Comments Add Comment

एमालेले २ नम्बर प्रदेशमा सबै शक्ति परिचालन गर्ने

७ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार बिहान बसेको स्थायी कमिटी बैठकले असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीका अनुसार आगामी मंसीर १० गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गर्दै त्यसलाई सफल पार्न पनि सिंगो पार्टीलाई परिचालन गरिने छ ।

एमालेले प्रदेश नम्बर २ मा पनि पार्टीलाई पहिलो शक्ति बनाउने दावी गर्दै आएको छ ।

एमालेले निर्वाचनमा सहभागी हुन राष्ट्रिय जनता पार्टी नेपाललाई पुनः आहृवान पनि गरेको छ । लोकतन्त्रको सुदृढिकरणका लागि पनि राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागी हुन पुनः आहृवान गर्नु परेको सचिव ज्ञवालीले बताए ।

एमालेले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आगामी शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ । दल दर्ताका लागि पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई अख्तियारी दिइएको सचिव ज्ञवालीले जानकारी दिए ।

निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि आगामी आइतबारसम्म दल दर्ता गरिसक्न आहृवान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment