Comments Add Comment

बाढी पहिरोको प्रभाव तीजको सुन बजारमा पनि !


७ भदौ, काठमाडौं । हिन्दू महिलाहरुको तीज पर्वमा काठमाडौंका सुन पसलहरुमा भीड लागेको छ । तीजमा नयाँ गहाना किनेर लगाउने उपभोक्ताको भिड लागेको हो ।  ब्यवसायी भने तीजअघि देशभर आएको बाढीपहिरोले सुन बजार प्रभावित भएको बताउँछन् ।

काठमाडौंका सुन पसलहरुले अहिले तीजका लागि धमाधम सुनचाँदीका गहानाको डेलिभरी दिइरहेका छन । उपत्यकामा यो वर्ष सुनको ठूलो अभाव छैन ।

तराईसहित पहाडी क्षेत्र पनि बाढी र पहिरोको चपेटामा परेकाले मोफसलमा सुनको माग यो वर्ष झनै घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघका उपाध्यक्ष मानिक रत्न शाक्यले अनलाइनखबरलाई जानकारी दिए ।

‘यो वर्ष काठमाडौंमा पनि उत्साहजनक ब्यापार छैन । तर, उपत्यकाबाहिर त झनै ब्यापार प्रभावित भएको छ’ शाक्यले भने ।

महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य भने तीजको समयमा ५० केजीसम्म सुनको कारोबार हुनुपर्नेमा ३५ केजीमा सीमित भएको बताउँछन् ।

नेपालको पूर्वी क्षेत्रमा समान्य अवस्थाको २५ प्रतिशत मात्रै सुन कारोबार भइरकेको उनले बताए ।


‘भूकम्प र नाकाबन्दीपछि सुन बजारलाई बाढी पहिरोले प्रभावित गर्‍यो,’ शाक्यले भने,’सुन बजार लगातार डोमिनेट भइरह्यो ।’

यो वर्ष काठमाडौंमा सुनको ब्यापार गतवर्षमा जस्तो पनि नभएको ब्यववसायी बताउँछन् । बाढी र पहिरोका कारण तराई क्षेत्र प्रभावित भएकाले उपत्यकाबाहिर सुनको कारोबार न्युन हुनु स्वभाविक  भएको महासचिव शाक्यले बताए ।

राष्ट्रबैंकले अहिले दैनिक २० किलो सुन ब्यवसायीका लागि बेच्छ । तर, सुनको माग र आपूर्तिलाई समान्य बनाउन अझै १५ किलो कोटा बढाउनुपर्ने महासंघको ठहर छ ।

आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ५४ हजार ४ सय रुपैयाँ छ भने तेजावी सुनको मूल्य प्रतितोला ५५ हजार १ सय रुपैयाँ छ । चाँदीको मूल्य प्रतितोला ७५० रुपैयाँ कायम भएको छ ।

कसरी आयात र विक्री हुन्छ सुन ?


नेपाल राष्ट्र बैंकले सुन आयातको जिम्मा वाणिज्य बैंकहरुलाई दिएको छ । बाणिज्य बैंकहरुले सुन किनेर ल्याएपछि विभिन्न संघहरुलाई निश्चित प्रतिशत भाग लगाएर विक्री गर्नुपर्छ ।

आयात भएको सुनको ५० प्रतिशत नेपाल सुनचाँदी व्यवसायी महासंघको भागमा जान्छ भने ३० प्रतिशत सुन नेपाल रत्न तथा आभुषण संघ काठमाडौंले लिन्छ । यस्तै हस्तकला महासंघ र कला व्यवसायी महासंघले १०/१० प्रतिशत सुन पाउँछन् ।

व्यवसायीले आफ्ना छाता संगठनको सिफारिस लिएर बैंकसँग सुन किन्न पाउँछन । यदी बैंकले आयात गरेको १५ दिनसम्म पनि सुन विक्री नभएमा महासंघको सिफरिस बिना सिधै व्यापारीलाई सुन विक्री गर्न सक्छ ।

तस्करीका सुन पनि बजारमा
बजारमा बैंकमार्फत आएका सुन मात्रै छैनन । विभिन्न मुलुकबाट फर्किएका कामदारले गहनाका रुपमा ल्याएका सुन पनि बजारमा आउँछन् । सरकारले विदेशबाट फर्किएका कामदारले ५० ग्रामसम्म गहना ल्याउन सक्ने व्यवस्था गरेको छ ।


अहिले काँचो सुन नआएपनि बाला लगायतका गहना बनाएर सुन विमानस्थलबाटै भित्र्याउने क्रम रोकिएको छैन । कतिपय तस्करहरुले विदेशबाट फर्किने कामदारलाई त्यस्ता सुनका गहना बोकाएर पठाइरहेका छन् ।

यससँगै विभिन्न नाका हुँदै अवैधानिक रुपमा भित्रिने सुन पनि ठूला व्यवसायीले प्रयोग गरिरहेका छन् । भन्सार नतरी चीनबाट भित्रिएका सुन सहित बेला-बेलामा तस्करहरु पक्राउ पर्नुले यसलाई पुष्टी गरेको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment