Comments Add Comment

‘डिभोर्स’को कारक दीपक होइनन् : मिलन अमात्य

मसँग के असन्तुष्टी थियो, बुझेको छैन: मेन्सन

६ वर्ष अगाडि वैवाहिक जीवनमा बाँधिदै गर्दा चर्चित गायिका मिलन अमात्य र उनका श्रीमान् मेन्सन अमात्यले, यति चाडै नै सम्बन्धबाट अलग हुनुपर्ला भनेर सोचेका थिएनन् । तर, सोमबार काठमाडौंको जिल्ला अदालतमा पुगेर औपचारिक रुपमा विछोडको गन्तव्य रोज्दै गर्दा मेन्सन र मिलनको आँखा पक्कै रसाए होलान् ।

६ वर्षको दौरानमा उनीहरुबीच माया साटियो, भावना जोडिए । तर, माया र भावनाको बीचमा उभिदियो दुर्इको सोच । यही सोचका कारण मिलन र मेन्सनले जीवनमा ६ वर्ष मात्र एकसाथ सहकार्य गरे र अलग हुने निर्णय अदालतबाटै गरे।

केही वर्ष अगाडि मात्र चर्चित गायिका अन्जु पन्त र संगीतकार मनोजराजको वैवाहिक सम्बन्ध टुंगिएको खबर पढेका पाठकले त्यसको केही समयपछि नै अर्की प्यारी गायिकाको डिभोर्सको खबर पढ्नुपर्याे । गायिका अमात्यलार्इ दर्शकले अन्जु पन्तको प्रतिस्पर्धीको रुपमा पनि चिन्दै आएका थिए । तर, यी दुबै खबर दर्शक र पाठकका लागि साच्चै, दुखदायी नै थिए ।

मिलन र मेन्सनको बीचमा के थियो त असमझदारी ? के कुराले एकसाथ जीउने कसम खाएको यो जोडीलार्इ अलग बनायो । हामीले मिलनसँग यो बिषयमा कुराकानी गरेका छौँ । उनले, अनलाइनखबरसँग गरेको कुराकानी उनकै शब्दमाः

डिभोर्सको कारण पारिवारिक

डिभोर्सको मुख्य कारण पारिवारिक नै हो । जीवनमा रहँदै बस्दै गर्दा सबै कुरा मिल्छ भन्ने नहुने रहेछ । मेरो पनि उहाँको परिवारसँग कुरा मिलेन । अर्कोतिर, सांगीतिक करिअरमा अगाडि बढ्दै गर्दा मैले उहाँको परिवारलार्इ पनि समय दिन सकिनँ । मुख्यतया, मैले सासु आमालार्इ समय दिन सकिनँ । यही कुराले एकअर्कासँग मनमुटाव सुरु भयो । जसले गर्दा हामीले एक अर्काकै समझदारीमा खुशीले नै डिभोर्सको बाटो रोज्यौैँ ।

मेरो करिअरमा पनि उहाँले धेरै साथ दिनुभएको छ । तर, आसामबाट म काठमाडौं आएर गीत रेकर्डिङ गर्दै गर्दा उहाँसँग मेरो भेट भएको थिएन । पारिवारिक समझदारीमा हामीले ‘मागी बिहे’ गरेपछि मेरो ‘मिलन’ नामक एल्बम निस्कन ५ महिना ढिला भयो । उहाँको परिवारलार्इ समय दिन व्यस्त हुँदा ५ महिना अगाडि नै निस्कनुपर्ने एल्बम ५ महिना ढिला निस्कियो ।

हामीबीच, मुख्यतया मेरो सांगीतिक करिअर उचाइमा जाँदै गर्दा मनमुटाव सुरु भयो । मैले समय दिन नसकेको कुराले नै हामीबीच झगडा हुन्थ्यो ।

डिभोर्सको कुरा बिहेको २ महिनामा नै

हामीबीच बिहे भएको २ महिनामा नै डिभोर्सको कुरा उठेको थियो । मैले बिहे अगाडि नै ‘मेरो करिअरमा ह्याम्पर हुन्छ कि हुँदैन’ भनेर सोधेकी थिएँ । उहाँहरुले केही असर पर्दैन भनेपछि मैले बिहे गरेकी हुँ । कहिलेकाही मेन्सनजीले, मिलनले बिहेपछि गाउन कम गर्छ, परिवारलार्इ समय दिन्छ भनेर मिडियामा बोल्नु पनि भएको छ । तर, सांगीतिक करिअरमा म घर बाहिर निस्कन थालेपछि हामीबीच किचलो सुरु भएको हो ।

यति चाँडै उचाइमा पुग्छु भन्ने सोच्नु भएको थिएन

उहाँको परिवारले म यति चाडो सांगीतिक करिअरमा अगाडि बढ्छु भनेर सोच्नु भएको थिएन । उहाँहरुलार्इ ‘घरकी बुहारी’ हो, खाना पकाएर बसोस् भन्ने सोच्नु भएको थियो होला । उहाँहरुले त्यस्तै बुहारी पनि खोज्नुभएको रहेछ । तर, मैले घरमै खाना पकाएर बस्न सकिनँ । सासु आमालार्इ समय दिन सकिनँ । मनमुटाव गरेर बस्नुभन्दा अलग हुनु नै राम्रो हुन्छ भन्ने हामीले ठान्यौँ र दुर्इवटा गन्तव्य रोज्यौँ ।

मैले उहाँसँग अलग भएपछि उहाँको परिवारसँग कुनै पनि कुरा मागेकी छैन । हामी एक अर्काको सहमतीमै अलग भएका हौँ ।

दीपकसँग व्यवसायीक सम्बन्ध मात्र

मलार्इ जसरी गायक दीपक लिम्बुसँग जोडिएको छ, यसमा मेरो पूर्ण आपत्ती छ ।, उहाँ एउटा राम्रो कलाकार हुनुहुन्छ । मैले पनि उहाँसँग केही गीतहरु गाएकी छु । हामीबीच सम्बन्ध त छ, तर पूर्ण व्यवसायिक मात्र । हामी कार्यक्रमको सिलसिलामा एकसाथ धेरै स्थानमा गएका पनि छौँ। धेरै ठाउँमा पुग्दा हाँसियो होला, बोलियो होला । त्यसलार्इ कुन मान्छेले कसरी हेर्छ, त्यो उसको कुरा हो ।

मेरो डिभोर्सको मुख्य कारण, दीपक लिम्बु होइनन् । म र मेन्सनजी को बीचमा कहिले पनि यो कुरा उठेन । बजारमा जसरी दीपक लिम्बु र मेरो सम्बन्धको कारण डिभोर्स भयो भन्ने हल्ला छ, यो पूर्ण गलत हो । हाम्रो डिभोर्सको बिषयमा कहिले पनि यो कुराले प्रवेश पाएको थिएनँ ।

फेरि उस्तै उचाइ पाउनेछु

मेरो करिअरमा मेरा दर्शक तथा श्रोताले मेरो गीत मन पराइदिनु भएको हो । उहाँहरुलार्इ मलार्इ एउटी राम्री गायिका भनेर चिन्नुुहुन्छ । मलार्इ हरेक कुरामा कमेन्ट गर्दा मेरो गीत संगीतसँग जोड्नुहुन्छ । यसैले मेरो व्यक्तिगत कुराले मेरो करिअरमा कत्ती पनि असर गर्दैन भन्नेमा म विश्वस्त छु ।

अहिले म आफ्नै फ्ल्याटमा बस्दै आएकी छु । म मेरो सांगीतिक करिअरमा निरन्तर अगाडि बढाउनेछु । म अहिले थोरै समस्यामा छु । यस्तो अवस्थामा कसैलार्इ पनि पीडामाथि पीडा नथपिदिन आग्रह गर्दछु । म मेरो श्रोता र दर्शकको कारण यो स्थानमा छु र सधैँ रहिरहनेछु ।

यस्तै, हामीले मिलनका पूर्व श्रीमान् मेन्सन अमात्यसँग पनि डिभोर्सको कारण के हो भनेर सोधेका थियौँ । उनले अनलाइनखबरलार्इ दिएको जवाफ उनकै शब्दमाः

सबैलार्इ थाहा छ कि, मैले मिलनलार्इ उनको करिअरमा कती सपोर्ट गरेको छु । आसामबाट आएकी उनलार्इ मैले नागरिकता पनि मेरै नामबाट दिलाएको छु ।

उनको पहिलो एल्बम सार्वजनिक गर्दा पनि मैले सबै सहयोग गरेँ । उनको सांगीतिक करिअरमा मैले निकै को-अर्डिनेट गरेको छु । पहिलो एल्बम चर्चा भएपछि नै उनले चलचित्रमा गीत गाउन थालिन् । म कहाँ चुके मलार्इ पनि थाहा छैन ।

मेरो घरमा मेरी आमा र म थियौं । उनी आएपछि हामी ३ जना भयौं । उनले, आमासँग बस्न सक्दिनँ भनेपछि मैले नै कुलेश्वरमा फ्ल्याट किनेर हामी एकसाथ बस्यौं । म भने बेला-बेलामा आमालार्इ भेट्न जान्थेँ । उनको र मेरो बीचमा ६ महिना अगाडिबाट डिभोर्सको कुरा सुरु भएको हो ।

उनले, अब म तिमी र तिम्रो परिवारसँग बस्न सक्दिनँ भनिन् । मैले किन ? भनेर सोध्दा, उनले एकसाथ बस्दिनँ भनेर कुरा गरेपछि मैले बाटो खुला गरिदिएको हुँ । बजारमा चलेको हल्ला मेरो पनि कानमा आएपछि मैले उनलार्इ सोधेको थिएँ । तर, उनले होइन भनेर जवाफ दिइन् । उनी र म आधा वर्षदेखि अलग बस्दै आएका छौँ । उनी कुलेश्वरको फ्ल्याटमा बस्दै आएकी छिन् भने म आमासँग बस्छु ।

उनको असन्तुष्टी मसँग के थियो भन्ने मैले बुझेको छैन । यदि, मेरी आमासँग उनको असन्तुष्टी थियो भने मैले उनलार्इ कुलेश्वरमा छुट्टै राखेको थिएँ । अलग हुनुपर्ने कारण के थियो ? म उनलार्इ यो कुरा सोध्न चाहन्छु ।

०००

मिलन पारिवारिक असमझदारीका कारण अलग भएको बताउँछिन् भने मेन्सनले भने मिलनले आफूसँग अलग हुन खोज्नुको कारण अझै बुझेका छैनन् । तर, मिलन र मेन्सनको सम्बन्धमा पूर्णरुपमा विश्राम लागेको छ । जीवनको कालखण्डलार्इ एकसाथ अगाडि बढाउने, हाँस्दा एकसाथ हाँस्ने र रुदा एकसाथ रुने यी दुर्इको सपना अधुरै रहन पुग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment