Comments Add Comment

राणा पक्षका १८ सांसदलाई कारबाही गर्ने राप्रपाको निर्णय

६ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी हृविप उल्लंघन गर्ने सांसदलाई कारबाही गर्ने निर्णय गरेको छ । राप्रपाले सर्वोच्च अदालतको आदेशविरुद्ध कानुनी उपचार खोज्ने निर्णयसमेत गरेको छ ।

पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न मंगलबार राप्रपाका पदाधिकारी तथा सांसदहरुको संयुक्त बैठक बसेको थियो । बैठकले संसदमा सोमबार संविधान संशोधनको प्रक्रियामा सहभागी नभएका १८ सांसदलाई कारबाही गर्ने निर्णय गरेको छ । ति सांसदहरुले पार्टी हित विपरीत काम गरेकाले कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

बैठकमा प्रमुख सचेतक कुन्तीकुमारी शाहीले संविधान संशोधनको विपक्षमा मतदान गर्न सम्पूर्ण सांसदलाई पार्टी हृविप जारी गरिएकामा अनुपस्थित रहेका सांसदबारे जानकारी गराएकी थिइन् ।

संसद बैठकमा दीपक बोहोरा, विक्रम पाण्डे, सुनिल थापा, बिराज बिष्ट, रेशम लामा, विक्रम थापा, सइन्द्र बान्तवा, कमला शर्मा र भानु महरा अनुपस्थित रहे । यस्तै रामकुमार सुब्बा, बबिना मोक्तान, सीता लुईटेल, राज्यलक्ष्मी श्रेष्ठ, लक्ष्मी थापा पासवान, सरोज शर्मा, आनन्दी पन्त, इस्तियाक अहमद खान र गीता सिंहले बैठकमा आएनन् । उनीहरु राप्रपाबाट अलग भएर राप्रपा प्रजातान्त्रिक गठनको प्रयत्न गरेका नेता पशुपतिशम्शेर जबराको पक्षमा छन् ।

साथै राप्रपाले सर्वोच्च अदालतले राप्रपा प्रजातान्त्रिकको दल दर्ता गर्न निर्वाचन आयोगलाई दिएको आदेशविरुद्ध कानुन व्यवसायीसँग परामर्श गरेर कानुनी उपचार खोज्ने निर्णय पनि गरेको प्रवक्ता पाठकले जानकारी दिए ।

न्यायाधीश तेजबहादुर केसीको इजलासले सोमबार राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्यहरुको हस्ताक्षर सनाखत प्रक्रिया रोक्न र दल दर्ता प्रक्रिया अघि बढाउन अन्तरिम आदेश दिएको थियो ।

राप्रपाले चाँडै काठमाडौं उपत्यकास्तरीय कार्यकर्ता भेला गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment