Comments Add Comment

निर्वाचित क्यानको पक्षमा विधान संशोधन, क्रिकेट संघले १०५ दिनमा नयाँ नेतृत्व पाउने

६ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघको विशेष साधारण सभाले सल्लाहकार समूहमा विवादित विषयमा निर्वाचित क्यानको अडान अनुसार नै विधान संशोधन गरेको छ । जसअनुसार निर्वाचित क्यानको १७ केन्द्रीय सदस्यले चुनावी साधारणसभामा स्वतः उम्मेदवार हुन पाउने छन् ।

सल्लाहकार समूहले तयार पारेको संशोधित विधान अनुमोदनका लागि विशेष साधरणसभा बोलाइएको थियो । साधारणसभाले सल्लाहकार समूहमा विवादित रहेको मुद्धामा निर्वाचित क्यानको पक्षमा निर्णय लिएको छ ।

सल्लाहकार समूहमा गएका निर्वाचित क्यानका प्रतिनिधिले नयाँ विधान लागू भएपछि चुनावका लागि हुने सधारणसभामा केन्द्रीय समिति सदस्य स्वत सहभागी र उम्मेदवार हुन पाउनु पर्ने अडान राखेको थियो । निर्वाचित क्यान भोटिङ राइट छाड्न र ३१ को सट्टा १७ जना मात्र सहभागी हुन पनि तयार भयो । तर, अन्य सदस्यले मानेनन् ।

यो विषयमा दुबै पक्षले आ-आफ्नो मत राख्दै आईसीसीलाई रिपोर्ट बुझाएका थिए ।

आईसीसीका प्रतिनिधिको उपस्थितिमा भएको छलफलले पनि सहमति जुटाउन सकेन र आईसीसीले एक महिनाभित्र विधान अनुमोदन गर्न भन्यो ।

त्यस अनुसार निर्वाचित क्यानले साधारण सभा बोलाएको थियो, जसले निर्वाचित क्यानका १७ सदस्य चुनावी अधिवेशनमा स्वतः सहभागी हुन र उम्मेदवार बन्न पाउने गरी विधान संशोधन गरेको महासचिव अशोकनाथ प्याकुरलले बताए ।

उनका अनुसार सरकार र राष्ट्रिय खेलकुद परिषदबाट ७ जना पनि साधारणसभा जाने व्यवस्था गरिएको छ । राखेपले यो संख्या १० प्रस्ताव गरेको थियो ।

यस्तै संक्रमणकाललाई छोट्याइएको छ । अब विधान लागू भएको १०५ दिनमा नेपाल क्रिकेट संघले नयाँ नेतृत्व पाउनेछ ।

४५ दिनभत्र जिल्ला, त्यसको ३० दिनभित्र प्रदेशको अधिवेशन भइसक्नु पर्नेछ । प्रदेश अधिवेशन भएको ३० दिनमा केन्द्रीय साधारण सभा हुनेछ ।

यस्तै अध्यक्ष र महासचिवको उम्मेदवारका लागि तोकिएको शैक्षिक योग्यता हटाएको छ । साथै सदस्यता शुल्क तीन हजारलाई १५ सयमा झार्ने निर्णय गरेको छ ।

विशेष साधारणसभाले अनुमोदन गरेको विधान राखेपमा पेश हुने महासचिव प्याकुरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment