Comments Add Comment

प्रधानमन्त्री देउवा र मोदीको ‘वान टु वान’ वार्ता ३० मिनेट !


७ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्रबीच ३० मिनेट ‘वान टु वान’ वार्ता हुने भएको छ ।

प्रधानमन्त्री देउवा भारतको पाँच दिने राजकीय भ्रमणका क्रममा बुधबार नयाँदिल्ली पुगेका छन् । उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छन् ।

देउवा राष्ट्रपति भवनमा विशेष पाहुनाको रुपमा बसेका छन् । नेपाल र भारतका प्रधानमन्त्रीबीच भोलि हैदरावाद हाउसमा भेटवार्ता हुनेछ । नेपाली समय अनुसार देउवा ११ः४५ मा हैदरावाद हाउसमा पुग्नेछन् । त्यहाँ ३० मिनेट नेपाल र भारतका प्रधानमन्त्रीबीच ‘वान टु वान’ कुराकानी हुनेछ । देउवा र मोदीबीचको गोप्य वार्तामा अरु कोही पनि सहभागी हुन पाउने छैन ।

त्यसअघि नै बुधबारै मोदीले चिया भेटका लागि बोलाएर देउवालार्इ ‘सरप्राइज’ दिएका छन् । यो भेट बिहीबार हुने भेटको ‘वार्मअप’ भेट भएको नेपालका लागि भारतीय राजदूत दीपकुमार उपाध्यायले अनलाइनखबरलार्इ जानकारी दिए ।

लगतै दुई देशको टोलीबीच छलफल हुनेछ । यो एक घन्टाको कुराकानीपछि दुई देशबीच केही सहमतिमा हस्ताक्षर हुनेछ र संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम पनि राखिएको छ ।

भोलि नै विदेशमन्त्री स्वराज, गृहमन्त्री राजनाथ सिंह, वित्तमन्त्री अरुण जेट्लीले प्रधानमन्त्री देउवालाई भेट्नेछन् ।

प्रधानमन्त्री देउवाले भोलि अपराहृन भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

साथै कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धी र पूर्वप्रधानमन्त्री मनमोहन सिंहले पनि प्रधानमन्त्री देउवालाई भेट्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment