Comments Add Comment

जाजरकोटमा थपिए पाँच हजार बढी मतदाता

७ भदौ, जाजरकोट । जाजरकोटमा पाँचहजार भन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले भदौ ३ गतेसम्मको मितिमा संकलन गरेको तथ्याँकअनुसार जिल्लामा पाँच हजार ३९४ मतदाता थपिएका हुन् ।

यसमध्ये तीन हजार ७६ महिला र दुई हजार ३१८ पुरुष मतदाता थपिएको कार्यालयले जनाएको छ । प्रदेश तथा संघीय संसद्को चुनावलाई मध्यनजर गरी निर्वाचन आयोगको निर्णयअनुसार जिल्ला निर्वाचन कार्यालयले साउन १ गतेदेखि भदौ ३ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन गरेको छ ।

कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी भेरी नगरपालिकामा दुई हजार ४४२ मतदाता थपिएका छन् भने सबैभन्दा कम जुनीचाँदे गाउँपालिकामा २०० मात्र मतदाता थपिएका छन् ।

त्यस्तै, नलगाड नगरपालिकामा ८९६, छेडागाड नगरपालिकामा ६७३, कुसे गाउँपालिकामा २५२, वारेकोट गाउँपालिकामा ३१८ र शिवालय गाउँपालिकामा ६१३ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा यसअघि स्थानीय तहको निर्वाचनका बेला जिल्लाको कुल मतदाता ८० हजार दुई भएपनि १८ वर्ष उमेर पुगेका मतदाता ७८ हजार ९५४ थिए, जसमध्ये ४२ हजार ४१० पुरुष र ३६ हजार ५४३ महिला तथा एकजना तेस्रो लिंगी रहेको कार्यालयले जनाएको छ ।

वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनमा जिल्लाका ६१ हजार ९२८ मतदाताले भाग लिएका थिए । नयाँ विवरणअनुसार जिल्लाको कुल मतदाता ८५ हजार ३९६ पुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिबहादुर बुढाथोकीले बताए । उनले जिल्लाका सातवटै स्थानीय तहमा संकलन केन्द्र स्थापना गरेर मतदाता नामावली संकलन गरिएको बताए ।

नागरिकताको अभाव र विदेशमा रोजगारीका लागि स्थानीय गएका कारण अझै धेरै मतदाताको नामावली संकलन हुन नसकेको उनले बताए । उनका अनुसार जिल्लामा अझै २० प्रतिशत योग्य नागरिकको मतदाता नामावलीमा नाम दर्ता हुन बाँकी रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment