Comments Add Comment

अन्तर्वार्ताका तीन किस्सा

२०५८ चैत

काठमाडौंमा गर्मी बढिसकेको छ । सहरमा सबैका बाक्ला पहिरन दराज-दराजमा थन्किसकेका छन् । अझ युवतीका के कुरा, उनीहरूलाई आफ्ना अङ्ग देखाउने ठूलो अवसर मिलेको छ । यस्तै मौसममा ‘साप्ताहिक’ कार्यालयमा खुला दिल र खुला पहिरन लगाएर आफ्ना ग्लामर तस्वीर छपाउन आउने मोडलहरूको सङ्ख्या बाक्लै हुने गर्छ ।

म जुन समयको कुरा सम्झदैछु त्यो बेला हाम्रा सम्पादक सुवास ढकाल केही सुन्दरीलाई सोफामा राखेर उनीहरूको कुरा सुनिरहेका थिए । सायद कुनै सौन्दर्य प्रतियोगितामा आयोजकले ती सुन्दरीहरूलाई अन्याय गरेका थिए र उनीहरू ‘न्याय’ माग्न सम्पादक भा’ठौं आएका थिए । सुन्दरीहरूले उजुरी गर्ने काम भर्खरै सकेका थिए । सम्पादक उनीहरूलाई सम्झाउने मुडमा आए । म छेउमा उभिएर आधा मन युवतीहरूका अङ्गमा अड्काइरहेको थिएँ र आधा मन सम्पादकका गफमा अल्झाउन थालेको थिएँ ।

यसैबेलमा मौसमभन्दा ठीकविपरीत पहिरन लगाएर एक जना रोगी जस्तै देखिने पाका व्यक्ति सम्पादकको कार्यकक्षमा झुल्किए । जुत्तामा पोलिस नलगाएको धेरै भएको हुनुपर्छ । बाक्लो कोट र कोटभित्र भुवा उठेको सुइटरले भद्र व्यक्तिको सङ्केत दिँदैनथ्यो । कपाल जिङग्रिङ्ग थियो । यो कक्षमा प्रायः पाका मान्छे छिरेको देखिँदैन । छिरिहाले पनि उनीहरूको लवाइ-खवाइ फरक हुने गर्छ । उनी ठिक विपरीत थिए । सुन्दरीहरूको बीचमा यसरी कुनै व्यक्ति बिना अनुमति कोठाभित्र छिर्दा मलाई निको लागेन । मलाई निको नलागेर के भयो, उनलाई देख्नासाथ सम्पादक जुरुक्क उठे र नमस्कार गरे । एकाएक हामी सबैको आँखा उनीतिर पर्‍यो । केही सेकेन्डअघि यी व्यक्तितिर हाम्रा आँखा नपरेको होइन, तर सुरुमा त्यो अपहेलनाको थियो । सम्पादकले सम्मान गरेपछि हामी अलिकति सम्हालियौं । लाग्यो, ठूलै मान्छे कोठाभित्र छिरेछन् ।

‘ल, दुईटा ल्याइदिएको छु,’ नमस्कारको आदान-प्रदानपछि ती व्यक्तिले हस्तलिखित दुईवटा टुक्रे कविता सम्पादकका अघि बढाए ।

‘यतिले पुग्दैन दाइ । मलाई कम्तिमा ५-७ वटा चाहिन्छ,’ सम्पादकको गफ बीचमै रोकिएको थियो । उनी हतारिए जस्तै देखिए ।

‘एकैपल्ट छाप्ने हो र ?’ आगन्तुकलाई उभिन अप्ठेरो परिरहेको थियो । वरपर कुर्सी र कुर्सीमा भरिएका सुन्दरी हेर्दै भने, ‘आजलाई यति नै ल्याएको छु, चाहियो भने भोलि-पर्सिमा ल्याइदिन्छु ।’

‘रेगुलर छाप्नका लागि हो दाइ । तपाईको मुड कतिखेर के हुन्छ, स्टक त राख्नै पर्छ । अरू ८-१० वटा आएपछि छाप्न सुरु गर्छु ।’

सम्पादकले बिदा दिन खोजे । तर, उनले कतै खाली कुर्सी छ कि भनेर फेरि एकपटक कुर्सीतिर नजर लगाए । अथवा यसो हुनुपर्छ, कुर्सी हेर्ने निहुँमा सुन्दरीहरूको सौन्दर्यको रसस्वादन गरे ।

‘हुन्छ त दाइ, यहाँ सानो मिटिङ जस्तो हुँदैछ…। अरू चाँडै ल्याइदिनु होला । त्यसपछि कुनै पेजमा मिलाएर यी मुक्तक राखौंला ।’

‘त्यो त ठिक छ तर…।’ आगन्तुक कोठाबाट निस्कन गाह्रो मानिरहेका थिए ।

‘के भन्नुस् न दाइ !’

‘यी दुईको पैसा दिनुस् न त ।’

मलाई आश्चर्य लाग्यो । एक त साप्ताहिकमा यस्ता पाका व्यक्तिको कविता छापिँदैन । छापिए युवाका कलिला प्रेमका गन्थन छापिन्छ । युवालाई प्रोत्साहन गर्ने उद्देश्यले मात्र छापिने भएकाले त्यसको पैसा दिइँदैन । तेस्रो, पैसा दिनुपर्ने अवस्था आइहाल्यो भने पनि पत्रिकामा छापिएपछि सम्पादकले प्रशासनलाई टिपोट पठाउनु पर्छ । त्यसपछि मात्र कान्तिपुरको आर्थिक विभागबाट पारिश्रमिक वितरण हुने व्यवस्था छ ।

यो नियम विपरीत सम्पादकले गोजीबाट पर्स निकाले । दुईवटा पचासको नोट निकालेर दिँदै भने, ‘लौ लिनुहोस् दाइ । अरू मुक्तक चाँडै ल्याइदिनु होला ।’

पैसा लिएपछि सुस्तरी ती पाका व्यक्ति सबै सुन्दरीलाई प्रेमपूर्वक हेर्दैै बाहिर निस्किए । यसरी हेर्दा मलाई भने ध्यान दिएनन् ।

उनी ढोका बाहिर निस्कने बित्तिकै सुन्दरीहरू खितिति हाँसे । मैले साथ दिएँ । तर, सम्पादक गम्भीर नै थिए ।

‘को हो त्यो मान्छे थाहा छ ?’ हामी सबैको उपहास बुझिसकेपछि सम्पादकले रिसाएको मुडमा भने, ‘मनु ब्राजाकी ।’

सुन्दरीहरूको हाँसो बन्द भयो । उनीहरूले मनु ब्राजाकी भन्ने शब्दलाई उति महत्व दिएनन् । तर, मेरो मन रुँला-रुँला जस्तो भयो । अन्जानमै सुन्दरीहरूलाई साथ दिएकोमा मलाई पछुतो लागिहाल्यो । ती मलाई मनपर्ने आख्यानकार थिए । नामबाट मात्र परिचित उनलाई चिन्न नपाएकोमा मलाई ग्लानि हुनुको पछाडि धेरै अघि पढेको कथा सङ्ग्रह ‘तिम्री स्वास्नी र म’ मात्र थिएन । केही दिनअघि मात्र मधुपर्कमा छापिएको उनको एउटा कथा पढेको थिएँ । त्यो कथाको नाम सायद ‘हे भगवान् !’ हुनुपर्छ ।

अन्तर्वार्ता एक

‘हे भगवान् !’ कथामा अन्तर्वार्ता प्रधान भएर आएको छ । एउटा पात्रले अर्को पात्रको अन्तर्वार्ता लिनु र त्यसको जवाफ अनौठो भेटिनु यसको विशेषता हो । यही कारण पनि मलाई त्यो कथा याद भयो । म आफैं साप्ताहिकमा अन्तर्वार्ता लिन्थेँ । यही कारण मलाई त्यो कथाका धेरै कुरा याद थिए …

‘फेरि सरकार फेरियो नि, यसमा तपाईको भनाइ के छ ?’

‘हो त पाँच वर्षमा सात वटा सरकार परिवर्तन भए । प्रजातन्त्र भनेको यही नै हो ।’

‘प्रजातन्त्र कतिपल्ट आयो ?’

‘जतिवटा दातृ-देश छन्, त्यति पटक आए । एउटा दातृ-देशका लागि हामी एउटा प्रजातन्त्र ल्याउँछौं । हामी उदार छौं, त्यही भएर ।’

‘त्यसो भए हाम्रा दातृ-देश कति छन् त ?’

त्यो त थाहा छैन तर यति थाहा छ, प्रत्येक दातृ-देशका लागि हामी एक-एकवटा प्रजातन्त्र ल्याइदिन्छौं । उनीहरूको मर्यादा राख्न ।’

‘साँच्ची एउटा लोग्नेमान्छेले एउटा मात्र स्वास्नी राख्न पाउनु प्रजातन्त्रको खिलाप भएन ? अरू कुरामा स्वतन्त्रता भए पछि स्वास्नी ल्याउने कुरामा स्वतन्त्रता हुनुपरेन ?’

‘त्यो त हो, प्रजातन्त्रमा पारदर्शी त हुनैपर्छ । आखिर गोप्य रूपमा ती कुरा भएकै छन् क्यारे ।’

‘तपाईले कसरी यो अफिसमा पियन काम पाउँछु भन्ने आँट गर्नुभयो ?’

‘मेरो छोरो प्रजातन्त्रमा सहिद भयो ।’

‘बुढेसकालमा आफू घरमा बसेर छोरालाई मर्न किन पठाउनुभएको ?’

‘मैले त पढ्न पठाएको थिएँ, मर्न कहाँ पठाएको हुँ र ?’

‘तपाईको नाम ?’

‘नेपालबहादुर नेपाली ।’

‘सगरमाथा कुन जिल्लामा पर्छ ?’

‘अहिले राजस्थानको झझ्नु जिल्लामा । कहिलेकाहीं यो चीनको राजधानी बेइजिङ र कहिले यो भारतको राजधानी दिल्लीतिर पनि पर्छ ।’

हाम्रो देश कृषिप्रधान मुलुक हो । यस अर्थमा तपाई भन्नुस्, हाम्रो प्रमुख खेती के हो ?

‘राजनीति ।’

‘राष्ट्रिय फूल के हो नि ?’

‘गाँजा ।’

‘हाम्रो प्रमुख निर्यातक वस्तु के हो ?’

‘अरबमा कान्छा, इन्डियामा कान्छी ।’

‘एड्स भनेको के हो ?’

‘विदेशी सहायता ।’

एउटा सामान्य कथालाई असमान्यरूपमा अघि बढाएर देशका सारा विकृति भन्न सक्ने यो कथाले अन्तर्वार्तालाई साहारा बनाएको छ । यसले मलाई अनौठो प्रभाव पारेको थियो । कथा अघि बढ्दै जाँदा कथावाचक अन्तर्वार्ताकारको घरमा पुग्छ र उसकी श्रीमतीको अन्तरङ्ग अन्तर्वार्ता लिन थाल्छ । हाकिम सा’ब बाहिर जति ठूला कुरा गरे पनि घरभित्र उनको अवस्था कस्तो छ, त्यो कथाले राम्रैसँग प्रस्ट पारेको छ । त्यो बेला म ‘साताकी गृहिणी’ नामक अन्तर्वार्ता कोलम चलाइरहेको थिएँ । ‘ठूला’ भनिने मानिसका श्रीमतीहरूको अवस्था कस्तो छ भन्ने म राम्ररी महसुस गर्दैथिएँ । त्यही बेला यो कथा पढ्ने मौका पाएँ । यसले धेरै प्रभाव पारेको कारण यो पनि हुन सक्छ ।

यो कथा आलै पढ्नु र भर्खरै त्यसका स्रष्टामाथि अपमान हुनु मेरा लागि दुर्भाग्य जस्तै भैदियो । म मनु ब्राजाकी खोज्दै तल झरें । उनी कता छेलिए देख्न सकिनँ । सायद उनी कान्तिपुरको ‘कोसेली’ विभागतिर छिरेको हुनुपर्छ । उनको नियमित स्तम्भका रूपमा मुक्तक छाप्ने निर्णय भएको थियो । उनलाई चाँडै नै सहज रूपमा भेट्न सकिन्छ भन्ने लागेपछि मन अलिकति हलुका भयो ।

अन्तर्वार्ता दुई

तपाईले याद गर्नुभएकै होला, पत्रकारितामा दुई खाले अन्तर्वार्ता पढ्न पाइन्छ । पहिलो कुराकानी, जसमा कुनै ‘ठूला’ नेता वा व्यक्तिले पत्रकारलाई त्यही भन्छ, जुन ऊ बजारमा सुनाउन चाहन्छ । जुन कुराले उसलाई फाइदा पुर्‍याउँछ ।

दोस्रो अन्तर्वार्ता, जुन वास्तवमा अन्तरङ्ग कुराकानीमा आधारित हुन्छ । यसमा भोलि के हुन्छ भन्ने कुरा सोचिँदैन । मनका वह खोलेर कुराकानी गरिन्छ । बरु त्यो अन्तर्वार्ता नछापिन सक्छ तर दुई जनाबीच सबै बाँध भत्कने गरी कुराकानी हुन्छ । म मेरो स्तम्भमार्फत् ‘ठूला-बडा’ गृहिणीहरूका नितान्त गोप्य कुरा थाहा पाउँदै थिएँ । सायद यही कारण पत्रकारिताका अन्य ‘आकर्षक अफर’ छाडेर साप्ताहिकमा रमाइरहेको थिएँ ।

यस्तै अवस्थामा रोगी जस्तै शरीर लिएर मनु ब्राजाकी साप्ताहिकमा बेला-बेलामा झुल्कन थालेका थिए । अब म उनको परिचित भैसकेको थिएँ । म नमस्ते गर्थें, कुराकानी गर्थें । केही कुरा सोध्थें र उनीसँग रचना लिएर टाइप गर्थें र सम्पादकलाई दिन्थें । उनी सदाझैँ आफ्नो रचना दिएपछि त्यसको पारिश्रमिक माग्थे । यही कारण सम्पादक धेरैजसो छलिन्थे र साहित्यमा रुचि भएका नाताले उनको पारिश्रमिक दिने मौका मैले पाउँथें । हुन त मैले दुईपटक मात्र आफ्नो गोजीबाट पैसा दिनुपरेको छ । नत्र अघिल्ला पल्टहरूमा छापिएका मुक्तकको पारिश्रमिक आर्थिक विभागबाट लिने गरेको थिएँ । मनु दाइ आउने बित्तिकै हाम्रा सहकर्मी नवराज वाग्ले तुरुन्तै हिसाब निकाल्थे र मलाई आर्थिक विभाग पठाउँथे । त्यो बेला फलानो लेखक आउनु भएको छ भनेर माग्दा सजिलै लेखस्व पाइन्थ्यो ।

२०५९ चैत

हाम्रो कार्यालयमा आउँदै गर्दा मनु ब्राजाकीले मलाई अर्कै खालको भाव दिइरहेका थिए । उनी सकेसम्म कम बोल्थे । सम्पादकलाई मात्र खोज्थे । सम्पादक नभेटिएको अवस्थामा म उनको सहयोगी हुन्थें । आउँदा-जाँदा उनी मेरो अनुहारसम्म चिन्ने भए । मलाई लाग्छ, उनले मेरो नाम कहिल्यै थाहा पाएनन्, सोध्ने जाँगर पनि देखाएनन् । न त उनले आफू ठूलो लेखक भएको रौब देखाए, न त अरूलाई तँ सानो होस् भन्ने जताए । म कहिलेकाहीं चिया खाने अफर गर्थें । उनी भन्थे, ‘चिया होइन, सिया खानुपर्छ । अब पैसा हात पर्‍यो । के चिया खानु..? मौसमले पनि च्यालेन्ज गर्दैछ ।’ त्यसपछि उनी केटाकेटी जस्तै निश्चल हाँसो हाँस्थे । गर्मी महिना लाग्दा पनि मनुलाई मौसमले च्यालेन्ज किन गर्‍यो म बुझ्दिन थिएँ । जाडो याममा मात्र पियक्कडहरूलाई मौसमले च्यालेन्ज गरेको कुरा सुनेको थिएँ ।

अँ, उनले चिया होइन, सिया पिउने भन्दै गर्दा उनको मुखबाट ‘सिया’को गन्ध आइरहेको थाहा पाउँथे । आफू नपिउने भएकाले हुन सक्छ, मलाई एउटा प्रतिभाशाली लेखक बर्बाद भैरहेको लाग्थ्यो । उनी बिस्तारै हिँड्थे र बिस्तारै बोल्थे । पछि थाहा पाएँ, उनी रोगी भएर त्यसो गरेका होइनन्, त्यो उनको ‘सिया’कै प्रभाव थियो ।

करिब दुई वर्ष मनुका मुक्तक र गजल साप्ताहिकमा छापिए । यस क्रममा दसौं पटक हाम्रो भेट भयो होला तर कहिल्यै दुईतर्फी कुरा हुन पाएन । पहिलो पटक मनु ब्राजाकीको नाम सुन्दा मेरो मनमा जुन तरङ्ग उठेका थिए, भेट्दै गर्दा त्यो पनि कम हुँदै गयो । तैपनि मेरो कुरा कोट्याउने बानी, जति पटक भेट हुन्थ्यो, केही कुरा खोतल्न मन लाग्दथ्यो । सामान्यतया त्यो काम चिया खाँदै गर्नु ठिक हुन्थ्यो । तर, उनी चिया नखाने, म सिया नखाने । एक वर्ष त्यतिकै बित्यो ।

एक दिन गर्मीको मौसममा त्यो संयोग जुर्‍यो ।

कुरा के पर्‍यो भने उनी दुई बजेतिर आफ्ना रचना लिएर साप्ताहिक कार्यालयमा आएका थिए । उनको नियम अनुसार उनी पैसा नलिई नजाने, दुई बजे आर्थिक विभागका कर्मचारी खाजा खान जाने । अब म पनि सरक्कै गोजीबाट पैसा झिकेर दिने उनको सोझो पाठक थिइनँ । पैसा लिएर जान उनले करिब एक घन्टा जति कुर्नुपर्ने भयो । त्यही बेला मैले उनीसँग अन्तरङ्ग बात गर्ने मौका पाएँ । त्यो छाप्नका लागि गरिएको कुराकानी थिएन । त्यसैले रेकर्ड पनि भएन । तैपनि केही अनौठा कुरा भएकाले अलि तल-माथि भए पनि अहिलेसम्म ती कुरा सम्झनामै छन् ।

‘गर्मी सुरु भयो है !’ मैले कुराकानी सुरु गरें ।

उनले कोटको टाँक लगाउँदै भने, ‘के गर्मी भन्नु ? मलाई त अझै जाडो लागिरहेको छ । बुढेसकाल लागेर होला ।’

‘कति वर्ष हुन भयो र ?’

‘उमेर पनि के गन्नु र ? उमेर गन्दा झन् पिर लाग्छ । ५० कटेपछि मैले उमेर गन्न छाडिसकेको छु । त्यस्तै आठ-नौ वर्ष भयो होला । अब तपाई नै अन्दाज लगाइदिनोस् ।’

‘माओवादी युद्धसम्बन्धी केही लेख्नुभएको छैन ?’

‘आफ्नै चेलाहरूको विषयमा के लेख्नु र ?’

‘को तपाईका चेला ? बाबुराम ?’

‘बाबुराम त देखिने मान्छे मात्रै हो । प्रचण्ड भन्ने छ ।’

‘कसरी तपाईको चेला त ?’

‘हामी युवा छँदा यस्तै युद्ध गर्ने योजना बनाएका थियौं । त्यो हामीले त्यागिदियौं । रक्सी नखाएको भए सायद युद्ध पनि सुरु गर्दथ्यौं होला । भोलिपल्ट सुरु गर्ने कुरा थियो, आजै हामीले मजाले रक्सी पिइदियौं । रक्सी लागेपछि योजना बनेको थियो । रक्सीले छाडेपछि त्यो तुहियो ।’

‘त्यो योजनामा प्रचण्ड पनि थिए ? कहिलेको कुरा हो ?’

‘प्रचण्ड भन्ने मान्छे जन्मेकै थिएन ।’

(यो कुरा मलाई हावा जस्तै लाग्यो । रक्सीको सुरमा बोलेको ठम्याएपछि मैले कुरा अर्कोतिर मोडें । पछि जब जगदिश घिमिरेको ‘अन्तरमनको यात्रा’ पुस्तक पढें, बल्ल मलाई पछुतो लाग्यो । )

‘तपाईको तिम्री स्वास्नी र म कथा सङ्ग्रहले मलाई धेरै प्रभावित बनाएको थियो । कसरी लेख्नु भयो त्यो कथा ?’

‘किन र ?’

‘बडो सेक्सिलो र चोटिलो छ, त्यही भएर ?’

‘तपाईले बिहे गर्नुभयो ?’

‘छैन, किन र ?’

‘बिहे नगर्नुस्, आजभोलि एउटाले गाई पाल्छ, अर्कैले दुध हुन्छ ।’

‘तै त त्यो कथामा पनि त्यस्तै कुरा छ, त्यही भएर सोधेको ।’

‘तपाईले बिहे गर्नुभएको छैन, त्यही भएर त्यस्ता कुरामा चाख लाग्छ । त्यो मेरो कथाको मर्म एकातिर थियो, मान्छेले अर्कै बुझिदिए ।’

‘कस्तो मर्म ?’

‘स्वास्नी राम्रा अर्काकाफ छोराछोरी राम्रा आफ्ना । तर, मान्छेको अचेतनले अर्कैका स्वास्नी भोग्न चाहन्छ, अर्कैको लोग्ने राम्रो लाग्छ । युवती ताके अनेक झन्झट आइलाग्ने, अर्काका स्वास्नी ताके झन्झट पनि नहुने अनुभवी पनि…। यो मान्छेको अचेतन हो । आजभोलि त्यो प्रकट भएको छ । जति प्रकट हुँदैछ, त्यो कथा त्यति हिट हुँदैछ । त्यही सङ्ग्रहभित्र अरू कति राम्रा कथा छन्, त्यसको चर्चै सुन्दिना । त्यो मात्र किन नि ? तिम्री स्वास्नी र म कथाभन्दा अघिका सङ्ग्रह पनि उस्तै छन् । यौन भन्ने कुरा कहिल्यै पुरानो हुँदैन ।’

‘मैले एक वर्ष अघितिर हुनुपर्छ, मधुपर्कमा आफ्नै साथीकी श्रीमतीसँग लेखकले अन्तरङ्ग कुराकानी गरेको कथा पढेको थिएँ । त्यसको उद्देश्य पनि तिम्री स्वास्नी र म जस्तै थियो । तपाईले यस्तै खालको कथा लेख्नुको कुनै कारण छ कि ?’

‘धेरैजसो राजनीतिक व्यङ्ग्य कथा लेखेको छु । तर, मानिसलाई यस्तै कथाले तान्दो रहेछ । लेखें होला तर मलाई सम्झना छैन । लेखेपछि किन हेक्का राख्ने ? जग्गा-जमिन जोडेको हो र हेक्का राख्नलाई ? उधारी दिएको हो र टिपोट गर्नलाई ?’

‘म तपाईको शुभचिन्तक अथवा एउटा पाठक भएका नाताले व्यक्तिगत कुरा पनि सोध्छु, यो रक्सी नखानु भए अझै राम्रो लेख्नुहुन्थ्यो कि ! तपाईबाट अझै राम्रा कुरा आउँथे कि !’

अश्विनी कोइराला

‘म पनि तपाईलाई व्यक्तिगत रूपमै भन्छु, रक्सी नखाउन्जेल रक्सी कसरी खाने भन्ने धाउन्न हुन्छ नि । त्यो बेला रक्सी खान जाने कि लेख्ने ? रक्सी खाएपछि पो अरू काम हुँदैन र लेख्न बसिन्छ । तपाई झुत्रे (किशोर नेपाल)लाई हेर्नुहोस्, उसले पनि रक्सी नखाइ समाचार लेख्दैन । अरू… -केहीबेर रक्सी खाएर लेख्न मनपराउने अरू व्यक्तिको नाम सम्झने प्रयास गरे तर सकेनन् ।) अरू त्यो के…, अँ, लक्ष्मीप्रसादकै कुरा गर्नुस्, उनी पनि चुरोट नखाइ लेख्न सक्तैनन् । यस्ता धेरै उदाहरण छन् ।’

‘म ‘साताकी गृहिणी’ नामक अन्तर्वार्ता लेख्छु, यही साप्ताहिकमा छापिन्छ, पढ्नु भएको छ ?’

‘म आफ्नै रचना पनि हेर्दिना । अरूबाट छापिएको थाहा पाउँछु । तपाईको पनि छापिन्छ होला, तर पढेको छैन । किन होला ?’

‘त्यसमा म भाउजुको अन्तर्वार्ता राख्न चाहन्छु । तपाईको बारेमा सबै कुरा सोध्न चाहन्छु, हुन्छ ?’

‘भैहाल्छ नि । मलाई किन सोध्नुपर्‍यो र ? उनैलाई सोधे भैहाल्यो नि ।’

‘उहाँले तपाईको बारेमा नराम्रो भन्नुभयो भने त्यो पनि छापिन्छ, माइन्ड त गर्नुहुन्न नि ?’

‘अब बोल्नेले माइन्ड नगरेपछि मैले किन माइन्ड गर्नु र ?’

त्यसपछि उनी बालक जस्तै मजाले हाँसे ।

यो कुराकानीपछि पनि हाम्रो औपचारिक परिचय हुन सकेन । म सकेसम्म मेरो नाम उनलाई थाहा होस् भन्ने चाहन्थें । तर, उनले मेरो नाम लिएर कहिल्यै बोलाएनन् । सायद त्यसको आवश्यकता पनि ठानेेनन् । म भने मेरो प्रिय लेखकले आफ्नो पाठकको पनि नाम थाहा पाउनुपर्छ भन्ने किसिमले मनमा अड्डी लिइरहें । जसमा म आजसम्म असफल छु ।

२०६० चैत

मनुसँग उनकी श्रीमतीको अन्तर्वार्ता लिने अनुमति मागिसकेको थिएँ र स्वीकृति पनि प्राप्त भैसकेको थियो । उनले घरको नम्बर पनि दिएका थिए । पछिल्लो भेटमा उनले श्रीमतीलाई राजी गराइसकेको कुरा पनि बताए । तर, सम्पादकको विचार अलि फरक थियो । उनी भन्दै थिए, ‘अहिले मनु दाइको नियमित रचना छापिरहेको छ । कोही नपाए जस्तो किन गर्नु ? अलि पछि छापौंला ।’

ढिला छापिने भएपछि अगाडि नै अन्तर्वार्ता गर्नुको अर्थ थिएन । मलाई भने एउटा चर्चित पियक्कडकी श्रीमतीको जीवन कसरी चलिरहेको छ, उनी आफ्ना सर्जक श्रीमानका बारेमा के भन्छिन् जान्ने हुटहुटी लागिरहेको थियो । केही पछि खै के भो कुन्नि, विस्तारै मनु दाइ अफिसमा आउन छाडे । रचना पनि छापिन छाड्यो । एक-दुई हप्ता कुुरियो तर, न मनु देखा परे न त उनको रचना हामीसम्म आइपुग्यो । पाठकबीच उनको रचना निकै लोकप्रिय भएको थियो । सम्पादकले विकल्प खोजे । त्यसपछि अशेष मल्ल मुक्तक लिएर साप्ताहिकमा हाजिर हुन थाले । मनु बिस्तारै ओझेल हुन थाले । ठिक यही बेला म मनुकी श्रीमती खोज्दै उनको डेरामा पुगेँ ।

साह्रै पातली ज्यानकी गाउँले भेषमा मैले मनुकी श्रीमती ज्ञानु भण्डारीलाई खाना पकाउँदै गरेको अवस्थामा भेटें । शनिबारको दिन उनी फुर्सदमा खाना पकाउँदी रहिछन् । अरूदिन काममा जान हतार भएकाले उनले कुराकानीका लागि शनिबार समय दिएकी थिइन् । म फोटोपत्रकार समेतलाई लिएर उनको साँघुरो डेरामा पुगेको थिएँ ।

(त्यो ठाउँ ठ्याक्कै कहाँ थियो बताउन सक्तिनँ । धोवीघाट चोकबाट यसो भित्र छिरेजस्तो लाग्छ । तर, त्यो सम्झना किन यति धूमिल भयो, म आफैंलाई अचम्म लागेको छ ।)

अन्तर्वार्ता भने रेकर्ड गरेको थिएँ । यो अन्तर्वार्ता २०६० साल चैतको पहिलो साता साप्ताहिकमा छापिएको थियो । पछि यो ‘उनी’ पुस्तकमा पनि सङ्कलन भयो । पत्रिकामा छापिँदा यसले उतिसारो चर्चा पाए जस्तो लाग्दैन । जसै यो ‘उनी’मा छापियो, यसले असामान्य चर्चा पायो । नेपाल टेलिभिजनबाट प्रसारण हुने एउटा महिलासम्बन्धी कार्यक्रममा यो अन्तर्वार्ताले स्थान पाएपछि सायद यसले थप चर्चा पाएको हुनुपर्छ ।

मैले कुराकानी सुरु गर्नुअघि नै उनले आफूले धेरै लेखपढ नगरेको बताइन् । सिन्धुलीमाढीमा आठ कक्षा पढ्दै गर्दा औरही निवासी चेतमानसिंह भण्डारीसँग उनको विवाह भएको रहेछ । यिनै व्यक्ति पछि मनु ब्राजाकी भएर निस्किएका रहेछन् ।

‘एउटी साक्षर महिला गाउँ छाडेर काठमाडौं किन आउनुपर्‍यो ?’

मेरा ब्राजाकी साह्रै राम्रो लेख्नुहुन्छ । उहाँलाई लेख्ने वातावरण चाहिन्छ, लेख्दा माया चाहिन्छ । त्यो कुरा गाउँमा दिन सकिँदैन । महिला भएर जान्ने हुनुहुँदैन । त्यही भएर सहर आएकी ।’

‘काठमाडौंमा जीवन कसरी चलेको छ ?’

ब्राजाकी कतै जागीर खानुहुन्न । जागीर नभएपछि पैसा आउने कुरा भएन । हाम्रो आफ्नो व्यापार-व्यवसाय पनि छैन । मैले नै परिवार धानेकी छु । काठमाडौंको जीवन दुःखले चल्दैछ ।

‘पत्रपत्रिकामा उहाँका लेख छापिरहेकै हुन्छन्, पारिश्रमिक पाउनुहुन्न ?’

त्यो त उहाँलाई सोमरस खान चाहिन्छ । सोमरसकै लागि भनेर मैले पैसा दिइरहनु पर्दैन ।

‘सधैंभरि लेखको पैसा नआउला पनि । त्यो बेला तपाई पैसा दिनुहुुन्न ?’

लोग्नेमान्छे, लेखक… बेखर्ची त बनाइदिनु भएन । म पकेटखर्च भनेर दिन्छु । तर, मैले दिएको पकेटखर्चले पनि पिइदिनुहुन्छ ।

‘मनु ब्राजाकी पियक्कड लेखक हो भनेर बजारमा नराम्रो हल्ला छ, यसलाई सुधार्ने प्रयास गर्नुभएन, किन ?’

प्रयास नगरेको कहाँ हो र ? नपिइकन मलाई लेख्ने विषय नै आउँदैन भन्नुहुन्छ । कति भन्ने, कति सम्झाउने ? धेरै वर्ष भयो सम्झाउन छाडिदिएको । व्यक्तिगत बानी जे-जस्तो भए पनि उहाँ असाध्यै राम्रो लेख्नुहुन्छ । त्यही लेखाइले उहाँलाई अमर बनाउला कि भनेर चुप लागेकी हुँ । अब त पिउनु भएन भने अचम्म लाग्छ । (हाँसो)

‘त्यसो भए झगडा हुन छाडेको छ भन्ने बुझ्नुपर्‍यो, हो ?’

त्यति हुँदैन । भयो भने चाहिँ ठूलै हुन्छ । मन मिलेपछि उहाँ केटाकेटी जस्तै मिलनसार भैदिनुहुन्छ । झगडा भएपछि म घर फर्कन्न भनेर हिँड्नुहुन्छ । दुई-चार दिन कता जानुहुन्छ, फेरि फर्केर भिजेको मुसो जस्तै आइहाल्नु हुन्छ । घर आएको दुई-चार दिन उहाँको व्यवहार बडो अनौठो हुन्छ । त्यो देखेपछि बुढा-बुढीको झगडा परालको आगो भनेर बोल्न थाल्छु ।

‘दुई छोरा-एक छोरी हुन् क्यारे । उनीहरूको पढाइ खर्च कसरी धान्नुहुन्छ ?’

छोरीको विवाह भैसक्यो । छोराहरूले कमाउन सुरु गरिसके । अहिले पैसाको उति दुःख छैन । पहिले असाध्यै गाह्रो थियो । त्यो बेला काठमाडौंको ठाउँ, म अन्जान मान्छे । साह्रै अप्ठेरो भएको थियो । जीवनमा सुख आउला भनेर कल्पना पनि गरेको थिइनँ । सहँदै जाँदा यस्ता राम्रा दिन पनि आउने रहेछन्…।

‘तपाई उति नपढेको मान्छे… खर्च कसरी टार्नुहुन्थ्यो ?’

पहिले अरू पनि काम गरें । केही समयपछि ‘डे केयर सेन्टर’ खोलें । डे सेन्टरमा केटाकेटी हेरेर घर चलाएकी हुँ । जागीरे महिलाहरूका केटाकेटीलाई सहरमा हेरचाह गर्ने विश्वासिला मान्छे छैनन् । म विश्वासिलो भएँ । त्यसले नगद टार्न मद्दत गर्‍यो । उसो त गाउँमा प्रशस्त जग्गा-जमिन थियो । नगदको कमी भए पनि अन्नको कमी थिएन । घरबाट वर्षभरिलाई पुग्ने चामल, दाल, मस्यौरा, गुन्द्रुक जस्ता कुरा ल्याउँथें । बेला-बेलामा ताजा तरकारीहरू पनि आइपुग्थ्यो ।

‘अरूका श्रीमान् कमाएर ल्याउँछन् । श्रीमतीहरू घर बसी-बसी श्रीमानलाई दङ्ग्याएको पनि देखिन्छ । अरूका यस्ता कुरा देख्दा दुःख लाग्दैन ?’

म १९ वर्षकी हुँदा विवाह गरेर उहाँको घरमा भित्रिएकी हुँ । आज ३६ वर्ष (२०६० साल) भैसक्यो । यतिका वर्षसम्म उहाँले कमाएर ल्याएको देखेकी छैन । जुन कुराको बानी बस्यो, मान्छेले त्यसैलाई जीवन सम्झन्छ । यसरी नै घरबार चल्दो रै’छ । अरूका श्रीमतीले सुख पाए भनेर सोच्न थाल्यो भने मन झनै दुःखी हुन्छ । मनलाई सम्झाउनु पर्छ ।

‘कहिलेकाहीं तपाई कमाउन जानु भनेर कर गर्नुहुन्न ?’

नकमाउँदा पैसा कन्ट्रोल गर्दा त पिइदिनु हुन्छ भने आफैं कमाउने हो भने कति पिउने होला ? कमाएको पैसा घर लिएर आए पो कमाउन जानू भन्नु । प्रजातन्त्र आएपछि उहाँलाई प्रज्ञा प्रतिष्ठानले जागीर खान बोलाएको थियो । उहाँले मेरो स्वतन्त्रतामा यो जागीरले हस्तक्षेप गर्छ भनेर जानुभएन । उहाँ कि त रक्सी खान जन्मनु भएको हो कि त लेख्न । अरू कुरा उहाँबाट आशा नराखेकै बेस ।

‘कहिलेकाहीं यो अवस्थाबाट विद्रोह गर्न मन लाग्दैन ?’

विद्रोह त होइन, लोग्नेमान्छे कति मस्त छन्, केही पनि चिन्ता छैन । जिन्दगी पाएपछि यस्तो जिन्दगी बाँच्नु पो राम्रो जस्तो लाग्छ ।

‘ईश्वर छन् भन्ने विश्वास लाग्छ ?’

लाग्छ ।

‘त्यसो भए अर्को जन्ममा लोग्नेमान्छे भएर जन्मन मन लागेको छ ?’

ईश्वरले चाहेछन् भने लोग्नेमान्छे भएर जन्मने । स्वास्नी मानिसलाई साच्चै नै ठूलो बोझ छ । लोग्नेमान्छेले जिन्दगी बाँचिरहेको छ, हामीले जसो-तसो घिसारिरहेका छौं ।

‘अब त छोराहरू ठूला भैसके, चिन्ता मुक्त हुनुभयो होला नि !’

हाम्रो जिन्दगी सधैँ यस्तै हो । ठूलो छोराले विवाह गर्‍यो, श्रीमती लिएर हिँड्यो । सानो पनि विवाह गर्दैछ, उसले त्यसै गर्ला । छोरी अर्कैको घर गैसकी । खै, मेरो जीवन सिन्दुर लगाए यता उस्ताको उस्तै छ ।

‘महिलाले दुःख पाउनुको कारण महिला भएकै कारण हो कि अरू पनि कारण छन् ?’

सबै महिलाले दुःख पाएका छैनन् । कुरा के भने, महिलालाई छोरी हुँदा एउटा चिन्ता हुन्छ । श्रीमती हुँदा अर्कै खालको चिन्ता हुन्छ । बुहारी हुँदा अर्को पिर । अब सासु भएपछि अर्को अप्ठ्यारो हुँदो रहेछ । महिलाले नेपाली समाजमा महिला मात्रै भएर बस्नै नपाइने । लोग्नेमानिस कमाएर ल्यायो, सकियो । महिलाले जस्तो १० वटा भूमिका निर्वाह गर्नै पर्दैन ।

कुरा गरेर फर्कँदा म मनु ब्राजाकीको होइन, उनकी श्रीमती ज्ञानु भण्डारीको फ्यान भैसकेको थिएँ । आजभोलि मसँग ब्रजाकीको पछिल्लो पुस्तक ‘अन्नपूर्णकाे भोज’ छ । त्यसमा लेखककी श्रीमती अन्नपूर्ण लोग्ने र लोग्नेका साथीहरूलाई टन्न मासु र रक्सी खुवाउँछिन् । आफू भने फुको चिउरा खाएर सुत्छिन् । यो कथा मलाई कथा मात्र लाग्दैन, ब्राजाकीको घरको यथार्थ लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment