Comments Add Comment

भारतबाट चोरेर भागेका नेपाली पक्राउ

३ असोज, कैलाली । भारतको बैंगलोरबाट चोरी गरेर भागेका चार जना नेपालीलाई नेपाल प्रहरीले पक्राउ सफल भएको छ ।

गत भदौ ८ गते बैंगलोरको हेब्बाल भन्ने स्थानबाट सुरेश मालीको घरमा काम गर्ने एकजना नेपालीले अन्य तीन जना नेपालीको सहयोगमा सुनका गहना चोरेर भागेको सूचनाको आधारमा नेपाल प्रहरीले चारै जनालाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेकाहरुमा सबै बझाङ जिल्लाका हुन् । जसमा सुरेश मालीको घरमा विगत २ महिनादेखि कामदारको रुपमा कार्यरत चैनपुर नगरपालिका ३ रिठापाठाका २० वर्षीय उमेश धामी, आमाको उपचारका लागि भनेर गएका जयपृथ्वी नगरपालिका १ भण्डारका ३४ वर्षीय कुमार थापा, भारतको बैंगलोरमा नै कामदारको रुपमा कार्यरत मष्टा गाउँपालिका १ जिम्बाडाका ४२ वर्षीय अर्जुन खाती र सोही ठाउँका ३४ वर्षीय पुर्ण थापा रहेका छन् ।

भदौ १२ गते गौरिफन्टा नाका हुँदै नेपाल पसेका कुमार थापालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा भदौ २१ गते अर्जुन खाती र पुर्ण थापालाई नेपालगञ्जबाट र भदौ २९ गते उमेश धामीलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको प्रहरी उपरिक्षक चन्दले बताए ।

पक्राउ परेकाहरुको बयानको आधारमा धनगढी उपमहानगरपालिका ३ विशालनगरस्थित अर्जुन खातीको आफन्तको घरको गोठ पछाडि रहेको गोबरमल भित्र लुकाइराखेको अवस्थामा सुनचाँदीका तयारी गरगहना भेटिएको थियो । उनीहरुको साथबाट चोरीका समानसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक अर्जुन चन्दले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीको मुद्दा शाखामा कार्यरत प्रहरी नायब निरिक्षक गेहेन्द्र शाहीको नेतृत्वमा घटनाको अनुसन्धान गरिएको थियो ।

प्रहरीले उनीहरुको साथबाट ९९ हजार ५ सय नेपाली रुपैयाँ र १ थान सामसुङ ट्याबलेट समेत बरामद गरेको अनुसन्धान अधिकृत प्रहरी नायव उपरिक्षक गेहेन्द्र शाहीले जानकारी दिए । चोरी गरेर ल्याइएका सुनचाँदीका गरगहनाको तौल ८ सय ४० ग्राम रहेको प्रहरीले जानकारी दिएको छ । जसमा चाँदीका सिक्का, सुनका बाला, औठी, सिक्री, मंगलसुत्र लगायतका तयारी गरगहना रहेको प्रहरी नायब निरिक्षक शाहीले जानकारी दिए ।

पक्राउ परेकाहरुले दिएको प्रारम्भिक बयानमा उनीहरु चोरी गर्ने उद्देश्यले नै भारत गएको देखिएको प्रहरीले जानकारी दिएको छ ।

विगतदेखि नै कामदारको रुपमा भारतीय विभिन्न शहरहरुमा गएर सुनचाँदी तथा नगद चोरेर नेपाल ल्याउने गरेका थुप्रै घटनाहरु बाहिर आएपनि प्रहरी अनुसन्धान फितलो तथा चोरी गरेर ल्याउने संगको मिलेमतोमा घटना बाहिर आउने गरेका थिएनन् । तर कैलाली प्रहरीले सूचना पाउने वित्तिकै थालेको अनुसन्धानले सफलता पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment