Comments Add Comment

पूर्वमा एसपीसहित ४२६ प्रहरी कार्वाहीमा


७ साउन, सुनसरी । प्रहरीको आचरण र संगठन विपरीत काम गरेको भन्दै पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले गत फागुनदेखि साउन मसान्तसम्म धनकुटाका एसपी सुदिपराज भण्डारीसहित ४२६ जनालाई कारबाही गरेको छ ।

पूर्व क्षेत्रमा कार्यरत एक एसपी, एक इन्स्पेक्टर, ९ जना सई, १५ जना असई ४१ जना प्रहरी हबल्दार, ८६ जना प्रहरी जवानलाई कार्वाही गरेको हो । त्यस्तै २ सय ७६ जनालाई कार्वाही स्वरुप सचेत गराइएको छ ।

गत फागुन महिनादेखि हालसम्म धनकुटाका एसपी भण्डारी र इन्स्पेक्टर गणेशमान श्रेष्ठसहित ४ सय २६ जनालाई कार्वाही गरीएको पूर्व क्षेत्रीय प्रहरी कार्यलयका प्रहरी प्रवक्ता इन्स्पेक्टर शिवकुमार पोखरेलले जानकारी दिए ।

कार्वाहीमा पर्नेहरुमा सईहरु सुमन न्यौपाने, रामजी दमाई, धनेन्द्रकुमार नेपाल, हस्तबहादुर श्रेष्ठ, यामप्रसाद अधिकारी, पशुपतिनाथ ढुंगाना, डम्वरबहादुर अधिकारीसहित ९ जनालाई जना छन् ।

त्यस्तै असइहरु ज्ञानु खड्का, श्यामप्रसाद कोइराला, जितेशकुमार देव, लालबाबु मण्डल, धर्मेन्द्रदेव मण्डल, पुजन लाप्जा, पदम बहादुर कटुवाल, रत्नबहादुर बस्नेत, देबबहादुर धमला, खगेश्वरप्रसाद आचार्य लगायत १५ जना कारबाहीमा परेका छन् ।

गत फागुनमा पूर्व क्षेत्रीय प्रहरी कार्यलयमा आएका डीआईजी रमेश भट्टराई आए सँगै असार मसान्तसम्ममा संगठनमा आर्थिक लेनदेन, अनैतिक सम्वन्ध, मादक पदार्थ सेवन, संगठनको निर्देशन पालना नगर्ने, प्रहरी नियमावली विरुद्ध काम गर्नेलाई धमाधम कार्वाही गरेको हो । प्रहरी आफै सुध्रन जरुरी रहेको भन्दै पूर्व क्षेत्रीय प्रहरी कार्यलयले यो अभियान थालेको डीआईजी भट्टराईले बताए ।

‘संगठन विपरीत काम गर्नेले सजाय पाउँछ,’ डीआईजी भट्टराईले भने, ‘आर्थिक प्रलोभनमा परेको, आर्थिक अनुशासन भंग गरेको, आन्तरीक अनुशासन भंग गरेकाले कार्वाही गरेका हौं । हामीले संगठन गल्ती गर्नेलाई कार्वाही र राम्रो काम गर्नेलाई पुरस्कार गर्ने अभियान नै चलाएका छौं ।’

प्रहरी संगठन केहि हदसम्म सुध्रदै गएको बताउँदै उनले संगठनमा आन्तरीक शुद्धिकरण चलिरहने बताए ।

पूर्वका विभिन्न चौकी, इलाका, जिल्ला प्रहरी कार्यलय लगायतका ठाउँमा बस्दा आर्थिक चलखेल गरी घुस लिनुको साथै विभिन्न सामाजिक घटनामा संलग्न रहेकाहरुलाई आन्तरीक शुद्धिकरण गरिएको डीआईजी भट्टराईको भनाइ छ ।

पूर्वमा १२ हजार ९ सय ७० जना प्रहरीको दरवन्दी छ । पूर्वमा नवराज सिलवाल डिआईजी भएर आएसँगै प्रहरी संगठनमा कार्वाहीको लर्को लागेको हो । सिलवालले संगठन सुधार्न भन्दै पूर्वमा करीव ५ सय प्रहरीलाई कार्वाही गरेका थिए । पूर्वमा अधिकांस भारतीय सीमा क्षेत्र भएको कारण यहाँका कतिपय प्रहरीहरुले आर्थिक चलखेल गर्छन् । कतिपय प्रहरीहरु शक्ति र आर्थिक चलखेल गरेर आउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment