Comments Add Comment

१५ दिनभित्र बक्यौता महशुल नबुझाउनेको विजुली काटिने


८ भदौ काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लामो सयम विद्युत् महशुल बुझाएका ग्राहकलाई १५ दिनको म्याद दिएको छ । मिटर रिडिङ भएको ६० दिनसम्म पनि महशुल नबुझाएका ग्राहकले १५ दिनभित्र बक्यौता नबुझाए लाइन काट्ने प्राधिकरणले जनाएको छ ।

बुधबार एक सूचना जारी गर्दै लामो समय बक्यौता नबुझाएकालाई प्राधिकरणले १५ दिनको म्याद दिएको हो ।

मंगलरबार मात्रै ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले लामो समयदेखि बाँकी रहेको विद्युत् महशुलको बक्यौता रकम उठाउन विद्युत प्राधिकरणलाई निर्देशन दिएका थिए ।

लामो समयदेखि विद्युत् महशुलको बक्यौता उठाउँन बाँकी रहँदा विद्युत् प्राधिकरणलाई ठूलो आर्थिक भार परेको छ । विद्युत प्राधिकरणलाई आर्थिक भार कम गर्न र बक्यौता नतिर्ने प्रवृतिको अन्त्य गर्न ऊर्जामन्त्री शाहीले यस्तो कदम चाल्नु परेको बताएका थिए ।

मन्त्रालयले पत्रमार्फत निश्चित समयसीमा तोकेर सूचना जारी गर्न र तोकिएको समय सीमाभित्र बक्यौता रकम नबुझाउने, रकम बुझाउन आनाकानी गर्नेलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो ।

यसै अनुरुप प्राधिकरणले १५ दिने सूचना जारी गरेर बक्यौता तिर्न र नतिरे लाइन काट्ने चेतावनी दिएको हो । प्राधिकरणले ११ अर्ब रुपैयाँ बक्यौता उठाउन बाँकी छ ।

सबै बक्यौता उठ्यो भने समग्रमा नाफामा गइहाल्ने स्थिति छ । प्राधिकरण अहिले वाषिर्क ९० करोडको घाटामा छ ।

काठमाडौं महानगरको मात्रै साढे ३ अर्ब 

विद्युत् प्राधिकरणको ११ अर्ब २० करोड २१ लाख ७९ हजार रुपैयाँ तीन बराबरको विद्युत महसुल उठ्न बाँकी रहेको पाइएको छ । ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले विद्युत् महसुल बक्यौता रहेका ग्राहकबाट तत्काल महशुल उठाउन प्राधिरकणलाई निर्देशन दिएपछि उक्त परिणामको रकम बक्यौता रहेको तथ्य पत्ता लागेको हो ।

प्राधिकरणको वितरण तथा ग्राहकसेवा निर्देशनालयका अनुसार ग्राहस्थतर्फ नै सबैभन्दा बढी महसुल बक्यौता बाँकी रहेको छ ।

ग्राहस्थतर्फ चार अर्ब ६६ करोड ६३ लाख ४५ हजार ४७८ रुपैयाँ बक्यौता रहेको छ । यस्तै काठमाडौं महानगरपालिकालगायतका नगरपालिकाले सडक बत्ती प्रयोग गरेबापत प्राधिकरणलाई तिर्नुपर्ने रकम मात्रै तीन अर्ब ६० करोड ७६ लाख ६६ हजार ३१८ रुपैयाँ रहेको छ ।

त्यस्तै गैर ग्राहस्थतर्फ रु ३१ करोड ७९ लाख ७ हजार ७६४ रुपैयाँ, व्यापारिकतर्फ २९ करोड ९७ लाख ५७ हजार ६३० रुपैयाँ उठन बाँकी रहेको छ ।

यस्तै गैर व्यापारिकतर्फ ३० करोड ९९ लाख १७ हजार ८१९ रुपैयाँ, मनोरञ्जनतर्फ ४४ लाख ९११रुपैयाँ, औद्योगिकतर्फ एक अर्ब २१ करोड ७६ लाख २० हजार ९५५रुपैयाँ, सिंचाईतर्फ १४ करोड ८४ लाख २७ हजार ३२ रुपैयाँ रहेको छ ।

खानेपानीतर्फ ६३ करोड ४१ लाख ६२८ रुपैयाँ, यातायात पाँच लाख ३६ हजार २७ रुपैयाँ, मन्दिरतर्फ १४ करोड ६९ लाख ६१ हजार ७५१ रुपैयाँ, सामुदायिकतर्फ १० करोड ११ लाख चार हजार २ रुपैयाँ, अस्थायी लाइन लिएका तर महसुल नतिरेका १५ करोड ७३ लाख १९ हजार ६९ रुपैयाँ बक्यौता रहेको छ ।

प्राधिकरणकाअनुसार आन्तरिकतर्फ ८४ लाख ७४ हजार ७५८ रुपैयाँ, चुहाजट ५ लाख १३ हजार २६४ रुपैयाँ बाँकी रहेको छ । यस्तै लामो समय विद्युत् महसुल नतिरेपछि प्राधिकरणले कालोपाटीमा राखेका ग्राहकबाट ५७ करोड चार लाख नौ हजार २६० रुपैयाँ बाँकी रहेको छ ।

आर्थिक वर्ष २०७३/७४ मा ९७ करोड रुपैयाँमात्रै घाटामा रहन सफल भएको प्राधिकरणले बक्यौता रहेको रकम मात्रै उठाउने हो भने पनि करिब रु दश अर्ब बढी नाफा हुनेछ ।

ऊर्जा मन्त्रालयले पटक पटक बाँकी बक्यौता असुल उपर गर्न निर्देशन दिएपनि प्रभावकारी रुपमा कार्यान्वयन गराउन सकेको छैन ।

बक्यौता महसुल नउठाइकन प्राधिकरण नाफामा जान सक्दैन भन्ने बुझेर नै तत्काल सो कार्य सम्पन्न गर्न निर्देशन दिइएको जानकारी दिँदै मन्त्री शाहीले समय तालिका तोकेर नै काम गर्नुपर्ने बताए ।

मन्त्री शाहीले वक्यौता नतिर्ने सिंहदरबारदेखि गाउँसम्मका ग्राहकको लाइन काट्ने चेतावनी दिए । उनले भने’ बक्यौता असुली सँगै चुहावट नियन्त्रणको काम समेत सँग-सँगै जानु पर्छ । प्राधिकरणको संस्थागत सुधारका लागि यी सबै प्रयास आवश्यक छ ।’

राजनीतिक दबाव, प्राधिकरणकै कर्मचारीको मिलेमतो तथा अन्य विविध कारणले बक्यौता रकम ठूलो परिणाममा रहँदै आएको प्राधिकरणको नेतृत्व नै स्वीकर गर्छन् ।

प्राधिकरणका कर्मचारीको नेतृत्व गरेर आँफै बक्यौता नतिर्ने ग्राहकको लाइन काट्न हिड्ने जानकारी दिदै उनले व्यापार गर्ने संस्थाको व्यवहार पनि व्यापारिक नै हुनुपर्ने र कोही कसैलाई पनि छुट दिन नमिल्ने मन्त्री शाहीको भनाइ छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बक्यौता असुली गर्ने कार्य प्राधिकरणको प्रमुख प्राथमिकतामा नै रहेको बताउँछन् ।

आव २०७३/७४ मा प्राधिकरणले अभियानकै रुपमा बक्यौता असुली गरेको र चुहावट तथा चोरी नियन्त्रण अभियान चलाएको भन्दै उनले मन्त्रीको निर्देशनपछि थप क्रियाशिल हुने दृढता व्यक्त गरे ।

बक्यौता र चोरी नियन्त्रण अभियान सञ्चालन गरेपछि प्राधिकरणले आव २०७३/७४ मा  ६ अर्ब बढी असुल गरेको थियो ।

प्राधिकरणले जारी गरेको सूचना

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment