Comments Add Comment

पहिलो गर्भ ! समस्या कम, चिन्ता बढी

गर्भावस्था आफैंमा एउटा जटिल अनि विशेष अवस्था हो । यस अवस्थामा आमा बन्ने खुशी मात्र जोडिएको हुँदैन, गर्भसँग समाजिक, पारिवारीक र आत्मीय सम्बन्ध रहेको हुन्छ । अझ पहिलो गर्भ ! दाम्पत्य जीवनको पहिलो सफलता अनि पहिलो अनुभव, शारिरीक मात्र होइन मानसिक अनि भावनात्मक परिवर्तन अनि जिम्मेवारी सबै कुरा एकै साथ आएकाले पनि होला गर्भवती महिलाहरुमा धेरै जिज्ञाशा हुने गरेको पाइन्छ ।

महिनावारी रोकिने बित्तिकै नवबिबाहित महिलाहरुमा एउटा नया तरंग थपिन्छ । कहिलेकाहिँ त महिनावारी ढिला भएमा महिलाहरु दुखित पनि हुन्छन् । गर्भ रहनेबित्तिकै सबैलाई समस्या हुन्छ भन्ने छैन तर गर्भको बच्चा कसरी राम्रो बनाउने चिन्ता धेरैमा रहन्छ । अधिकांश गर्भवतीहरुलाई खान मन नलाग्ने तथा वाकवाक लाग्ने हुन्छ । गर्भावस्थामा वाकवाक लाग्नु तथा बान्ता हुन खोज्नुलाई ठूलो समस्या मानिँदैन । गर्भको बच्चाले समान्यतया १२ हप्ता पार गरिसकेपछि वाक्वाक लाग्न छोड्ने हुन्छ । तर कसैकसैलाई यो समस्याले पनि निकै पिरोल्न सक्छ । यस्तो पीडालाई हाइपरईमेसिस् ग्राभिडम् भनिन्छ ।

बान्ता किन हुन्छ ?

यस्तो स्थिति प्रायः पहिलो पटकको गर्भमा बढी हुन्छ । गर्भमा एकभन्दा बढी शिशु रहेमा तथा अव्यवस्थित गर्भ रहेको अवस्थामा पनि बढी हुने गरेको देखिन्छ । यो समस्या वंशाणुगत पनि हुनसक्छ । गर्भावस्थामा एचसीजी हार्मोनको मात्रा बढ्ने हुन्छ । तर यस हर्मोनको मात्रा सामान्य भन्दा बढी भएमा धेरै वान्ता हुन सक्छ । एचसीजी हर्मोनका कारण धेरै वटा अवस्था पता लगाउन सकिँदैन । तर गर्भमा धेरै पानी हुने, दुई वा सोभन्दा बढी बच्चा हुने आदि प्रमुख हुन् ।

यस बाहेक भिटामिन बी वा प्राटिनको कमी हुनु तथा मानसिक समस्याहरुले हाइपरईमेसिस् ग्राभिडम् गराउन सक्छ । तर गर्भावस्थामा पनि अन्य रोग जस्तै पिसाबको संक्रमण, पेटको अल्सर, एपेन्डिसाइटिस, पित्त थैलीको संक्रमण, कलेजोको संक्रमण आदिले धेरै बान्ता गराउन सक्छ ।

वान्ता भएमा के गर्ने ?

गर्भावस्थामा वाकवाक लागेमा वा १-२ पटक बान्ता हुँदैमा आत्तिनु पर्दैन । यस अवस्थामा थोरै-थोरै गरेर धेरैपटक सुख्खा खानेकुरा खाने गर्नुपर्छ । साथै चिकित्सकको सल्लाहमा बान्ताको औषधि सेवन गर्नुपर्ने हुन सक्छ । तर वान्ता धेरै भएमा उपचार गर्न ढिला गर्नु हुँदैन ।

धेरै वान्ताको कारण शरिरमा लवण, पानी र ग्लुकोजको कमी हुन सक्ने भएकाले यसले गर्भ र गर्भवती दुवैलाई असर गर्न सक्छ । यस्तो अवस्थामा एकातिर वान्ता रोक्ने तथा खेर गएका लवण र पानीलाई पूर्ति -रिहाइड्रेसन) गर्नुपर्ने हुन्छ । अर्कातिर वान्ताको कारण पत्ता लगाउनु पर्ने हुन्छ । बान्ताको कारण पत्ता लगाउन बिभिन्न परिक्षणहरु (रगत, पिसाब, भिडियो एक्स रे) ले मद्दत गर्ने हुन्छ । यस्ता धेरै अवस्थाहरुमा विरामीलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने पनि हुनसक्छ ।

समान्यतया पहिलो तीन महिना त कति गर्भवतीका लागि सजायँ नै ठहरिन्छ । यस अवस्थामा खाना नरुच्नु, वाकवाक लाग्नु तथा पेट दुख्नु जस्ता साना-साना समस्याहरु मात्र सताउँदैनन् । यस अवस्थामा पिसाबको संक्रमणले उत्ति नै दुःख दिइरहेको हुन्छ । गर्भावस्थामा पिसाबको स्टासिस् अर्थात पिसाबथैलीमा बढी पिसाब जम्ने भएकाले सामान्यभन्दा बढी पिसाबको संक्रमण हुने सम्भावना बढी रहेको हुन्छ । पिसाबको संक्रमण भएको अवस्थामा पेट दुख्ने, पिसाब छिनछिनमा जाने हुन्छ । कसैकसैलाई ज्वरो आउने पनि हुन सक्छ । पिसाबको संक्रमणलाई जति सक्दो चाँडो पत्तालगाएर उपचार गर्नु आवश्यक हुन्छ । तर गर्भावस्थामा प्रयोग गरिने औषधि गर्भलाई असर नगर्ने हुनुपर्छ ।

गर्भावस्थामा इक्टोपिकको जोखिम

गर्भावस्थाको पहिलो तीन महिनामा हुन सक्ने खतरनाक अवस्था भनेको इक्टोपिक रप्चर हो । इक्टोपिक पि्रग्नेन्सी एउटा गम्भीर एवं खतरनाक अवस्था हो । गर्भ पाठेघरमा रहनु पर्छ तर कुनै-कुनै अवस्थामा गर्भ पाठेघरमा नरहेर अन्य ठाउँहरु, मुख्यतः अण्डबाहिनी नली,मा रहन सक्छ । यसलाई इक्टोपिक पि्रग्नेन्सी भनिन्छ । अधिकांश अवस्थामा इक्टोपिक पि्रग्नेन्सीमा अण्डबाहिनी नली फुटेर, पेटमा अत्याधिक रक्तश्राव हुन्छ । समयै अस्पताल पुर्‍याउन सकिएन भने गर्भवतीको ज्यान नै जोखिममा पर्नसक्छ ।

गर्भ पाठेघरमा नदेखिएमा, पेट अत्यधिक दुखेमा वा इक्टोपिकको शंका लागेमा तुरुन्त अस्पताल पुर्‍याउनुपर्छ । यस्तो अवस्थामा तुरुन्त शल्यक्रिया गरेर उपचार गरिएन भने गर्भवतीको ज्यान पनि जान सक्छ ।

पाठेघरको संक्रमण (पीआईडी) भएका तथा केही गर्भनिरोधक -आईयुडी, मिनीपिल्स) प्रयोग गर्नेहरुमा इक्टोपिक पि्रग्नेन्सी हुने सम्भावना बढी रहे पनि सबै अवस्थामा यसको कारण पत्ता लगाउन सकिँदैन । समयमा अर्थात ६ देखि ८ हप्ताको गर्भ हुनेबित्तिकै भिडियो एक्सरे गरेमा इक्टोपिक पि्रग्नेन्सी रहेको वा नरहेको थाहा पाउन सकिन्छ । इक्टोपिक पि्रग्नेन्सी भएको थाहा पाउनेबित्तिकै कुनै नराम्रो अवस्था आउनु अगाडि नै यसको अन्त गरिनु पर्छ ।

गर्भावस्थाको पहिलो तीन महिनामा हुन सक्ने खतरनाक अवस्था भनेको इक्टोपिक रप्चर हो । गर्भ पाठेघरमा रहनु पर्छ तर अण्डबाहिनी नलीमा रहन सक्छ । इक्टोपिक प्रिग्नेन्सीमा अण्डबाहिनी नली फुटेर, पेटमा अत्याधिक रक्तश्राव हुन्छ । समयै अस्पताल पुर्‍याउन सकिएन भने गर्भवतीको ज्यान नै जोखिममा पर्नसक्छ ।

अन्य समस्या

गर्भावस्थामा अन्य धेरै समस्याहरु हुन सक्छ । पहिलो तीन महिनामा भएको सानो समस्याले पनि गर्भ तुहिने सम्भावना रहन्छ । त्यसैले यस अवस्थामा नियमित रुपमा स्वास्थ्य परिक्षण गर्नु पर्छ । चिकित्सकले दिएको औषधिहरु सहि तरिकाले सेवन गर्नु तथा दिएका निर्देशनहरु पुर्णरुपले पालना गर्नुपर्ने हुन्छ ।

अधिकांश गर्भवतीहरुले गर्भावस्थामा औषधि सेवन गर्ने कि नगर्ने दोधारमा हुन्छन् । गर्भावस्थामा पनि धेरै औषधिहरु सेवन गर्नुपर्ने हुन सक्छ । तर यस अवस्थामा सबै औषधिहरु सुरक्षित नहुने भएकाले चिकित्सकको परामर्श पछि मात्र औषधि सेवन गर्ने गर्नुपर्छ ।

गर्भवतीलाई धेरैभन्दा धेरै आराम र पौष्टिक खानेकुराको आवश्यकता पर्दछ । तर, चिकित्सकको सल्लाहअनुसार हलुका किसिमका व्यायाम गर्नसकिन्छ ।

यौन सम्पर्क गर्ने कि नगर्ने

गर्भावस्थामा यौनसम्पर्कबारे सबैलाई एउटै उत्तर नहुन सक्छ । सामान्य अवस्थामा गर्भवती महिलाको खुशीमा सम्पर्क गर्न सकिन्छ तर उनलाई सजिलो हुनु आवश्यक हुन्छ । यसमा के ख्याल गर्नुपर्छ भने गर्भवतीको पेट थिचिनु हुँदैन । यसका लागि पनि केही आसनहरु छन् । यौन सम्पर्क गर्ने कि नगर्ने, कसरी गर्ने आदि विषयमा विशेषज्ञहरुसँग परामर्श गर्नुपर्छ ।

त्यस्तै मर्निङ वाक गर्ने, दौडिने, साइकल कुदाउने, पौडि खेल्ने जस्ता गतिविधि पूर्ण प्रतिवन्ध नभए तापनि सजग हुनु आवश्यक हुन्छ । गर्भावस्थामा गह्रुंगा सामान बोक्नु, लामो दुरीको यात्रा गर्नु, मानसिक तनाव लिनु, धुम्रपान तथा मद्यपान सेवन गर्नु घातक हुन्छ ।

(डा. साह, मोरङ सहकारी अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment