नेपालमा स्वाइनफ्लुको रोगी बढेका छैनन्: स्वास्थ्य विभाग
२० असार, काठमाडौं । स्वास्थ्य विभागले नेपालमा स्वाइनफ्लुको रोगीको संख्या बृद्धि नभएको बताएको छ । गत विहीबार कतारबाट नेपाल फर्किएका एक युवकमा स्वाइन फ्लुको लक्षण देखिएको र उनी सम्पर्क बाहिर रहेको भन्ने भनाइ बाहिर आएपनि उनी संक्रमित भए/नभएको पुष्टि नभएकोले भ्रममा नपर्न विभागले सबैलाई आग्रह गरेको छ ।
अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिने यात्रुहरुको चेकजाँचमा कडाइ गरिएकोले खतराको स्थिति नभएको इपिडिमियोलोजि तथा सरुवा रोग नियन्त्रण माहाशाखाका निर्देशक डा. सेनेन्द्रराज उप्रेतिले जानकारी दिनुभयो । उप्रेतिका अनुसार नेपालमा ३४ हजार रोगीलाई पुग्ने औषधी तयारी अबस्थामा राखिएको छ ।
नेपाल सरकारले रोग भित्रिन नदिन भारत र चीनसँग जोडिएका सीमा नाकामा चेकजाँच कडा पारेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले महामारीको घोषणा गरेको यो रोगबाट ६० हजार मानिस प्रभावित भएका छन् भने २ सय ६३ जनाको मृत्यु भइसकेको छ । स्वाइनफ्लु पहिलोपट मेक्सीकोमा देखिएको हो ।



