Comments Add Comment

नयाँ शक्तिका नेतालाई स्वागत गर्दै प्रचण्डले भने- कांग्रेस, एमाले ‘आउट’

'हाम्रा दाह्रा, नंग्रा सबै भाँचिए, सबै माओवादीहरु मिलौं'

६ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ शक्ति र नेकपाका नेताहरुलाई पार्टीमा स्वागत गर्दै अब कुनै पनि तागतले माओवादीलाई हराउन नसक्ने बताएका छन् । प्रचण्डले माओवादी धाराका सम्पूर्ण क्रान्तिकारी घटकहरुलाई एक हुन अपिलसमेत गरे ।

नयाँशक्तिबाट विद्रोह गरेका देवेन्द्र पौडेल नेतृत्वको समूह र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका पदम खड्का ‘जीवन’को समूहलाई प्रचण्डले मंगलबार पार्टीमा स्वागत गरे । कार्यकर्ताहरुले खचाखच भरिएको कोटेश्वरको एक पार्टी प्यालेसमा नवप्रवेशी नेताहरुलाई स्वागत गर्दै प्रचण्डले भने, ‘पार्टी पुनर्निर्माणको अभियान सुरु भयो, तपाईंहरु आउँदै हुनुहुन्छ, अझै आउँदै हुनुहुन्छ, हजारौं आउँदै हुनुहुन्छ । कांग्रेस, एमाले जस्ता रुढिवादी दक्षिणपन्थीहरु आउट । उनीहरु आउट ।’

माओवादी धाराका पार्टी र समूहहरु एकढिक्का भएमा कुनै पनि शक्तिले माओवादीलाई हराउन नसक्ने प्रचण्डको विश्वास छ । ‘हामी एकपटक एक भएर जाग्यौं भने कसैको केही लाग्दैन । त्यसका लागि आउनुस् अझै अभियान चलायौं,’ उनले भने ।

विगतमा माओवादी सबैभन्दा ठूलो पार्टी हुँदा अहंकार र दम्भ बढेको प्रसंग कोट्याउँदै प्रचण्डले त्यसैको परिणाम माओवादी पार्टी बिभाजित भएको बताए । तर अब त्यसबाट पाठ सिकेको प्रचण्डले बताए । माओवादी आन्दोलनबाट प्राप्त उपलब्धी संस्थागत गर्नुपर्ने चुनौति रहेकाले फेरि ध्रुविकरण र एकता अभियान सुरु गरेको प्रचण्डको भनाइ छ ।

‘हामी भुक्त भोगी भएर आएका छौं । हण्डर ठक्कर खाएर यो देशको आवश्यकता के हो र यथार्थ के हो भन्ने थाहा पाएर एकीकृत भएका छौं,’ प्रचण्डले भने, ‘हिजो ठूलठूलो अहंकार र दम्भ हामी सबैमा थियो । हाम्रा दाह्रा, नंग्रा, सिंग, जुरा सबै भाँचिएका छन् । हामी कसैले अब घमण्ड गर्नुपर्ने केही पनि छैन । अब हामी सबै मिलौं ।’

‘एउटा प्रचण्ड हुँदाहुँदै फेरि अर्को प्रचण्ड हुँदैन’

माओवादी अध्यक्ष प्रचण्डले बाबुराम मोहन वैद्य किरण, बाबुराम भट्टराई र विप्लवलाई पनि माओवादी एकतामा आउन अपिल गरे । उनीहरु माओवादी केन्द्रमै फर्कनुको विकल्प नभएको प्रचण्डले बताए । उनले प्रचण्ड जस्तै बन्ने सपना नदेख्न विप्लवलाई चेतावनी समेत दिए ।

उनले भने, ‘वैद्य जी सिद्धान्त बचाउँछु भन्नुहुन्थ्यो । बाबुराम जीले आफूलाई केजरीवाल बनेर देखाउँछु भनेर जानुभो, विप्लव जी अर्को प्रचण्ड बन्ने भनेर हिँड्नु भएको हो । एउटा प्रचण्ड हुँदाहुँदै फेरि अर्को प्रचण्ड हुँदैन । कसैले चाहेर प्रचण्ड हुने कुरा होइन ।’

प्रचण्डले केन्द्रमा भएको एकता र ध्रुवीकरणलाई तल्ला तहका कार्यकर्तासम्म लैजानुपर्ने बताए । त्यसो भएमा माओवादी पहिलो पार्टी बन्ने उनको दाबी छ । देवेन्द्र पौडेल लगायत पूर्वमाओवादीहरुतर्फ संकेत गर्दै प्रचण्डले भने, ‘तपाईंहरु बाहिरिएपछि हामीलाई भएको क्षति ८-१० लाख जनमत हो । अहिले पनि हामीसँग १४ लाख जनमत छ । हामी एकताबद्ध हुँदा १५ लाख जनमत हाम्रो भयो । अब १० लाख मात्र बढाइदियौं भने कांग्रेस र एमाले घट्छन् । त्यो बिलकुल सम्भावना भित्र छ । जनतासँग हामी जोडिन गयौं भने त्यो बुलकुल सम्भव छ । मैले चाहिँ छ्यांगै देखेको छु त्यो सम्भावना ।’

‘हाम्रो एकता सिमेन्टेड, अब भत्किँदैन’

माओवादी अध्यक्ष प्रचण्डले माओवादी केन्द्रमा फर्किएकाहरुसँगको एकता अब सुदृढ हुने र कहिल्लै नभत्किने बताए । केही समयभित्र एकीकरण र ध्रुवीकरणको प्रक्रियाले पूर्णता पाउने र माओवादी आन्दोलन फेरि देशको शक्तिशाली आन्दोलन बन्ने उनको दाबी छ ।

‘दुश्मनको एम्बुसमा परेर घाइते भएका हामी फेरि उपचार गर्दै केन्द्रिकृत भएका छौं । अब यो भत्किँदैन । यो सिमेन्टेड ढंगले अगाडि बढ्छ,’ प्रचण्डले भने, ‘हामीले त्यसो गर्नैपर्छ ।’

उनले माओवादी केन्द्रमा फेरि लहर सुरु भएको भन्दै खुसी व्यक्त गरे । आफूले सरकारमा रहँदा र सरकार बाहिर रहँदा मधेसी जनताको भावना सम्बोधनका लागि खेलेको भूमिकाले माओवादी केन्द्रप्रति सकारात्मक वातावरण बनेको प्रचण्डको भनाइ छ ।

मधेस केन्दि्रत दलका शीर्ष नेताहरु पनि माओवादी केन्द्रमा फर्किन चाहेको भन्दै प्रचण्डले आगामी चुनावबाट माओवादी मधेसमा एक नम्बर बन्ने दाबी गरे । मधेसका एक नम्बर भए राष्ट्रिय रुपमै माओवादी एक नम्बर बन्ने प्रचण्डको दाबी छ ।

‘अहिले खुसीको कुरा के छ भने मधेसमा एउटा लहर फेरि माओवादीको पक्षमा आउँदैछ । मधेसमा निकै ठूलो जनस्तरमा ध्रुवीकरण हुँदैछ । राजपाभित्र भएका देशभक्त, इमान्दार ठुलठूलै नेताहरुले नै अब मधेसवादी पार्टीमा लागेर हाम्रो भविष्य छैन । मधेसी जनताको मुक्तिको एकमात्र आधार माओवादी हो । हामी माओवादीमा आउँछौं भन्नु भएको छ । उहाँहरुले हजारौंको संख्यामा त्यो तयारी गर्नुभएको छ र त्यसका लागि म मधेस जाँदैछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment