Comments Add Comment

‘आई हेल्थ हिरो’ अवार्डबाट डा. पन्त सम्मानित


३ असोज, कैलाली । धनगढीका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. विद्या प्रसाद पन्त ‘आई हेल्थ हिरो २०१७’ अवार्डबाट सम्मानित भएका छन् । विश्वभरि आँखा उपचारको क्षेत्रमा काम गर्नेहरु मध्येबाट डा. पन्तलाई द ईन्टरनेशनल एजेन्सीज फर द प्रिभेन्सन एण्ड कन्ट्रोल अफ ब्लाइन्डेसन (आईएपीबी)ले सो अवार्डबाट सम्मान गरेको हो ।

आईएपीबी आँखा उपचारका क्षेत्रमा काम गर्ने संसारभरका सबै संस्थाहरुको छाता संगठन हो । आईएपीबीले आँखा उपचारमा उत्कृष्ट काम गर्नेहरुलाई सन् २०१२ देखि ‘आई हेल्थ हिरो’ अवार्ड प्रदान गर्दै आएको छ ।

यो वर्ष आईएपीबीले डा. पन्तसँगै तिलगंगा आँखा अस्पताल काठमाडौंमा कार्यरत प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ र सेवा फाउण्डेसन युएसएका नेपाल डाइरेक्टर डा. राम प्रसाद कँडेललाई समेत ‘आई हेल्थ हिरो २०१७’ ले सम्मानित गरेको छ ।

को हुन् डा. पन्त ?

डा. पन्तकै नेतृत्वमा कैलालीको गेटामा रहेको गेटा आँखा अस्पतालले नेपाल भित्र र विदेशमा समेत ख्याती कमाएको थियो । २०४० सालमा नेत्र सहायकको रुपमा गेटा आँखा अस्पतालमा सेवा शुरु गरेका डा. पन्त २०५९ सालमा सोही अस्पतालमा नेत्र विशेषज्ञको रुपमा कार्यरत थिए । उनी हाल म्यानमार (बर्मा)को टिपीटाका चाकुपाला आँखा अस्पतालमा कार्यरत छन् ।

डा. पन्तले संसारका गरिब, अविकसित र विकासोन्मुख विभिन्न मुलुकमा पुगेर आँखाका रोगिहरुको उपचार समेत गरेका छन् । डा. पन्तलाई नेपाल तथा नेपाल बाहिर आँखा उपचारका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै आईएपीबीले ‘आई हेल्थ हिरो २०१७’ चयन गर्दै विश्वकै सबैभन्दा ख्यातीप्राप्त अवार्ड प्रदान गरेको हो ।

डा. पन्तकै नेतृत्वमा अहिले धनगढीमा नेत्रालयको स्थापना भई सेवा समेत सुचारु भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment