संविधान संसोधन गर्नुपर्ने माओवादी प्रस्ताव
१८ असार, काठमाडौं । एकीकृत नेकपा माओवादीले राष्ट्रपति र प्रधानमन्त्रीको अधिकार स्पष्ट पार्न संविधान संसोधनको प्रस्ताव अघि सारेको छ । नागरिक सर्वोच्चता स्थापित गर्दै नयाँ सरकारमा जाने तयारीमा रहेको माओवादीले बिहीबार भने संविधान संसोधनको प्रस्ताव अघि सारेको हो ।
लगातार सदन अवरोध गर्दै आन्दोलन गर्दै आएको माओवादीले आफ्नै पहलमा बैठक बोलाएर संविधान संसोधन गर्नुपर्ने प्रस्ताव गरेको नेपाली कांग्रेसका संसदीय दलका नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।
माओवादीले संविधान संसोधन गर्न अरु दल सहमत भए तत्काल संसद चल्न दिने तर राष्ट्रपतिलाई सरकारको नीति तथा कार्यक्रम ल्याउन नदिने प्रस्ताव गरेको छ ।
अवरुद्ध संसद नचल्दा बजेट ल्याउन गाह्रो भएको एमाले र कांग्रेसको मागप्रति माओवादीले पेस्की बजेट ल्याउन सुझाव दिएको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा माओवादीका तर्फबाट अध्यक्ष प्रचण्ड, नेता बाबुराम भट्टराई, नेपाली काङ्ग्रेसका संसदीय दलका नेता रामचन्द्र पौडेल, विमेन्द्र निधिलागयतका नेताहरू सहभागी हुनुहुन्थ्यो ।
यस अघि माओवादी र नेकपा एमालेसँग पनि छलफल गरेको थियो । अवरूद्ध संसद सूचारू गराउने विषयमा दलका शीर्ष नेताहरूबीच गम्भीर छलफल भए पनि बैठक निष्कर्षमा पुग्न सकेन ।
एमालेसँगको बैठकपछि पत्रकारहरूसँग कुरागर्दै सूचना तथा सञ्चारमन्त्री एवम् एमाले नेता शङ्कर पोेखरेलले छलफल सकारात्मक रहेको र शुक्रबार फेरि छलफल गरी यस विषयलाई टुङ्गोमा पुर्याइने बताउनुभयो । एमालेका तर्फबाट अध्यक्ष झलनाथ खनाल, महासचिव ईश्वर पोखरेललगायतका नेताहरूले छलफलमा सहभागी हुनुहुन्थ्यो ।
यसैबीच, दलहरुबीच सहमति नभएपछि ब्यवस्थापिका संसदको बिहीबारको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।



