Comments Add Comment

रौतहटमा ७५ प्रतिशत मत खस्यो

२ असोज, रौतहट । जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।

यहाँका १६ नगरपालिका र दुई गाँउपालिकामा सोमबार भएको स्थानीय तहको निर्वाचनमा ७५ प्रतिशत भन्दा बढी मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

बिहान ७.३० मा सुरु भएको मतदानमा स्थानीयको उल्लेख्य सहभागिता देखिएको थियो ।

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गौरको रामजानकी कन्या प्राविमा रहेको मतदान केन्द्रमा मत खसालेका थिए भने राजपा अध्यक्ष मण्डलका नेता अनिल झाले दुर्गा भगवति गाँउपालिकाको सँस्कृत मावी ३ स्थीत मतदान केन्द्रमा र शहरी विकास मन्त्री तथा माओवादी केन्द्रका नेता प्रभु साहले आधारभूत विद्यालय मौलापुरमा मतदान गरेका थिए ।

रौतहटको मौलापुर नगरपालिका ३ गम्हरिया पतौरा प्राथमिक विद्यालय मतदान केन्द्रमा संघीय समाजवादी फोरम नेपाल र माओवादी केन्द्रका कार्यकर्ताहरुबीच दोहोरो झड्प हुँदा करिव ४५ मिनेटसम्म मतदान प्रक्रिया अबरुद्ध भएको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको थियो । सो स्थानमा करिव ४५ मिनेट सम्म मतदान प्रक्रिया अवरुद्ध भएपछि १०.५० देखि मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत लेखनाथ ढकालले बताए ।

घटनाको लगतै नेपाली सेनासहितको सुरक्षाकर्मीहरु पुगेर अवस्थालाई नियन्त्रणमा लिई शान्तिपूर्ण रुपमा निर्वाचन सुरु गराएको उनले बताए ।

यसैगरी फतुवा विजय नगरपालिकाको सन्तपुर दोस्तियामा मतदान केन्द्रमा भिड नियन्त्रण गर्न सुरक्षाकर्मीहरुले लाठी चार्ज गरेका थिए ।

छिटफुट घटना बाहेक शान्तीपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले बताए । मतदान केन्द्रहरुबाट मतपेटीका ल्याउने क्रम जारी रहेको छ । जिल्लाका सम्बन्धित नगरपालिका केन्द्रहरुमा नै मतपेटिका राखेर मतगणनाको कार्य सुरु गराउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतगणना सोमबार रातिबाट सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment