Comments Add Comment

भत्किएका सडक र पुल छिटो बनाउन निर्वाचन आयोगको आग्रह

७ भदौ, काठमाडौं । निर्वाचन आयोगले बाढी तथा डुबानका कारण भत्किएका सडक तत्काल बनाउन सरकारलाई आग्रह गरेको छ ।

कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदार, गृहमन्त्री जनार्दन शर्मा र मुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीसँग बुधबार भएको भेटमा आयोग पदाधिकारीहरुले प्रदेश २ का कतिपय जिल्लामा बाढी र डुबानका कारण मतदान केन्द्रसम्म पुग्ने सडक तथा पुलहरूमा क्षति पुगेको भन्दै तत्काल मर्मत गर्न आग्रह गरेका थिए ।

यथाशीघ्र सवारी सञ्चालनमा आउने गरी निर्माणको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

‘सडक यातायात सुचारू नहुने हो भने मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न, मतदान केन्द्रमा जान आउन तथा निर्वाचन सामग्री ढुवानी गर्न कठिनाई हुने र मतदातालाई मतदान केन्द्रमा पुग्न पनि समस्या हुने भएकाले तुरुन्तै सडक तथा पुल मर्मतका लागि प्रमुख आयुक्त तथा आयुक्तले आग्रह गर्नुभयो,’ प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा लेखिएको छ । साथै आयोग पदाधिकारीहरुले नेपाली सेनाको सहयोग लिएर भए पनि भत्किएका सडक, पुल बनाउनु पर्नेमा जोड दिएका थिए ।

भेटमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, आयुक्त इश्वरी प्रयाद पौड्याल, आयोगका निमित्त सचिव दीपक सुवेदी लगायत सहभागी थिए ।

उनीहरुले १० मंसिर ०७४ कालागि तोकिएको निर्वाचन सम्पन्न गराउन आवश्यक पर्ने प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन छिटो भन्दा छिटो आयोगले पाउनु पर्नेमा जोड दिएका थिए ।

सो अवसरमा उपप्रधानमन्त्री गच्छदारले स्थानीय पुल तथा सडक सुचारू गर्नका लागि बिहीबार नै सरोकारवालाको बैठक बोलाएर अवरुद्ध सडकहरू केही दिनभित्रै सञ्चालनमा ल्याउन सम्बद्ध निकायलाई निर्देशन दिने बताए ।

साथै, उनले दुबै निर्वाचनका लागि आवश्यक पर्ने ऐन र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन आयोगलाई अविलम्व उपलब्ध गराउन सरकारले प्रयास थालिसकेको जानकारी आयोगलाई गराएका थिए ।

गच्छदारको भेटपछि गृहमन्त्री जनार्दन शर्मा आयोग कार्यालयमा छलफलका लागि पुगेका थिए । त्यसलगत्तै मन्त्री शर्माले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि भेटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment