Comments Add Comment

सरिफ पत्नीले जितिन् उपचुनाव


२ असोज, इस्लामावाद । भ्रष्टाचार पुष्टी भएपछि अयोग्य घोषित पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफको निर्वाचन क्षेत्र लाहोरमा भएको उपचुनाव उनकै पत्नी कुलसुम नवाजले जितेकी छन् ।

निकटतम प्रतिद्वन्द्वी तहरिक–ए–इन्साफ पार्टीका उम्मेदवार यास्मिन रासिद १४ हजार हजार एक सय ८८ मतअन्तरले पराजित भए । कुलसुमले ६१ हजार दुई सय ५४ मत पाइन् ।

पनामा पेपर्स प्रकरणमा दोषी देखिएका सरिफलाई सर्वोच्च अदालतले गत जुलाईमा सार्वजनिक पद धारण गर्न अयोग्य घोषित गरेको थियो । सोही कारण उनको निर्वाचन क्षेत्र पनि रिक्त हुन पुगेको हो ।

उनको ठाउँमा पत्नी कुलसुमले पाकिस्तान मुस्लिम लिग (नवाज) पार्टीबाट उम्मेदवारी दिएकी थिइन् । उनी भने लन्डनमा क्यान्सरको उपचार गराइरहेकी छन् । आमाको अनुपस्थितिमा छोरी मरियमको नेतृत्वमा चुनावी अभियान सञ्चालन गरिएको थियो ।

‘यो सामान्य विजय होइन,’ मरियमले भनिन्, ‘हामीले मैदानमा रहेका मानिसलाई मात्र हराएका छैनौं, अदृष्य रहेकाहरुलाई पनि जवाफ दिएका छौं ।’

उपचुनावमा तीन लाख २० हजार मतदाताले सहभागिता जनाएका थिए । दुई सय २० वटा मतदान केन्द्रमा पाकिस्तानमा पहिलो पटक बायोमेट्रिक मतदाता प्रमाणीकरण मेसिनहरु प्रयोग गरिएको थियो ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment