Comments Add Comment

चर्पी सफा गनुपर्ने डरले विदेश नगएका बोहोरा गाउँमै कृषि गरेर मालामाल

७ भदौ, डडेल्धुरा । अमरगढी नगरपालिका-३ का महेशराज बोहराले ५ वर्ष अघि विदेश जाने योजना बनाए । पासपोर्ट पनि बनाए ।

बोहराले काठमाडौंमा धेरै म्यानपावर कम्पनीहरुमा धाए । बल्ल तल्ल एउटा म्यानपावरबाट विदेश जाने कुरा निश्चि भयो । विदेश जान तयार भए । तर, उनलाई कसैले विदेशमा शौचालय पनि सफा गर्नुपर्छ भनेर सुनाइदियो । अब उनको विदेश गएर पैसा कमाउछु भन्ने सोचमा परिवर्तन भयो ।

‘विदेशमा गएर शौचालय सफा गर्नु भन्दा आफ्नै माटो केही गर्ने अठोट गरे’ बोहोराले भने ‘त्यस पछि डडेल्धुरा फर्किए, र आफ्नै देशमा केही गरेर बस्ने सोच बनाए’ ।

३४ वर्षीय बोहोराले अहिले आफ्नै गाउँमा व्यवसायिक रुपमा कृषि पेसाबाट मनग्य आम्दानी गरेका छन् ।

उनले यो व्यवसाय सुरु गरेकेा पाँच वर्ष भयो । डडेल्धुरा सदरमुकाम बागबजार भन्दा ३ किलोमिटर टाढा रहेको चम्सालमा बोहराले अहिले व्यवसायिक रुपमा कृषि व्यवसायि गरेका छन् ।

काठमाडौंबाट फर्किसकेपछि २०६९ सालदेखि उनले व्यपसायिक रुपमा कृषि गर्न थालेका हुन् ।

बोहोराले कृषि विकास बैंकबाट पाँच लाख ऋण लिएर कुखुरा पालन सुरु गरे । त्यसपछि बोहराले बिस्तारै तरकारी खेति सुरु गरे । अहिले उनले माछापालन व्यवसाय समेत सुरु गरेका छन् ।

विदेश भन्दा धेरै आम्दानी

उनले अहिले ८ रोपनी जमिन भाडामा लिएर माछापालन, कुखुरापालन र तरकारी खेती गरेका छन् । ‘आफ्नै माटोमा केही गरेर बस्छु भन्ने सोचका साथ कृषिमा लागेको हुँ,’ उनले भने, ‘कुखुरा, माछा र तरकारी विक्री गरेर एक वर्षमा पाँचलाख भन्दाबढी आम्दानी गर्दछु ।’

तीन रोपनी जमिनमा दुई पोलीहाउस भित्र काउली, टमाटर, गोलभेडा, भान्टा, सिमला खुर्सानी, काँक्रा आलु लगायतका तरकारी लगाएको बोहराले बताए ।

तरकारी र कुखुरा विक्रिका लागि बजार धाउनु परेपनि माछा विक्रि गर्न आफूहरुले बजार जानु नपर्ने बोहराले बताए ।

तीन ओटा खोरमा पालेका कुखुराहरु सुदूरपश्चिमका पहाडी जिल्लाहरु डडेल्धुरा लगायत डोटी, बैतडी, अछाम र बझाङमा समेत बेच्ने गरेको उनले बताए ।

अहिले उनको माछा पोखरी नजिकैै माछा किन्नेको भिड लाग्ने गरेको छ । विदेश गएका साथीहरु भन्दा आफ्नो आम्दानी गज्जवको भएको भन्दै बोहरा आफ्नो व्यवसायबाट सन्तुष्ट भएको बताउँछन् ।

५ वर्ष पहिले विदेश जाने तयारी गरेका बोहरा सोचे जस्तो काम नपाइने भएपछि आफ्नै देशमा काम गरे मनग्ये आम्दानी गर्न सकिन्छ भनी आफ्नै तीन रोपनी जमिनमा माछा पालन, कुखरा पालन र तरकारी खेती सुरु गरेका छन् ।

बोहोराले आफ्नो घरपरिवार लगायत अन्य दुई जनालाई रोजगारी समेत दिएका छन् ।

जिल्ला कृषिको सहयोग

बोहोरालाई व्यवसाय सन्चालन गर्न जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले प्लाष्टिक घर, विउँ बेर्ना तथा माछामा लाग्ने रोगहरुको विषय जानकारी दिने लगायतका विषयमा प्राविधिक सहयोग गरेको छ ।

यस्तै कृषि विकास बैंकले सुलभ व्याजमा ऋण उपलब्ध गराएको उनले बताए ।

आफूले विदेश नगएर गाउँमै कृषि व्यवसाय गर्दा आम्दानी हुन थालेपछि बोहोराले विदेश जानुभन्दा आफ्नै देशमा पसिना बगाए धेरै आम्दानी गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment