Comments Add Comment

राजधानीमा अचाक्ली धुँवाधुलो, थलिँदै बालबालिका

२८ भदौ, काठमाडौं । अक्सिजन लिन सुरु गरेपछि कपनका रिदम सिटौला बर्रर रुन थाले । रुवाइ नथामिएपछि आमा मन्दिरा आत्तिदै उनलाई सम्हाल्न तल्लीन थिइन् । उपत्यकाको धुवाँधुलोका कारण दुई वर्षमै रिदमको छाती खराब भएको छ । खानापान, सुताइ र बसाइमा ध्यान दिइरहे पनि छोरा पटक–पटक बिरामी पर्दा मन्दिरालाई पर्नु चोट परेको छ ।

चार दिनअघि बल्झिएको छाती घ्यारघ्यार गर्ने, स्याँस्याँ हुने र लगातार खोकी लाग्ने समस्या निको नभएपछि मन्दिराले मंगलबार बिहान उनलाई कान्ति बाल अस्पतालको ओपीडीमा पुर्याएकी थिइन् । चिकित्सकले जाँचेलगत्तै रिदमलाई अक्सिजन दिन थालिएको थियोे । रिदमपछि अक्सिजन लिन १९ जना बच्चा लामबद्ध थिए । रुँदा, चिच्चाउँदा र झिँझो मान्दा शिशु सम्हाल्न आमाहरू सकसमा देखिन्थे ।

ओपीडीको अर्को कोठामा अस्पतालका निर्देशक डा. गणेशकुमार राई थानकोटकी सात वर्षीया अनुसा न्यौपानेलाई धुवाँधुलोबाट बच्न सल्लाह दिँदै थिए । आमा शिलाले चिकित्सकको सल्लाह ध्यानपूर्वक सुन्दै थिइन् । तर, उनीहरूलाई कुर्ने धैर्यता छेउतिर ठेलमठेल गर्दै उभिएका अन्य बच्चाका अभिभावकमा थिएन ।

डा. राई नजिकै बसेका अर्का चिकित्सकलाई कुपण्डोलका रोशन घिमिरेले आफूलाई घाँटी दुख्ने र सुख्खा खोकी लाग्ने गुनासो गर्दै थिए । रोशनकी फुपू निसाले भनिन्, ‘अचेल उसलाई थकाइ धेरै लाग्छ, झिँझो मान्छ । तनाव लिएजस्तो देखिन्छ ।’

बालबालिकाको उपचार गरिने मुलुककै एक मात्र सरकारी बाल अस्पताल कान्तिको तथ्यांक डरलाग्दो छ । डा. राईका अनुसार गत वर्ष हरेक दिन सरदर पाँच सय बच्चा ओपीडीमा आउने गर्थे । यो वर्ष त्यो संख्या हजारसम्म पुगेको छ । तीमध्ये अधिकांश धुवाँधुलोका कारण श्वासप्रश्वास प्रणालीमा गम्भीर क्षति पुगेका बच्चा छन् ।

ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बच्चामा धुवाँधुलोका कारण धेरै समस्या देखिने गरेका छन् । ग्रामीण क्षेत्रका बच्चा जन्मेदेखि नै कुनै वस्तु, पशुपक्षी वा वातावरणमा घुलमिल हुन्छन् । त्यसले गर्दा उनीहरूमा रोगप्रतिरोधात्मक क्षमता बढी हुन्छ र हत्तपत्त रोगले आक्रमण गर्दैन । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment