Comments Add Comment

मतदाताको अपेक्षाः विकाससँगै नेतामा इमान्दारिता

राजविराजको एक मतदान केन्द्रमा भोट खसाल्न लामवद्ध भएकाहरु ।

२ असोज, सप्तरी । ‘अब सडक बन्छ । सरसफाई पनि राम्रो तरिकाले हुन्छ,’ राजविराजस्थित केशो अनिरुद्ववती मावि केन्द्रमा मतदान गर्न लाइनमा बसेकी आशा साहले मतदानपछि आफ्नो अपेक्षा सुनाइन् ।

सोही ठाउँमा लाइनमा लागेका प्रदीप तातेड पनि वर्षौंदेखि पछाडि परेको राजविराज अन्य शहरभन्दा राम्रो हुने विश्वास लिएरै मतदान गर्न आएको सुनाए ।

राजविराज ९ मलेठकी सकिना खातुन पनि वर्षायाममा हिँड्न नसकिने बाटो बन्ने विश्वास व्यक्त गरिन् । उनले आफूले समग्र विकासको अपेक्षा राख्दै मतदान गरेको उनले बताइन् ।

राजविराज मात्रै होइन, सप्तरीको १८ वटै स्थानीय तहका जनता उत्साहपूर्ण तरिकाले मतदान गरेका छन् । राजविराज नगरपालिकाको १५ वडाबाहेक सबै ठाउँमा शान्तिपूर्ण तरिकाले मतदान भएको छ । शम्भुनाथ नगरपालिकामा एक जना नक्कली मतदाता फेला पर्नुबाहेक कतै कुनै किसिमको घटना नभएको जिल्ला प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले बताए ।

बिहान ७ बजेदेखि नै मतदान केन्द्रमा मतदाताहरुको घुइँचो लागेको थियो ।

जिल्लाको कुल ४ सय ६२ मतदान केन्द्रबाहेक ४ सय ६० केन्द्रमा सोमबार मतदान भएको छ । राजविराज १५ देउरी भरुवाको २ वटा केन्द्रमा भने ५ गते निर्वाचन हुने जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश कुमार ठाकुरले जानकारी दिए ।

जिल्लामा ७० प्रतिशत मत खसेको उनले बताए । धेरै ठाउँमा पुरुषभन्दा महिला मतदाता देखिए ।

जिल्लाको खडग नगरपालिकाको बनौलीस्थित ननकार प्रावि मतदान केन्द्रको कुल मतदाता संख्या एक हजार ११ मध्ये ४ सय ५३ महिला र ३ सय १६ जनाले मात्रै मतदान गरेका छन् । जिल्लाको धेरै ठाउँमा पुरुषभन्दा महिला मतदाताको संख्या बढी देखिएको सम्बन्धित केन्द्रका अधिकारीहरुले बताएका छन् ।

प्रमुख आयुक्त र दुई मन्त्रीले गरे मतदान

सप्तरीबाट प्रमुख निर्वाचन आयुक्तसहित दुई जना मन्त्रीले समेत मत खसालेका छन् । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजविराज २ स्थित प्रावि केन्द्रमा मतदान गरेका छन् । यो केन्द्रमा पहिलो मतदान गर्ने उनी नै हुन् ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले राजविराज १६ बोरियास्थित नरेन्द्र मेमोरियल मावि केन्द्रबाट मतदान गरेका छन् । वातावरण मन्त्री मिथिला चौधरीले राजविराजस्थित पवि मावि केन्द्रबाट मतदान गरिन् ।

राष्ट्रिय जनता पार्टीका नेता मनिष सुमन भने राजविराजकै केशो अनिरुद्ववती मावि केन्द्रबाट मतदान गरेका छन् ।

मधेसी पार्टीलाई मत दिएँ, नेताहरुले जेसुकै गरुन्

मतदान गर्ने भिडमा शहीद परिवारहरु पनि समावेश भएका थिए । २०७२ साल यता जिल्लामा शुरु भएको मधेस आन्दोलनमा परी ११ जनाले ज्यान गुमाएका छन् । यसमध्ये ५ जना २३ फागुन २०७३ मा मलेठमा मारिए ।

मलेठमा मारिएका पाँच जनामध्ये पिताम्बर मण्डलका पिता र पत्नीले मतदानस्थलमा खुलेरै भने, ‘भोट मधेसी पार्टीलाई दिएँ । उनीहरुले जेसुकै गरुन् ।’

चार सन्तान, एक पिता र एक पत्नीलाई पाल्दै आएका पिताम्बरको एमालेको मेची-महाकाली अभियानका क्रममा तत्कालिन मधेसी मोर्चासँग भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर उनको ज्यान गएको थियो । आफ्नै घर अगाडि उभिरहेका उनलाई प्रहरीको गोली लागेको थियो ।

मलेठ प्राविको मतदान केन्द्रमा पिताम्बरका पत्नी सोमनीदेवी र पिता गोसाइ मण्डलले भने, ‘मधेसका लागि हाम्रो मान्छेले ज्यान गुमाए । हामी त्यही भएर मधेसी पार्टीलाई नै भोट दियौं । नेताहरुले इमान्दारिता देखाउनेछन् भन्ने विश्वास छ ।’

मतगणना मंगलबारदेखि

राजविराज नगरपालिकाबाहेक अन्य स्थानीय तहको मतगणना भने मंगलबार (भोलि) देखि हुने भएको छ । मत पेटिका संकलन गरेर सम्बन्धित स्थानीय तहको केन्द्रमा जम्मा गर्ने कार्य भइरहेको बताउँदै निर्वाचन कार्यालयका प्रमुख ठाकुरले बाकस जम्मा भएपछि सर्वदलीय बैठक बसेर मतगणनाको निर्णय गरिने बताए ।

‘सर्वदलीय बैठकले गरेको निर्णय अनुसार नै मतगणना हुनेछ,’ उनले भने, ‘सहमति भएमा आजैदेखि, नभए भोलिदेखि अधिकांश केन्द्रमा मतगणना शुरु हुनेछ ।’

राजविराज नगरपालिकाको मतगणना भने असोज ६ देखि गरिने भएको छ । वडा नम्बर १५ मा ५ गते मतदान भएपछि ६ गतेदेखि गणना थालिने उनले बताए ।

वडा नम्बर १५ मा राजपाबाट वडाध्यक्षमा उम्मेदवारी दिएका महन्थी यादवको निधन भएपछि २ असोजको लागि निर्धारण गरिएको निर्वाचन ५ गतेका लागि तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment