Comments Add Comment

सप्तरीमा एनआरएनले थाल्यो राहत बितरण, पहिलो दिन ६ सय परिवारले पाए

राति १० बजेसम्म राहत बाँडियो, बाटो बनाउँदै गाउँ पुग्यो एनआरएनए

६ भदौ, राजबिराज । गैरआवासीय नेपाली संघले सप्तरी जिल्लाको बोदेबर्साइन नगरपालिकाका बाढीपीडितलाई राहत बितरण गरेको छ ।

संघले नगरपालिकाका झण्डै एक हजार पाँच सय परिवारलाई त्रिपाल, झुल र खाद्यसामाग्री बितरण सुरु गरेको छ । मंगलबार साँझ अबेरबाट सुरु भएको राहत बितरण बुधबारसम्म चल्ने छ ।

आइतबार राती साढे ८ बजेसम्म झण्डै ६ सय परिवारले राहत पाएका छन् । राति १० बजेसम्म राहत बितरण गरी बाँकीलाई बुधबार बिहानैदेखि पुनः बितरण थालिने गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले जानकारी दिए ।

संघले एक परिवारलाई एउटा त्रिपाल, झुल, २५ किलो चामल, दुई किलो दाल, नुन, चिनी र तेल लगायतका सामाग्री रहेको राहत प्याकेज बितरण गरेको छ । प्रति प्याकेज झण्डै ६ हजार रुपैयाँ खर्च भएको गैरआवासीय नेपाली संघले जानकारी दिएको छ ।

राहत बितरणका लागि गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, उपाध्यक्ष कुमार पन्त, आईसीसी सदस्य जमुना गुरुङ लगायतको टोली सप्तरीमा आएको छ । सप्तरीको अर्को प्रभावित क्षेत्र औरहीमा एनआरएनले बुधबार झण्डै २ हजार परिवारलाई राहत बितरण गर्ने तयारी गरिरहेको छ । ‘हामीले जे सोचेका थियौं त्योभन्दा निकै दयनिय अबस्था रहेछ’ संघका अध्यक्ष घलेले भने-हजारौं मानिस घण्टौं हिडेर राहतका लागि दिउँसैदेखि पर्खेर बस्नुभएको रहेछ, उहाँहरुको अबस्था देखेर हामी भावुक भयौं ।’

अध्यक्ष घलेले बाढीबाट प्रभावितहरुका लागि केही दिनका लागि भए पनि राहत दिन सकेकोमा सन्तोष ब्यक्त गर्दै रकम संकलनमा सहभागी हुने सवै गैरआवासीय नेपालीहरुलाई धन्यबाद दिए । ‘तपाईहरुले संकलन गरेको रकम एकदमै दुःखमा रहेका दाजुभाई दिदीबहिनीको हातसम्मै पुर्‍याएका छौं’ अध्यक्ष घलेले भने ।

राति अबेरसम्म लाइन बसेर राहत थाप्न पाएका सप्तरीबासीले पहिलोचोटी राहत पाएको भन्दै एनआरएनलाई धन्यबाद दिए । बाढीले घर बगाएर बिस्थापित भएका उनीहरुले अब गैरआवासीय नेपाली संघले दिएको त्रिपालमा रात बिताउनेछन् ।

बाढीको प्रकोप सुरु भएसँगै गैरआवासीय नेपाली संघले आपतकालिन राहत कोष स्थापना गरी रकम संकलन अभियान सुरु गरेको थियो । सो कोषमा अध्यक्ष घले र उनकी पत्नी जमुना गुरुङले एक करोड रुपैयाँ दान गरेका थिए ।

झण्डै दुई करोड रुपैयाँ संकलन गरी करिव पाँच हजार परिवारलाई राहत बितरण गर्ने लक्ष्यसहित एनआरएन टोली यतिबेला सप्तरीमा आएको हो ।

संघले मंगलबार बिहानैदेखि राहत बितरणको तयारी गरेको भए पनि बाढीग्रस्त ग्रामिण क्षेत्रमा बाटो बिगि्रएका कारण समयमै ती गाउँमा टोली पुग्न सकेन । औरहीसम्म पुग्ने बाटो बन्न नसकेपछि मंगलबार औरहीमा बितरण हुन सकेन । बोदेबर्साइनमा साँझ ७ बजेबाट राहत बितरण सुरु भएको थियो ।

एनआरएनएले स्वास्थ्य शिविर पनि सुरु गरेको छ । बिराटनगरबाट डाक्टर र नर्सहरुको टोली लगेर स्वास्थ्य शिविर सुरु गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment