अबरुद्ध सदन खुलाउन माओवादीलाई नर्वेको आग्रह
२० असार, काठमाडौं । संविधान निर्माण र नेपालको शान्ति प्रकृयामा सकारात्मक भूमीका खेल्न नर्वेले माओवादीलाई आग्रह गरेको छ । आज बिहान नयाँ बजारस्थित प्रचण्ड निवासमा एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई भेट गर्दै नेपालका लागि नर्वेका राजदूत थोर गिस्लेसनले अबरुद्ध सदन खुलाएर सरकारका कामकारबाहीलाई सहज बनाउन सहयोग गर्नुभएको हो ।
सरकारका मुख्य कार्यभार संविधान निर्माण र शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउन माओवादीको सरकारमा सहभागीता अनिवार्य रहेको राजदूत गिस्लेसनले बताउनुभएको प्रचण्ड निकट स्रोतले जनाएको छ ।
जवाफमा प्रचण्डले राष्ट्रपतिको कदम नसच्चिएसम्म सरकारमा सहभागी नहुने स्पष्ट पार्नुभयो । संविधान निर्माण र शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउन माओवादी प्रतिबद्ध रहेको जानकारी गराउँदै प्रचण्डले त्यसका लागि सरकारमा सहभागीताको वातावरण बनाउन सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।
सेनापति प्करणमा राष्ट्रपतिले चालको कदम फिर्ता हुनुपर्ने र सदनमा संकल्प प्रस्तावमाथि छलफल हुनुपर्ने माओवादीको पूर्व शर्तबारे प्रचण्डले राजदूत गिस्लेसनलाई जानकारी गराउनुभएको थियो । सरकारका कामकारबाही प्रभावित हुन नदिनका लागि नै आफूहरुले एकतर्फी सदन खुलाएको उहाँले जानकारी गराउनुभएको थियो ।
राष्ट्रपतिले चालेको कदमपछि लगातार सदन अबरुद्ध गर्दै आएको माओवादीलाई सदन सुचारु गराउन कुटनीतिक दवाव बढ्दै आएको छ ।


