Comments Add Comment

जडिबुटी निर्यातमा कर थपिँदा व्यवसायी मारमा

फाइल तस्वीर

२ असोज, नेपालगन्ज । नेपाली जडिबुटीको निर्यातमा भारतको उत्तर प्रदेश राज्यले लगाएको छुट्टै ‘ट्रान्जिट परमिट’को मार खेप्दै आएका नेपाली जडिबुटी ब्यवसायीहरु पछिल्लो समय भारतमा लागू भएको बस्तु तथा सेवा कर (जिएसटी) समेत तिर्नु पर्दा दोहोरो मारमा परेका छन् ।

जडिबुटी ब्यवसायी संघ नेपालका अध्यक्ष याकुब अन्सारीले राज्यको जडिबुटी नीति व्यवहारिक नहुँदा देश भित्रै र बाहिर विभिन्न थरिका कर तिर्नु परेका कारण करोडौंको जडिबुटी ब्यवसाय नै धरासायी हुन थालेको बताए ।

नेपालगन्जको जमुनाह नाकाबाट जडिबुटी निर्यात गर्दा अनावश्यक रुपमा उत्तरप्रदेश सरकारले लगाउँदै आएको कर हटाइदिन विभिन्न निकायमा आग्रह गर्दा पनि सुनुवाई नभएको गुनासो गर्दै उनले भने-‘भारतको प्रदेश सरकारदेखि केन्द्र सरकारसम्म ट्रान्जिट परमिटका बारेमा कुरा पुर्‍यायौं तर सुनुवाई होला भनेको झन् जीएसटी पो लागु भयो ।’

अध्यक्ष अन्सारीले जडिबुटीमा लगानी गर्ने व्यावसायीको लगानी सुरक्षित नहुने अवस्था हुँदै गर्दा भारतमा झन जीएसती लागू भएपछि दोहोरो करको मारमा व्यवसायी परेको बताए । उनले भने,-‘मारमा मार थपियो ।’ जीएसटी लागु भएपछि निर्यात खर्च बढेको र त्यसको सिधा असर जडिबुटी किसानलाई पर्ने उनको भनाइ छ ।

मध्यपश्चिमका पहाडी जिल्लाका किसानहरुले उत्पादन गरेको जडिबुटी नेपालगन्जका ब्यवसायीहरुले भारत लगायत तेस्रो देशमा निर्यात गर्दै आएका छन् । जडिबुटीको निकासीमा कर थपिदा जडिबुटी किसानबाट मूल्य घटाएर जडिबुटी खरिद गर्नुपर्ने अबस्था सिर्जना भएको ब्यवसायीको भनाइ छ ।

जडिबुटीको हवका रुपमा चिनिएको नेपालगन्ज नाकादेखि भारत निकासी गर्दा व्यवसायीहरु अनावश्यक खर्च दिनसमेत बाध्य हुनेगरेका छन् ।

व्यवसायीले संकलन गरेको जडिबुटी नेपालगन्जका नाकाहरुमा थन्केर कुहिन थालेपछि अनावश्यक खर्च दिएर निकासी गरि रहेको खुलासा भएको छ । भारत निकासी गर्दा व्यवसायीले जडिबुटी अनुसार किलोको दरले अनाबश्यक खर्च नदिदासम्म विभिन्न निकियले विभिन्न बाहानमा रोक्ने दुःख दिने गरेका छन् ।

‘ट्राञ्जिट परमिट’ प्रणाली लागु भएपछि निकासीमा झन्झटिलो भएपछि नेपालगन्जमा जडिबुटी गोदाममा थन्किएर रहेको छ । मागेको पैसा नदिए गाडी लामो समय रोकिने, सामान झार्ने समस्या बढी हुन्छ । एक व्यावसायीले भने, ‘यो विषयमा सरकार गम्भीर भएर लागेको छैन् । सरकारलाई लामो समयदेखि समस्याका बारेमा जानकारी गराउँदा समेत जडिबुटी व्यवसायीका बारेमा सरकार नलागेको कारण हामूो लगानी सुरक्षित हुन सकेको छैन ।’

भारतीय ट्राञ्जिट परमिटकै कारण नेपालगन्ज नाकाबाट भारतलगायत तेस्रो मुलुकमा जडीबुटी निकासी घटेको अध्यक्ष अन्सारी बताउछन । उनले बर्षेनी जडिबुटी निकासी घटेको बताए । ठूला व्यवसायीले सेटिङ्ग मिलाएर निकासा गरे पनि साना व्यवसाय पलायन हुनु परेको उनको भनाइ छ ।

नेपालगन्ज हुँदै भारत, अमेरिका, चीन, पाकिस्तान, बङगलादेश, फ्रान्स, स्विजरल्याण्ड, अष्ट्रलिया, जर्मनलगायतका मुलुकमा जडीबुटी निर्यात हुन्छ । ती मुलुकमा रिठ्ठा, अमला, टिम्मुर, काउलो, सतुवा, बोझो, सालनदाना, चिराइतो, प्राउनबोक्रा, सुठो, सोफनल, दालचिनी, अमरदाना, जटामसीलगायतका जडीबुटी निर्यात हुने गर्छ ।

जडिबुटी व्यवसायी संघका अध्यक्ष अन्सारीले आइतबार मात्र नेपालगन्ज आईपुगेका भारतीय राजदूत मन्जिव सिंह पुरिलाई समस्या बारे जानकारी गराउनुको साथै ज्ञापन पत्र समेत दिएका छन् । उनले नेपाली जडिबुटी ब्यवसायीका समस्याहरु प्रति गम्भीर भइदिन आग्रह समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment