीभरामा सिक्का जम्मा हुन्छ । एक पाथीमा २२ किलो हुन्छ ।

गाडीमा सिक्का लोड गर्दै नेपाली सेना ।

दर्शनार्थीको भिड हुने बेलामा दैनिक दुई क्विन्टल भन्दा बढी सिक्का जम्मा हुने काफ्लेको भनाइ छ । मौसम राम्रो हुँदा रामनवमी पर्वको समय फागुनदेखि वैशाख र दशैंको बेला असोजदेखि कात्तिकभर धेरै भिड लाग्छ । अधिकांश तीर्थयात्रीले सिक्का लिएर जाने र भालुगौंडेदेखि नै चढाउने गर्छन् ।

मन्दिरमा सिक्का चढाउने बढे

पछिल्ला वर्ष बोका पाठापाठी नलैजाने र पाथी पैसा लगेर चढाउनेको संख्या बढेको छ । पाथीभरामा पाथीले भरेर चढाए मनको इच्छा पूरा हुने विश्वासले तीर्थयात्रीहरूले सिक्का चढाउन थालेका हुन् ।

सिक्का ढुवानी तथा लोड गर्न नेपाली सेनाको नयाँ रणभीम गुल्मले जनशक्ति उपलब्ध गराएको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment