Comments Add Comment

नेपालभाषा साहित्य सम्मेलन सम्पन्न

पाटन । नेपाल भाषा (नेवार भाषा) को साहित्यिक इतिहास मै पहिलो पटक नेपाल भाषा साहित्य महोत्सव शनिवार सम्पन्न भएको छ ।

पाटनको ऐतिहासिक दरवार भित्र रहेको केशवनारायण चोकमा आयोजित महोत्सवको उद्घाटन वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले गरेका थिए ।

सोही कार्यक्रममा जोशी लगायत संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले उपन्यासकार मल्ल के. सुन्दरको नयाँ उपन्यास ‘द पोष्टर’ विमोचन गरे भने जोशी र नेपाल भाषा एकेडेमीका चान्सलर चित्तरञ्जन नेपालीले कवि बसन्त चौधरीको नेपालभाषामा अनूदित कविता संग्रह ‘वसन्त’ विमोचन गरे ।

कार्यक्रममा बोल्दै शताब्दी पुरुष सत्यमोहन जोशीले मल्लकालदेखि विकसित नेपाल भाषा साहित्यमा वसन्त चौधरी नवकविको रुपमा आएको भन्दै उनलाई नेपाल भाषा साहित्यमा स्वागत गरे ।

त्यस्तै उनले मल्ल के सुन्दरको विमोचित उपन्यास अन्तर्राष्ट्रियस्तरको भएकाले यसलाई विभिन्न भाषामा अनुवाद गरी प्रकाशन गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथि, अतिथि तथा विमोचित पुस्तकका लेखकद्वयलाई धिमे बाजा बजाइ स्वागत गरिएको थियो ।

विमोचित उपन्यासका बारेमा बोल्दै उपन्यासकार मल्लले आफ्नो उपन्यास नेपालमा आएको ऐतिहासिक राजनीतिक परिवर्तनपछि बिग्रंदै गएको राजनीतिक मूल्य मान्यतालाई चित्रण गरेको बताए ।

कार्यक्रममा चौधरीले नेपालभाषाबाट बोल्दै नेपालभाषाको कविता वाचन गरेका थिए ।

६ वटा सेसन भएको साहित्य महोत्सवमा प्राध्यापक प्रेमशान्ति तुलाधरले नेपालभाषा साहित्यको परिचय शीर्षकमा प्रवचन दिए ।

अर्को सेसनमा वरिष्ठ साहित्यकार भूषणप्रसाद श्रेष्ठ, सुलोचना मानन्धर, धु्रव मधिकर्मी, अध्ययता राजेन मानन्धरसँग सहजकर्ता सुरेश मानन्धरले ‘भोलिको नेपालभाषा साहित्य’ विषयमा छलफल चलाएका थिए ।

त्यस्तै कवि नवीन चित्रकारले नेपाली भाषाबाट लेख्दै आएका नेवार स्रस्टाहरू श्रीओम श्रेष्ठ रोदन, स्नेह सायमी, जलेश्वरीदेवी श्रेष्ठका अनुभवबारे छलफल चलाएको थिए ।

महोत्सवमा कवि दुर्गालाल श्रेष्ठ, पूर्ण वैद्य, भूषणप्रसाद श्रेष्ठ, नर्मदेश्वर प्रधान, प्रतिसरा सायमी, सुधीर ख्वबि, रजनी मिला लगायत १८ जना स्रस्टाहरूले कविता, लघुकथा, व्यंग्य पाठ गरेका थिए ।

कार्यक्रमको अन्तमा लोकपि्रय सांगीतिक समूह कुटुम्बसँगै गायक पवित्र कसाः र गायिका रिता महर्जनले आआफ्नो प्रस्तुति दिएका थिए ।

महोत्सवको अवसरमा नेपालभाषाका पुस्तक प्रदर्शनी तथा विक्री गरिएको थियो भने परम्परागत नेवारी खानाको स्टल पनि राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment