Comments Add Comment

बाराका उपमहानगरमा मतगणना सुस्त, सकिन अझै चार दिन लाग्ने


४ असोज, सिमरा । बाराका १६ स्थानीय तहमध्ये दुई उपमहानगरको मतगणना सकिन अझै हप्तादिन लाग्ने देखिएको छ । जितपुरसिमरा उपमहानगरको मंगलबार बिहान ५ बजेदेखि सुरु भएको मतगणना बुधबार साढे चार बजेसम्म करिब २० प्रतिशत मात्रै गणना सकिएको छ ।

यस उपमहानगरमा रहेका जम्मा ५६ हजार ६ सय ६० मतदातामध्ये ४४ हजार ८ सय १७ मत खसेको छ । जसमध्ये साढे चार बजेसम्म ३४ हजार ९ सय ६४ मत गणना गरिएको छ । यो आँकडामा नगरको गणना सकिन अझै हप्तादिन लाग्न सक्ने अनुमान गरिएको छ ।

यता निर्वाचन अधिकृत भिम प्रसाद भुर्तेलले भने सकेसम्म छिट्टै गणना सक्ने गरी काम भइरहेको बताएका छन् ।

‘सुरुवाती चरणको जस्तो अब ढिला हुँदैन, २४ सै घण्टा गणना भइरहेको छ,’ उनले भने, ‘कुनै बाधा ब्यवधान नभए ४ देखि ५ दिनसम्म सकिन्छ भन्ने अनुमान छ ।’

उता जिल्लाको अर्को उपमहानगर कलैया उपमहानगरमा मंगलबार दिउँसोबाट मात्रै गणना सुरु भएकाले अझ ढिला हुने भएको छ ।

निर्वाचन आयोगले ५ दिनभित्र २ नम्बर प्रदेशको मतगणना सक्ने भनेर तयारी गरेपनि बिभिन्न कारणले सो समय अवधिभित्र गणना नसकिने संकेत देखिएको छ । यद्यपी बाराका अन्य नगरपालिका र गाउँपालिका भने ३ देखि ४ दिन भित्र गणना सकिने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

निर्वाचन कार्यालयको ब्यवस्थापन फितलो

जिल्ला निर्वाचन कार्यालय बाराले मत गणनाको उचित ब्यवस्थापन गर्न नसक्दा गणनामा ढिलासुस्ती भएको छ ।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले गणना सकिन अझै ६ दिन लाग्न सक्ने बताए । हाल प्रत्येक मतगणनास्थलमा ५ समूहबाट मतगणना भइरहेको छ भने बिहीबारबाट अरु एक-एक स्थान थप गरी मत गणना गरिने भएको छ ।

अधिकृत थापाले गणनाका क्रममा दलका प्रतिनिधि धेरै बसिदिने हुनाले दल प्रतिनिधिकै उल्झनका कारण गणनामा ढिला भएको बताए ।

यस्तै निर्वाचनमा खटिएका निर्वाचन अधिकृत र जिल्ल्ाा निर्वाचन कार्यालयको टेलिफोन नउठ्दा सञ्चारकर्मीले समस्या झेलेका छन् ।

अधिकांश निर्वाचन अधिकृतका मोबाइल अफ गरिएकाले पनि मतपरिणामबारे सञ्चारमाध्यममा सुसूचित गर्न अबेर भएको पत्रकार लक्ष्मी साहले गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment