Comments Add Comment

दशैंका लागि हवाइजहाजमा छैन टिकट !

१९ भदौ, काठमाडौं । बिमान कम्पनी र उडान संख्या उल्लेख्यरुपमा थपिएको भए पनि यसपालीको दशैंमा हवाइजहाजमा यात्रा गर्ने यात्रुहरुले राहत नपाउने भएका छन् । दशैंका लागि अधिकांस टिकट बुक भइसकेको विभिन्न बिमान कम्पनीहरुको भनाई छ ।

दशैंका समयमा सबैजसो उपत्यका बाहिर जाने सवारीसाधनमा यात्रुको चाप हुने हुनाले कैयनले बिमानबाट यात्रा गर्छन् । नारायणगढ-मुग्लीन सडकखण्ड अझै अवरुद्ध रहेकाले पनि बिमान कम्पनीहरुमा चाप परेको हो ।

बुद्ध एयरकी मार्केटिङ म्यानेजर बिनिता थापाका अनुसार दशैंको लागि सो कम्पनीको अधिकांश टिकट बुकिङ भइसकेको छ । भैरहवा, भरतपुर र पोखरामा सतप्रतिशत बुकिङ भएको उनले जानकारी दिइन् । त्यस्तै बिराटनगर र धनगढीको लागि पनि टिकट पाउन मुश्किल हुन लागेको छ ।

सिम्रिक एयरलाइन्सले पनि दशैको अधिकांश टिकट बुकिङ भइसकेको जानकारी दिएको छ । सिम्रिक एयरलाइन्सका बजार प्रमुख प्रज्वल थापा दशैका ८० प्रतिशत टिकट बुकिङ भइसकेको बताउँछन् ।

दशैको बुकिङ भन्नाले घटस्थापनादेखि टीकाको अघिल्लो दिनसम्मलाई बुझिन्छ । दशैंका अन्य दिनहरु भन्दा सप्तमी, अष्ठमी र नवमीका टिकटहरु छिट्टै नै सकिने थापा बताउँछन् । उनले भने, ‘दशैंको करिब ८० प्रतिशत टिकट बुकिङ भइसकेको छ, तर सप्तमी, अष्ठमी र नवमीको भने झन्डै ९५ प्रतिशत टिकट बुकिङ भएको छ ।

यात्रुको बढी चाप भएका स्थानमा भने बिमान कम्पनीहरुले अन्तिम तीन दिनमा थप उडान समेत भर्ने योजना बनाएका छन् । थापाका अनुसार दशैका समयमा सिम्रिक एयरलाइन्सले तुम्लीङटारमा पनि थप उडान भर्ने छ ।

केहि हप्ता अघिबाट मात्रै उडान थालेको सौर्य एयरलाइन्सको पनि धेरै टिकटहरु बुकिङ भइसकेको यसका मार्केटिङ म्यानेजर अनिल मानन्धर बताउँछन् । दशैंमा पछिल्ला दिनका उडानहरुमा बुकिङको चाप उच्च रहेको उनको भनाई छ । यो बिमान कम्पनीले अहिले भद्रपुर, बिराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा उडान भरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment