Comments Add Comment

नेपालमा अमेरिकादेखि उत्तरकोरियासम्मका कामदार

अदक्ष कामदार विदेश पठाईंदै दक्ष विदेशबाट ल्याइँदै

२९ असोज, काठमाडौं । कामको खोजीमा नेपाली युवाहरु विदेशिने गरेको समाचार नौलो भएन । तर, काम खोज्दै अन्य देशबाट नेपाल आउने क्रम पनि पछिल्लो समयमा बढेको छ । फरक के छ भने हामी नेपालबाट अदक्ष जनशक्ति विदेश आपूर्ति गर्छौं, विदेशबाट दक्ष जनशक्ति नेपाल आउँछन् ।

दक्ष जनशक्तिको अभाव भएपछि विभिन्न कार्यालय, होटल, उद्योग, परियोजना र संघसंस्थामा विदेशी कामदारहरु भर्ति गर्ने क्रम बढेको हो । नेपालका विकासे आयोजनामा इन्जिनियर, विमान कम्पनीमा पाइलट तथा विभिन्न विशेष प्राविधिक दक्षता आवश्यक हुने क्षेत्रमा विदेशी कामदारको माग छ ।

सरकारी निकायसँग भएको सम्झौता, विज्ञापन गर्दा पनि नेपाली कामदार नपाइनु लगायतका विभिन्न अवस्थामा विदेशी कामदार नेपाल ल्याउन पाइन्छ । श्रम तथा रोजगारजन्य सुरक्षा विभागका निर्देशक तथा प्रवक्ता सूर्यप्रसाद उपाध्यायका अनुसार ठूला परियोजनामा व्यवस्थापन हेर्न आजभोलि ठेकेदार कम्पनीहरुले विदेशबाटै कामदार ल्याउन थालेका छन् ।

‘हाईड्रोपावर, सिमेन्ट फ्याक्ट्रीमा र एनजीओहरुमा हाईस्किल कामदार विदेशबाट आउँछन्,’ उनी भन्छन् ।

विशेषगरी चीनका निर्माण कम्पनीहरुले उच्च दक्षता आवश्यक हुने पदमा आफ्नै देशबाट कामदार ल्याएर लगाउन सुरु गरेका हुन् । हुन त नेपालमा भारतीय कामदारहरुको दबदबा छ । विशेषगरी सिपयुक्त, अप्ठेरा, जोखिमयुक्त र नेपालमा हेयका दृष्टिले हेरिने कामहरुमा संलग्न भारतीय कामदार लाखौंको संख्यामा छन् ।

तर, नेपालमा भारतबाहेकका देशबाट पनि थुप्रै कामदारहरु आएर काम गर्छन् । उनीहरुले सरकारबाट श्रम स्वीकृति अनिवार्य लिनुपर्छ । यस्तो श्रम स्वीकृति विभागबाटै जारी हुन्छ ।

नेपालमा गत एक वर्षबीचमा २ हजार ७ जना विदेशी कामदारले श्रम स्वीकृति लिएका छन् । यसमा भारतीय कामदारको संख्या ७२ मात्रै छ । सरकारले भारतीय कामदारलाई श्रम स्वीकृति लिन अनिवार्य गरेको छैन । तर, पनि कागजी प्रक्रिया पुरा गर्ने केही भारतीय कामदारले श्रम इजाजत लिने गरेका छन् ।

गत तीन वर्षमा ५ हजार बढी कामदार भारतबाहेकका मुलुकबाट आएर काम गरे । यो संख्यामा आधाभन्दा बढी हिस्सा चिनियाँ कामदारको छ ।

श्रम विभागको तथ्यांकअनुसार अहिले नेपालमा १ हजार भन्दा बढी चिनियाँ कामदार कार्यरत छन् । यसमा झण्डै १७० जना त दुईवर्षका बीचमा आएका नयाँ कामदार हुन् भने झण्डै ९ सय जना यसअघिदेखि नै यहाँ बसेर काम गर्दै श्रम इजाजत नवीकरण गरिरहेका छन् ।

अष्ट्रेलिया, फ्रान्स, जर्मनी, इटाली, जापान, कोरिया, फिलिपिन्स, अमेरिका लगायतका देशबाट कामदार भिसामा आउनेहरु धेरै छन् । युरोपियन कामदारहरु बढीजसो गैह्र सरकारी संघसंस्थामा छन् ।

एक वर्षका बीचमा २३१ जना बेलायतबाट कामका लागि नेपाल आएका छन् भने अमेरिकाबाट ७१ जनाले नेपालाई श्रम गन्तब्य बनाएर काम गरिरहेका छन् । कोरियाबाट ११५ जना कामदार नेपालमा छन् ।

विदेशबाट आउने महिला कामदारको संख्या भने न्यून छ । नेपालमा जम्माजम्मी ३५० जना विदेशी महिला काम गरिरहेका छन् । १ हजार ७ सय १७ जना पुरुष कामदार छन् ।

गत दुई वर्षका बीचमा मात्रै ३ हजार ९१५ जनाले नेपालमा श्रम स्वीकृति पाएका छन् । यसमा नवीकरण र नयाँ स्वीकृति दुबै गणना गरिएको छ । पछिल्लो समयमा नेपालमा कामका लागि आउने विदेशीको संख्या बढ्दो छ ।

संख्या ठूलो नभए पनि उच्च दक्ष जनशक्ति भएकाले उनीहरुले यहाँ काम गरेर लैजाने रेमिट्यान्सको हिस्सा संख्याको अनुपातमा ठूलो छ । नेपाली कामदारले मलेसिया र खाडीमा सस्तोमा श्रम बेचिरँदा नेपाल आउने दक्षतायुक्त जनशक्तिले राम्रो आर्जन गरिरहेका छन् ।

नेपालमा अफगानिस्तान, अर्जेन्टिना, अष्ट्रिया, अष्ट्रलिया, बंगलादेश, बेलारुस, बेल्जियम, भुटान, बोलिभिया, ब्रजिल, बुल्गेरिया, बुर्किनोफासो कम्बोडिया, क्यामरुन, क्यानाडाबाट समेत कामदार आएका छन् ।

चिली कोलम्बिया, कंगो, कोस्टारिका, चेक रिपब्लिक, डेनमार्क, इजिप्ट, फिनल्यान्ड, घाना, ग्रिस, गुईना, होन्डुरस, इन्डोनेसिया, इरान, आरल्यान्ड, इटाली, काजगिस्तान, केन्या लगायतका देशका कामदारले पनि नेपालाई श्रम गन्तब्य बनाएका छन् । उत्तर कोरिया, काजखस्तान, लाट्भिया, मलेसिया, माली, मेक्सिको, मोरक्को, म्यन्मार, नेदरल्यान्ड, न्युजिल्यान्ड, नाइजेरिया, नर्वे, पाकिस्तान, प्यालेस्टाइन, पोल्यान्ड, पोर्चुगल र रोमानियाका समीति कामदार नेपालमा कार्यरत छन् ।

रोमानिया, रसिया, साइबेरिया, सिंगापुर, स्लोभाकिया, दक्षिण अफ्रिका, स्पेन, श्रीलंका, स्विडेन, स्विट्जरल्यान्ड, ताजिकिस्तान, थाइल्यान्ड, ट्रिनिडाड एन्ड टोबागो, टर्की, युगान्डा , युक्रेन, उज्वेकिस्तान, भेनेजोयला, भियतनाम, यमन र जिम्बावेबाट पनि यहाँ कामदार आएका छन् ।

विदेशबाट आएका दक्ष र अनुभवी कामदारहरुले पटक–पटक श्रम इजाजत नवीकरण गर्नुले पनि उनीहरुका यहाँ खुसी रहेको देखाउँछ । नेपालमा भूकम्पपश्चात पुनर्निर्माणको काम अघि बढेपछि विदेशबाट आउने कामदारको संख्या पनि बढ्न पुगेको श्रम विभागको आँकलन छ ।

नेपाल आएर काम गर्न एक वर्षको श्रम इजाजत पाइन्छ । त्यसलाई नवीकरण गरेर पनि यहाँ काम गरिरहन पाइन्छ । तर, त्यसका लागि विभिन्न सरकारी प्रक्रिया पुरा गर्नुपर्छ ।

नेपालमा आएर काम गर्न तोकिएको शूल्क पनि तिर्नुपर्छ । प्रतिव्यक्ति २० हजार रुपैयाँ शुल्क तोएिको छ । यसअघि यस्तो शुल्क १० हजार मात्रै थियो, गत वर्षबाट यो शुल्क बढाइएको हो । ६ महिनाभन्दा कम समयका लागि श्रम स्वीकृति लिनेले भने १५ हजार रुपैयाँ तिर्नुपर्छ ।

पछिल्लो समयममा प्रदेश तथा स्थानीय स्तरमा पनि विभिन्न प्राविधिक काममा विदेशीको खोजी हुन थालेको छ । यसका कारण विभिन्न संस्थामर्फत सम्झौता गरेर नेपाल आउने विदेशी कामदार बढ्न थालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment