Comments Add Comment

नेपालबाट राँगाको मासु तेस्रो मुलुक हुँदै चीनमा

माग बढे पनि निर्यात खस्किँदै

४ असोज, काठमाडौं । नेपालमा विदेशबाट आयातको तुलनामा निर्यातजन्य वस्तु त्यसै पनि कम छन् । निर्यात भइरहेका वस्तुको परिमाण पनि घट्दै गएको छ ।

त्यसैमा पर्छ, भैंसी तथा राँगाको मासु पनि । मासुको उक्त परिकारको चीनमा अत्यधिक माग छ । तर, त्यो सीधा नभई तेस्रो मुलुक हुँदै चीन पुग्छ ।

भारत, भियतनाम र थाइल्यान्ड हुँदै चीन पुर्‍याइने हुनाले सरकारी अभिलेखमा चीन निर्यात भएको देखिँदैन । गुणस्तर परीक्षण नगरिएको मासुलाई चीनले आयात गर्न दिँदैन । सोही कारण व्यवसायीले घुमाउरो बाटो प्रयोग गरेका हुन् ।

नेपालमा खुलेका मासुजन्य उद्योगमा चिनियाँ लगानीकर्ताको लगानी छ, जसले नेपाली व्यवसायीसँग साझेदारी गरेका छन् ।

ती कम्पनीको मुख्य उद्देश्य आफ्नो मुलुकमा रहेको अत्यधिक माग धान्नु हो । र, सीधा निर्यात गर्न नसकिने भएकाले चिनियाँ भूमिमा प्रवेश गराउँछन्, उनीहरुले ।

अन्य मुलुकको तुलनामा नेपालबाट उत्पादित मासु सस्तो पर्छ । नेपालले राँगा र भैंसीको मासुको उत्पादन बढाउने हो भने चीन निर्यातको सम्भावना प्रचुर रहेको व्यवसायीको भनाइ छ ।

चिनियाँ लगानीमा नेपालमा हालसम्म १० वटा मासु उद्योग खुलिसकेका छन् । तर, तीमध्ये अधिकांश बन्द छन् । वीरगञ्ज र हेटौंडाका उद्योग बन्द भइसकेको व्यवसायीहरुले जानकारी दिए ।

भारतबाट चराउँदै नेपाल भित्र्याइएका राँगा, भैंसी ती उद्योगमा पुर्‍याएर काटिन्छ र मासु प्रशोधन गरिन्छ ।

माग बढ्दै, निर्यात घट्दै

उद्योग विभागका अनुसार आर्थिक वर्ष ०७३/७४ मा ३६ करोड रुपैयाँको राँगा तथा भैंसीको मासु थाइल्यान्ड, भियताम र लाओस निर्यात भएको छ । आव ०७२/७३ मा उक्त परिमाण ३५ करोड रुपैयाँ बराबर थियो । आव ०७१/७२ मा ६६ करोडको निर्यात भएको थियो भने आव ०७०/७१ मा ७१ करोडको ।

र, त्यो सबै चीन पुर्‍याइएको थियो ।

काठमाडौं र बर्दियामा मासु उद्योग ‘चाइना लङ फुड’ सञ्चालन गरिरहेका लाले तामाङका अनुसार नेपाली मासु उद्योगहरुले विदेशमा माग भएअनुसार उत्पादन गर्न सकेका छैनन् । देशमा राँगा र भैंसीको उपलब्धता घट्दै गएका कारण पनि उत्पादन बढाउन नसकिएको तामाङको भनाइ छ ।

भारतबाट आयातीत राँगा/भैंसीमै निर्भर रहनु परेकाले उद्योगहरुले माग धान्न नसकेका हुन् । त्यो पनि, चीनको माग नभई उद्योगको उत्पादन परिमाण धान्ने तहको मात्र छ ।

स्वदेशमा छैन माग

मासु व्यवसायीले ‘फ्रोजन’ गरेको मासु विदेश निर्यात गर्छन् । त्यस्तो मासुको बजार नेपालमा खासै छैन ।

आन्तरिक बजारमा यस खालको माग नभएका कारण पनि मासु उद्योगीहरु निराश भएका छन् । मासु उद्योग बन्द हुनुमा आन्तरिक बजारमा पनि यसको माग नहुनु हो ।

विदेशमा माग भएअनुसारको उत्पादन गर्न नसक्ने र स्वदेशमा मागै नभएका गरेका कारण उद्योगहरु बन्द गर्नुको विकल्प नरहेको व्यवसायीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment