नेपाल विकास बैङ्क खारेजीका निम्ति रिट दर्ता

२० असार, काठमाण्डौ । नेपाल विकास बैङ्कको दामासाही र खारेजी प्रक्रिया आरम्भ गरी पाउन माग गर्दै नेपाल राष्ट्र बैङ्कले पाटन पुनरावेदन अदालतमा शुक्रबार रिट निवेदन दर्ता गराएको छ ।

नेपाल राष्ट्र बैङ्कका गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले दर्ता गराउनुभएको निवेदनमा त्यस बैङ्कको नेपाल सहकारीमा रहेको निक्षेप नौ करोड १९ लाख र सेयर एक करोड रुपियाँलाई निरन्तर रुपमा रोक्का राखी पाउन समेत माग गरिएको छ ।

बैङ्क वित्तीय अवस्था बिग्रेर टाट पल्टेको ठहर गर्दै राष्ट्र बैङ्कले विकास बैङ्कको खारेजी प्रक्रिया सुरु गरेको हो । विकास बैङ्कको यस्तो अवस्था सिर्जना भएपछि निक्षेपकर्ता माझ आˆनो रकम डुब्ने आशङ्का उत्पन्न भएको छ ।

विकास बैङ्कमा रहेका साना निक्षेपकर्ताको रकम वितरणका लागि विशेष आदेश जारी गर्न माग गर्दै निवेदनमा सार्वजनिक हितसँग सम्बन्धित र नेपालको समग्र वित्तीय प्रणालीलाई असर पार्ने विवाद भएकाले जतिसक्दो छिटो कारवाही गरी पाउन अदालतसमक्ष अनुरोध गरिएको छ ।

यसैगरी लिक्वेडेटर नियुक्त गरी दामासाही प्रक्रिया आरम्भ गरी नेपाल विकास बैङ्कको सेयर जग्गा जमीनलगायत सम्पूर्ण जायजेथा जहाँ जहाँ देखिन्छ, ती सबै रोक्का राख्नका लागि सम्बन्धित कार्यालयको नाममा आदेश जारी गर्न गभर्नर क्षेत्रीले माग गर्नुभएको छ ।

शुक्रबार उक्त रिट निवेदन दर्ता भएको बताउँदै पाटन पुनरावेदन अदालतका रजिस्ट्रार डिल्लीराज आचार्यले आउँदो आइतबार त्यस निवेदनको पेसी तोकिएको जानकारी दिनुभयो ।

Share This Post

तपाईको मत

Copyright © 2010 Onlinekhabar.com. All rights reserved.