Comments Add Comment

घर अगाडि खाल्डो छ ? महानगरमा खबर गर्नुस्

३ असोज,पोखरा । के तपाईंको घर अगाडिको सडकमा खाल्डो छ ? सडकको खाल्डोका कारण हैरानी बेहोर्नु परेको छ ? यदी खाल्डोकै कारण हैरानी बेहोर्नुपरेको छ वा दुर्घटनामा पर्नसक्ने खतरा छ भने अब चिन्ता नलिनुस् । अब तपाईंले पोखरा लेखनाथ महानगरपालिकामा खबर गरिदिनुभयो भने तुरुन्तै त्यसको समाधान भइहाल्छ । हो,पोखरा लेखनाथ महानगरपालिकाले पोखरा सहरका मूख्य मूख्य सडकमा दशैं अगाडि नै खाल्डो पुरिसक्ने अभियान सञ्चालन गरिरहेको छ ।

खाल्डो पुर्नका लागि वडा कार्यालयमार्फत महानगरपालिकालाई निवेदन दिनुपर्ने हुन्छ । मौखिक रुपमा आएको खबरलाई पनि सम्बोधन गर्ने गरिएको भएपनि लिखित निवेदन आउँदा काम गर्न सजिलो र छिटो हुने महानगरपालिकाका योजना महाशाखा प्रमुख तथा बरिष्ठ इञ्जिनियर शारदामोहन काफ्लेले बताए ।

दशैंको समयमा कसैलेपनि खाल्डोका कारण दुर्घटनामा पर्न नपरोस भनेर पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीको निर्देशनमा खाल्डो पुर्ने अभियान शुरु भएको हो । मेयर जिसीले चुनावी घोषणा पत्रमा महानगरका सडक भत्किएको खबर आएको २४ घण्टाभित्र खाल्डो पुरिसक्ने घोषणा गरेका थिए ।

मेयरको सपथ खाएको एक महिना भित्रमा ‘र्‍यापिड रेस्पोन्स टीम’ बनाएर खबर पाएको २४ घण्टा भित्रै खाल्डो पुर्ने ब्यबस्था गर्ने जिसीले घोषणा गरेपनि हनिमुन पिरियड १ सय दिनसम्म कुनै खास कदम चाल्न नसकेका उनले अहिलेभने खाल्डो पुर्ने अभियान सुरु गरेका हुन् ।

पहिलो चरणमा महानगरका मूख्य क्षेत्र महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, विरौटा, राष्ट्र वैंकचोक, लेकसाइड, सृजनाचोक, सिमलचौर, मालेपाटन, प्रस्याङ, सिद्धार्थचोक, भीमसेनटोल, विन्ध्यबासिनी, हरिचोक, बगर, नदीपुर, पालिखेचोक, रानीपौवा, हस्पिटलचोक, अमरसिंहचोक, रामबजारलगायतका ठाउँहरुका अधिकांश खाल्डाखुल्डी पुर्न थालिएको काफ्लेले जानकारी दिए । उनका अनुसार लेखनाथको बुढीबजार, अर्घौंचोक, तालचोक, भण्डारढीक, सिसुवा, बेगनासलगायतका ठाउँहरुमा पनि खाल्डो पुर्ने काम भइरहेको छ । काफ्लेले भने,’अधिकांश खाल्डाखुल्डी पुरिसकिएको छ,’केही बाँकी ठाउँहरुमा पुर्ने काम भइरहेको छ ।’

कहिंकतै खाल्डाखुल्डी भएर समस्या वा खतरा उत्पन्न भएको भए तत्काल महानगरपालिकामा खबर गर्न महानगरपालिकाले आग्रह गरेको छ ।

सामान्य खाल्डाखुल्डीबाहेक जोखिमपूर्ण खाल्डाखुल्डी भएको पाइए तत्कालै पुर्ने काम भइरहेको काफ्लेले बताए । उनले भने,’मेयर साबले भनेजस्तो २४ घण्टामै नहोला, तर जतिसक्दो चाँडो पुर्ने प्रयास गर्छौं ।’

ठाउँअनुसार फरक/फरक तरिकाले खाल्डो पुर्ने काम भइरहेको काफ्लेले जानकारी दिए । उनका अनुसार समथर पिचमा परेको खाल्डोमा गिट्टी बालुवा हाल्नुका साथै अलकत्र प्रयोग गरेर पुनः पिच गरिन्छ भने केही भिरालो ठाउँहरुमा जहाँ बारम्बार पानीले भत्काउने ठाउँमा रड तथा सिमेन्ट प्रयोग गरेर ढलान गर्ने गरिएको छ ।

महानगरले सडकका खाल्डो पुरिरहँदा खानेपानी संस्थानले भने पुरिसकेको ठाउँमा खाल्डो खनेर त्यत्तिकै छाडेको भेटिएको छ ।

महानगर र खानेपानी संस्थान बिच समन्वय नहुँदा यो समस्या बारम्बार पोखरेलीले भोग्दै आएका छन् । पछिल्लो क्रममा खानेपानी संस्थानले महानगरपालिका कार्यालय अडाडिको बाटो, सिद्धार्थचोक, नागढुंगा र महेन्द्रपुलको मेडिकल लाईन अगाडिको सडकमा बनाइसकेको बाटो भत्काएर खानेपानीको पाइप मर्मत गरेको छ ।

सँस्थानले खाल्डो बनाएर पाइप मर्मत गरेपनि सर्प मार्‍यो लौरो बिर्सियो भनेजस्तै गरेर आफूले बनाएको खाल्डो नपुरी छाडि दिएको छ । जसका कारण स्थानिय र त्यो बाटो भएर आवतजावत गर्ने हजारौं सवारीचालक तथा यात्रुले हैरानी बेहोर्नुपरेको छ ।

खानेपानी संस्थानले यसअघी पनि बनाइसकेको खाल्डो खनेर खानेपानीको पाइप मर्मत गर्ने तर खाल्डो नपुर्ने गर्दै आएको छ ।

यसैबीच, महानगरपालिकाले बनाइसकेको खाल्डो भत्काउनेलाई सडक मर्मतसम्भारका लागि आवश्यक खर्च तिराउने भएको छ ।

मेयर मानबहादुर जिसीको निर्देशनमा भत्काइएको सडकमा लाग्ने आवश्यक खर्च महानगरपालिकामा असुल गर्ने ब्यबस्था लागू गर्न लागिएको योजना महाशाखा प्रमुख तथा बरिष्ठ ईञ्जिनियर शारदामोहन काफ्लेले बताए ।

महानगरपालिकाले चुनावताका मेयर जिसीले घोषणा गरेअनुरुप ‘र्‍यापिड रेस्पोन्स टीम’ नै बनाउने तयारी पनि तिव्र पारेको छ ।

ओभरसियरको कमाण्डमा २ जना सुपरभाइजर र २ जना फिल्डमा खटिने कर्मचारी राखेर २४ घण्टाभित्रै खाल्डो पुर्ने र पिच गर्नेगरी ‘र्‍यापिड रेस्पोन्स टीम’ बनाउने तयारी अन्तिम चरणमा पुगेको काफ्लेले जानकारी दिए । यसका लाग बजेटसमेत बिनियोजन भइसकेको उनको भनाई छ ।

उनले भने,’र्‍यापिड रेस्पोन्स टीमका लागि महानगरपालिकाको रातो किताबमै बजेट बिनियोजन भइसकेको छ, रातो किताब छापाखानामा छाप्ने काम भइरहेकाले यो आउने वित्तिकै काम सुरु हुन्छ ।’ रातो किताबमा खाल्डो पुर्नका लागि आवश्यक खर्च गर्न सकिने उल्लेख भएको काफ्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment