Comments Add Comment

तपाईको बच्चामा पनि अनिन्द्राको समस्या ? यस्तो छ समाधान


अहिले धेरै आमाबुवाका लागि टाउको दुखाई बनेको छ, बच्चाको अनिन्द्रा । राती अबेरसम्म बच्चा नसुत्ने, सुत्नुअघि झगडा गर्ने, निदाउन नसक्ने, निदाएपनि बेलाबेला ब्यूँझने जस्ता समस्या धेरैले झेलिरहेका होलान् ।

राती बच्चालाई सुताउनै गाह्रो भइरहेको छ । किन होला ?

अहिले बच्चाहरुमा पनि तनाव, चिन्ता, डिप्रेसन देखिएको छ । खासगरी पढाई, बिद्यालय, होमवर्क, साथीहरुको व्यवहार, पारिवारिक वातावरण आदिले उनीहरुमा चिन्ता थपिएको छ । यहि कारण उनीहरुको रातको निन्द्रा बिथोलिएको छ ।

वयस्क एवं बृद्धबृद्धा मात्र होइन, बच्चाहरु समेत अहिले अनिन्द्रका शिकार भएका छन् ।

विगतमा जस्तो बच्चालाई लोरी सुनाएर सुताउने आमाबुवासँग समय छैन । उनीहरु कामधन्दामै यति व्यस्त छन् कि, बच्चाको लागि कुनै समय छैन । त्यसैले बच्चाको झै-झमेलाबाट उम्कनका लागि उनीहरुले बच्चाका लागि खेलौनाको जोरजाम गरिदिएका छन् । टेलिभिजन, इन्टनेट, मोवाइल, ट्याबलेट सबै सुविधा उपलब्ध गराइदिएका छन् । यहि साधनबाट बच्चाले आफ्नो मन बहलाउने गरेका छन् ।

तर, यसले बच्चाको शारीरिक/मानसिक विकासमा अवरोध पैदा गरिदिएको छ । यहि कारण बच्चामा अनिन्द्राको समस्या थपिदै गएको छ ।

बच्चाको लागि पोषणयुक्त खाना जति महत्वपूर्ण छ, उत्तिनै महतवपूर्ण निन्द्रापनि । बच्चाले दैनिक ८ वा ९ घण्टासम्म गहिरो निन्द्रा लिनुपर्छ भनिन्छ । तर, अहिले होमवर्क, पढाई, शिक्षकको साइनमेन्ट आदिको दबावमा उनीहरुको सुत्ने तालिका पनि छोटिएको छ । त्यसमाथि कति अनिन्द्रको समस्यासँग जुधिरहेका छन् ।

अनिन्द्राकै कारण बच्चाहरु दिनभर बेचैन हुने, आक्रमक हुने समस्या समेत छ ।

कति निन्द्रा आवश्यक

निन्द्रा यस्तो प्राकृतिक औषधी हो, जसले शरीरमा नयाँ स्फूर्ति पैदा गर्छ । उर्जा मिल्छ । ताजगी मिल्छ । बयस्कहरुले दैनिक ७ वा ८ घण्टा निदाउनुपर्छ भनिन्छ ।

भर्खर जन्मिएका बच्चाका लागि दैनिक २० घण्टा निन्द्रा आवश्यक हुन्छ । यसैगरी दुई बर्षसम्मका बच्चाका लागि १२ देखि १४ घण्टाको निन्द्रा आवश्यक हुन्छ । २ देखि ५ बर्षसम्मका बच्चाले १२ घण्टा निदाउनुपर्छ । ६ देखि १२ बर्षसम्मका बच्चाले १० घण्टा सुत्नैपर्छ । १२ बर्षपछि अर्थात किशोरवयमा ८ वा ९ घण्टा निदाउनुपर्छ ।

किन निन्द्रा लाग्दैन

१. शारीरिक कारण

हाम्रो वातावरण, घर परिवारकाका सदस्यको भरपुर सहयोग भएर पनि शारीरिक समस्याको कारण निन्द्रा लाग्दैन । घुर्ने, सास रोकिने, मुख खोलेर सुत्ने, टन्सिल आदिको कारण पनि बच्चामा निन्द्रा लाग्दैन ।
२. लाइफस्टाइल

अहिलको हाम्रो जीवनशैली पनि यसमा जिम्मेवार छ । खासगरी एकल परिवारमा हुर्कने बच्चाहरुले आफ्नो बच्चापन गुमाउँदै गएका छन् । आमाबुवा दुबै कामकाजी । बच्चा दिनभर एक्लो हुन्छन् । राती आमाबुवा अबेर आइपुग्ने भएकाले समयमा सुत्न पाउँदैनन् । यसले पनि उनीहरुमा रातभर बस्ने बानी हुन्छ ।

३. पारिवारिक माहौल

कतिपय अवस्थामा अमाबुवाको झगडाले बच्चाको मस्तिष्कमा नराम्रो असर पार्छ । यस्तो अवस्थामा उनीहरुले असुरक्षित महसुष गर्छन् । त्यही भयले उनीहरु विद्यालय जाँदैनन् । अर्थात आमाबुवाको झगडाले बच्चाको मानसिक, शारीरिक विकासमा एकदमै नराम्रो असर पर्छ ।

४. टेलिभिजनको प्रभाव

निन्द्रा पुरा नहुनु वा निन्द्र नलाग्नुमा टेलिभिजन पनि एउटा कारण बन्न सक्छ । अहिले टेलिभिजन च्यानल चौबिसै घन्टा चल्छ । बच्चाहरु रातभर बसेर टेलिभिजन हेर्न थाल्छन् । आमाबुवा एवं घरका सदस्यले रातभर टिभी हेर्दा पनि उनीहरुको निन्द्रा खलबलिन्छ ।

५. डरलाग्दो सपना

कति बच्चा निन्द्रामा डरलाग्दो सपना देख्छन् र ब्युँझन्छन् । यस्तो कहिले कहिं हुनु स्वभाविक हो । तर, दिनदिनै वा लामो समयसम्म दोहोरिएका त्यसमा सचेत हुनुपर्छ । बच्चालाई मनोविज्ञकहाँ पुर्‍याउनुपर्छ ।

अनिन्द्रको दुष्परिणम

यसले बच्चामा मानसिक र शारीरिक दुर्बलता हुनसक्छ । उनीहरु बेचैन हुनसक्छन् । काममा ध्यान लगाउन सक्दैनन् । आक्रमक हुनसक्छन् । यस्तो अवस्थामा चिकित्सकिय उपचार खोज्नुपर्छ ।

कहिले जाने चिकित्सककहाँ ?

बच्चाको दिनचर्या वा सुत्ने बानीमा परिवर्तन गरेर पनि यो समस्याबाट छुटकारा पाउन सकिन्छ । घरको माहौल शान्त, प्रेममय राख्ने । राती छिटै सुत्ने, सुत्नुअघि कथा, गीत सुनाउने गर्दा पनि बच्चा निदाउन सक्छन् । तर, अनेक प्रयास गर्दा पनि बच्चा निदाउन नसकेमा चिकित्सककहाँ पुर्‍याउनुपर्छ । किनभने यो समस्यालाई बेवास्ता गरिएमा त्यसले जटिल समस्या ल्याउन सक्छ ।

के गर्ने निन्द्रा नलागे ?

– प्रयास गरौ कि, सुत्ने र उठ्ने समय तालिका निर्धारण गरेर त्यसलाई पालना गरौ ।

– आफ्नो जीवनशैली बदलौ । जस्तो कि कार्यलयबाट चाडै घर र्फकने, चाडै भोजन गर्ने, सुत्नका लागि घरको माहौल शान्त राख्ने ।

– घर वा बाहिर अबेरसम्म बस्ने वा कुनै गतिविधि गर्ने नगरौ ।

– घरमा लडाई-झगडा नगरौ । यस्तो कुनै व्यवहार वा कुरा नगरौ, जसले बच्चामा डर पैदा गर्छ ।

– यस्तो अवस्था आउन दिन हुँदैन, जसले बच्चामा भय पैदा गर्छ, असुरक्षा पैदा गर्छ ।

– सुत्नुअघि बच्चालाई पढ्ने वा नुहाउने बानी गराउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment