Comments Add Comment

सगरमाथा चढ्ने नेपाली स्काउटर: जसले नेपालको संविधानलाई चुचुरोमा पुर्‍याए

३ असोज, झापा । झापा धुलाबारीका अनिस लुइँटेल स्काउटमा थिएनन् भने शायद उनीसँग त्यो साहस हुने थिएन, जसले उनलाई सर्वोच्च शिखर सगरमाथासम्म संविधान बोकेर डोर्‍यायो ।

उनकै शब्दमा स्काउटले उनलाई त्यो साहस, संवदेनशीलता र अनुशासन दियो, जसका कारण उनी २१ वर्षको उमेरमा विश्वकै सर्वोच्च शिखरको चुचुरो चुम्न सफल भए । र, जननिर्वाचित संविधानसभाबाट जाी भएको संविधानलाई शिखरमा पुर्‍याएर कार्यान्वयनमा एकजुट हुनुपर्ने सन्देश दिए ।

हर्षले जीतेको क्षण

७ जेठ ०७३ बिहान ५ः२७ बजे । सँगै गएका शेर्पाले उनलाई ‘बधाई’ दिए ।

वाक्कीटक्कीमा म्यानेजर डा. निमाले भनिन्, ‘बुद्ध जयन्तीको दिन समिट गर्नु भयो, हार्दिक बधाइ ।’

डा. निमाका शब्दले उनको डर नै भगाए, हर्ष र खुशीले जिते । शिखरबाट तलतिर बादलका झुण्ड देखिए । ‘तल हेर्दा बादल र स-साना पहाड मात्र देखिन्थे,’ उनले सझिए, ‘मन एकदम फुरुंग थियो ।’

चुचुरोमा करिब आधा घण्टाको बसाइमा उनले सबै कष्ट बिर्सिए । अघिल्लो पटक आरोहण गर्दा भूकम्पका कारण बीचबाटै फर्किनु पर्दाको पीडादेखि संसारको शिखरमा पुगेर तल झर्दाको कष्टकर पल सबै उनको मानसपटलबाट बाहिरिए ।

चुचुरोमा पुग्नुअघि मनमा अनेक कुरा खेलिरहेका थिए । क्याम्प-४ कटेपछि त उनले जीवितै फर्किन सकुँला भन्ने आशा पनि मारेका थिए ।

घुँडा दुख्यो । सास बढ्यो । जीवित रहने सम्भावना कम भएको भान भयो । र, सँगै रहेका शेर्पालाई अनिशले भने, ‘म जहाँसम्म हिँड्न सक्छु, त्यहाँसम्म मात्रै मसँगै आउनु । हिँड्न नसक्ने भएपछि छाडेर फर्किनु ।’

तर, शेर्पाले उनलाई हिम्मत हार्न दिएनन् । चुचुरो नपुगुञ्जेल प्रेरणा बनिरहे । अन्ततः उनी चुचुरोमा पुगिछाडे । र, सगरमाथा चढ्ने पहिलो नेपाली स्काउटरको इतिहास रचे ।

सगरमाथा चढेको वर्षदिन पूरा हुँदा उनको मनमा नयाँ योजना खेलिरहेका छन् । तिब्बती मोहडाबाट सगरमाथा आरोहण गरी शिखरमा पुगेर डण्डिबियो खेल्ने योजना बुन्दैछन्, अनिश ।

यसरी शुरु भयो सगरमाथा यात्रा

आठ हजार आठ सय ४८ मिटरको शिखर सफलतापूर्वक चुम्नुअघि उनले ६ हजार एक सय ६० मिटरको आइल्यान्ड पिक चढिसकेका थिए । कञ्चनजंघा आधारशिविरमा तीन र अन्नपूर्ण आधारशिविरसम्म दुई पटक ट्रेकिङ गरिसकेका थिए ।

२० चैत ०७२ । सगरमाथाको चुचुरोमा पुग्ने उनको पहिलो प्रयास थियो । त्यति नै बेला भूकम्प गयो, उनी मुस्किलले जोगिए ।

क्याम्प-२ बाट उकालो लाग्न सम्भव भएन । सगरमाथा चढ्ने उनको पहिलो योजना तुहियो । त्यहीँबाट फर्किन बाध्य भए । तर, हिम्मत हारेका थिएनन् ।

२१ चैत ०७३ । सगरमाथा चढ्न दोस्रो पटक उनका पाइला अगाडि सरे । काठमाडौंबाट लुक्ला विमानस्थल र त्यहाँबाट नाम्चे हुँदै नौ दिनमा आधारशिविर पुगे ।

केही दिन त्यहीँ बसेर हावापानीसँग अभ्यस्त भए । १/२ दिनपछि उनको पालो आयो, आधारशिविरबाट उकालो लागे । तीन दिनको गन्तव्य पुग्न उनलाई चार दिन लाग्यो ।

मौसम खराब भएकाले ६ हजार मिटरमा रहेको क्याम्प-१ पुग्न उनलाई एक दिन बढी लागेको थियो ।

त्यसपछि क्याम्प-२ हुँदै तीनमा पुगे । त्यहाँ थुप्रै आरोहीका शव देखे, उनले । त्यो दृश्य देख्दा उनको मनमा चसक्क भयो ।

क्याम्प-३ र ४ को बीचमा त उनले केही शव टेक्दै अगाडि बढ्नु पर्यो । हिउँका ठूला चट्टानको बीचबाट अगाडि बढिरहे ।

उनको भनाइमा उकालो लागेपछि एकै ठाउँ कहीँ पनि तीन मिनटभन्दा बढी बस्न सकिँदैन, लेक लाग्छ । वाक्कीटक्कीमा समय हेर्दै उनी उकालिइरहे ।

कहिले हिउँ जमेको चट्टानबाट धेरै तल खसे । कहिले नाक ठोक्कियो भने कहिले घुँडा । आत्मबल मजबुत बनाउँदै उनी सात हजार आठ सय ५० मिटरको क्याम्प-४ मा पुगे ।

शिखर चुम्न नौ सय मिटर बाँकी थियो । तर, त्यो अवधि उनका लागि निक्कै कष्टकर बन्यो । घुँडा दुख्ने, सास बढ्नेलगायत समस्या देखा परे । जसोतसो उकालो लागिरहे । अन्ततः चुचुरोमा पुगिछाडे ।

सगरमाथा चढ्दाको अनुभव

चुचुरो चढ्न शुरु गरेपछि फर्किएर पछाडि हेर्नै नसकिने उनी बताउँछन् । भन्छन्, ‘सिरिङ्ग भएर आउँछ, होसहवास उड्छ । मुटु पनि काप्न थाल्छ ।’

सगरमाथा आरोहण गर्दा भुलेर पनि घरपरिवार र आफन्त सम्झन नहुने उनी बताउँछन् ।

सगरमाथातर्फ पाइला सोझिँदै गर्दा उनलाई एक शेर्पाले प्रश्न गरेका थिए, ‘मर्नलाई आएको होस् ?’ उनी अवाक् भएका थिए, त्यसबेला । तर, सफल आरोहणपछि उनले थाहा पाए, सगरमाथा चढ्नु भनेको मृत्युको मुखमा पुगेर फर्किनुजस्तै रहेछ ।

क्याम्प-३ कटेपछि अक्सिजन सकिएर बसेका धेरै आरोही भेटिए । ‘त्यो अवधिमा आफ्नो अक्सिजन सिलिन्डर एकछिन पनि छाड्नु नहुने रहेछ,’ उनी भन्छन्, ‘अर्को आरोहीले अक्सिजन चोर्ने सम्भावना पनि हुँदो रहेछ ।’ उनको बुझाइमा सिलिन्डरमा लिकेजलगायत कारणले अक्सिजन सकिने रहेछ ।

शेर्पाको स्नेह

सगरमाथा आरोहण गर्दा शेर्पाको सहयोग अविष्मरणीय रहेको उनी बताउँछन् । ‘शेर्पा दाइले जतिबेलै हिम्मत दिइरहनु भयो,’ उनी भन्छन्, ‘उहाँको प्रेरणाले शिखरमा पुग्न थप उर्जा मिल्थ्यो ।’

सँगै गएका शेर्पाले चुचुरोमा चढ्दा अरुलाई फोहोर नफाल्न सुझाव दिने गरेका थिए । उनलाई सहयोगी शेर्पाले परिवारको सदस्यजस्तै हेरचाह गरिरहे । उनी भन्छन्, ‘वास्तवमा सगरमाथाको माया त ती शेर्पा दाइहरुमै बढी छ ।’

फर्किंदाको उत्साह

चुचुरोमा पुगेर फर्किंदा उनमा बेग्लै उत्साह र उमंग थियो । फुरुंग थिए, उनी । ‘उकालो चढ्दाभन्दा ओरालो झनै गाह्रो लाग्यो,’ उनी भन्छन्, ‘तर, फर्किंदा छिटो हुन्छ ।’

फर्किँदा चढ्दाजस्तो धेरै समस्या भएन, उनलाई । एक दिनमै क्याम्प-४ मा ओर्लिए । र, त्यहीँ बास बसे । अर्को दिन एकैपटक क्याम्प-२ आइपुगे । थप एक दिनमा त आधारशिविरमै आए ।

आधारशिविर पुग्नु ४५ मिनट अगाडि नै त्यहाँका प्रमुख नागा दोर्जे शेर्पा उनलाई स्वागत गर्न प|mुटी र कोक लिएर आएका रहेछन् । उनको खुशीको सीमा थिएन ।

सगरमाथा पुर्‍याएर ल्याएको संविधानको प्रति उनले तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई हस्तान्तरण गरे । ओलीले बधाइ दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment