Comments Add Comment

आज हरितालिका तीज

८ भदौ, काठमाडौं । हिन्दू नारीहरुले महान चाड हरितालिका तीज आज मनाउँदैछन् ।

हरित अर्थात हरण गरिएकी र आलिका अर्थात शखीद्वारा, यसअर्थमा शखीद्वारा हरण गरिएकी हिमालय पर्वतकी पुत्री पार्वतीले महावेद स्वामी पाउनका लागि गरेको व्रतलाई हरितालिका तीज भनिएको धार्मिक विश्वास छ ।

हिमालय पर्वतले विष्णुलाई कन्यदान दिन लागेको थाहा पाएर शखीहरूले पार्वतीलाई कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका व्रत भन्ने गरिएको स्कन्द पुराणमा उल्लेख गरिएको छ ।

विवाहित महिलाले पतिको दिर्घायु तथा अविवाहितले शुयोग्य बर पाउनका लागि अघिल्लो दिन राति अवेर दर खाएर भोलिपल्ट तीजको दिन निराहार ब्रत बसेर शिवको पुजा गर्ने परम्परा छ ।

भाऽ शुक्ल द्वितीयाका दिन हिजो राति दर खाई आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरूनधत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।

दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने व्रत भएकाले एक दिनअघि नाचगान रमाइलो गरी राति दरका रूपमा मीठा परिकार खाने गरिन्छ ।

हरितालिका तीजको दिन आज बिहानैदेखि देशभरका शिवालय तथा मन्दिरहरुमा ब्रतालुको भीड लागेको छ ।

तीजका लागि सरकारले आज सार्वजनिक विदा दिएको छ ।

यसैबीच राष्ट्रपतिविद्यादेवी भण्डारीले नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजका अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपतिले बुधबार दिएको शुभकामना सन्देशमा मुलुकका राजनीतिक परिवर्तनसँगै महिलाका हक अधिकारलाई संविधानले प्रत्याभूत गरेको तथा हालै सम्पन्न र हुन गइरहेको स्थानीय तहको निर्वाचनले जगैदेखि महिला नेत्रीलाई स्थापित गर्ने काम गरेको उल्लेख गरेकी छन् ।

“यस नेतृत्वलाई परिपक्व ढंगले आफ्नो कर्तव्यलाई बहन गर्न महिलाहरु लाग्नुपर्छ ।” सन्देशमा भनिएको छ, “अबको यात्रा भनेको आर्थिक समुन्नतितर्फ देशलाई डोहोर्‍याउनु हो । यसका लागि हाम्रा महत्वपूर्ण चाड र पर्वले पनि यही सन्देश दिन सकुन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment